काठमाडौं, ११ फागुन । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान गर्नुभएको छ । जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल बिहीबार भारत प्रस्थान गर्नुभएको हो ।
अर्थमन्त्री पौडेल दिउँसो सवा २ बजे नेपाल एयरलायन्सको जहाजमार्फत भारत जानुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।
अहिले भारतमा जी २० को सम्मेलन चलिरहेको छ र अर्थमन्त्रीहरूको सम्मेलन फागुन १२ र १३ गते भारतको बेङलुरुमा हुँदैछ । सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत, चीनलगायत विभिन्न देशका समकक्षीहरूसँग छलफल गर्ने कार्यक्रम छ ।
अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्किने कार्यक्रम छ । नेपाल जी-२० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।
जी २० मा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेशिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिका समाविष्ट छन् ।


















