Prakash Adhikari March 5, 2023

धनगढी(कैलाली), २१ फागुन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रले संसदीय दललाई निर्देशन दिएको छ ।

सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताउनुभएको छ ।
‘अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता हो, यो गठबन्धन टुट्नु हुँदैन, त्यसैले विश्वासको मत दिनू भनेर केन्द्रबाट निर्देशन आएको छ,’ भट्टले भन्नुभएको छ ।

शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो ।

त्यसको जानकारी मुख्यमन्त्री शाहलाई माओवादी संसदीय दलका नेता खगराज भट्टले शनिबारै अध्यक्ष प्रचण्डलाई गराउनुभएको थियो । नेकपा माओवादीको प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालयको भागबन्डा प्याकेजमा हुनुपर्ने माग राखेको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने शाहलाई विश्वासको मत दिन प्रदेश संसदीय दललाई निर्देशन दिनुभएको छ । अब त्यसको औपचारिक निर्णय सुदूरपश्चिम संसदीय दलको बैठकले गर्ने छ ।
संसदीय दलका नेता खगराज भट्टले भागबण्डा पनि केन्द्रबाटै टुंगिएको बताउँदै अब संसदीय दलको बैठकले निर्णय गरेपछि आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने सहमति शीर्ष तहमा जुटिसकेको जानकारी दिनुभएको छ ।

सुदूरपश्चिममा मुख्यमन्त्री शाहको विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत जुटाउन नसकेपछि पदमुक्त हुनुभएको थियो।

सुदूरपश्चिम प्रदेश सभाको ठूलो दलको हैसियतमा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाह २६ माघमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । ्

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ साँसदको आवश्यकता पर्दछ।

कांग्रेसका १९, माओवादीका ११ (सभामुख), नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन्। प्रदेश सभामा नेकपा एमालेका १० (उपसभामुख), राप्रपा र स्वतन्त्र १ ।१ सांसद छन्।

सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना दलका नेता रेशम चौधरीको रिहाईको बारेमा लिखित संझौता नभएसम्म विश्वासको मत नदिने बताएको छ ।

तर नेपाली कांग्रेसका मुख्यमन्त्री शाहका लागि माओवादीको मत नै काफी देखिएको छ । त्यसमा जसपा र स्वतन्त्र सांसदको मत थपिने निश्चित जस्तै छ ।

नेकपा एमालेले भने शाहलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

Share Now

Leave a comment.