कीर्तिपुर(काठमाडौं), २९ फागुन । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तरगत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भैरहेको नेपाल र पपुवा न्युगिनीबीचको खेलमा पूर्वकप्तान सन्दीपले थप दुई र ललित राजवंशीले अर्को एक विकेट लिएका छन् ।
२४ ओभरको अन्त्यमा पीएनजीले ६ विकेटको क्षतिमा ७९ रन जोडेको छ ।
आजको खेलमा नेपालका लागि सन्दीप लामिछानेले ३ र ललित राजवंशी २ विकेट लिइसकेका छन् । भने एक विकेट सोमपाल कामीले लिएका छन् ।
ललितले पछिल्लोपटक रिले हाकुरेको विकेट लिए भने सन्दीप लामिछानेले २३.१ मा चाल्स अमिनी र १९.१ ओभरमा असल भालाको विकेट लिए ।
नेपालका बलर ललित राजवंशीले पीएनजीका ओपनर किप्लिड. डोगोरालाई चौथो ओभरको चौथो बलमा २ रनमा आउट गरे भने अर्का बलर सोमपाल कामीले अर्का ओपनर हिरिहिरिलाई सातौं ओभरको पाँचौ बलमा १४ रन बनाएको अवस्थामा आउट गरे । १४ औं ओभरको अन्त्यमा नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले पीएनजीका बलर सेसे बौलाई २८ बलमा १८ रन जोडेको अवस्थामा आउट गरे ।
नेपाल लगातार जितको लय कायम राख्ने लक्ष्यमा छ । लिगको चौथो स्थानमा रहँदै एकदीवसीय मान्यता जोगाएको नेपाल बाँकी दुई खेल जित्दै शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ ।
यता छनोटबाट बाहिरि सकेको पीएनजी पनि नेपालसँग सुखद नतिजा निकाल्न चाहन्छ । पीएनजीविरुद्ध नेपालले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ ।
आइतबार संयुक्त अरब इमिरेट्स (युएई) सँगको खेलमा रहेका गुलशन झाको स्थानमा आज करण केसीलाई समावेश गरिएको छ । लिग २ अन्तर्गत सिरिजकै अन्तिम खेल नेपालले चैत २ गते युएईविरुद्ध खेल्नेछ ।


















