Prakash Adhikari April 12, 2023

काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यता खारेज गरेको छ।

पार्टीको साधारण सदस्यबाट निष्कासित हुनुभएका श्रेष्ठलाई सांसदबाट हटाउन संसद सचिवालयमा जानकारी दिने निर्णय पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ ।

रास्वपाले ढाकाको स्थानमा समानुपातिक सूचीबाट मकवानपुरकी विन्ध्यवासिनी कंशाकारलाई निर्वाचित गराउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि गरेको छ।

रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका सांसद ढाकाले दुर्गा प्रसाइँसँग रकमका लागि मोलमोलाइ गरेको पुष्टी भएको बताउनुभयो।

झापाका व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको प्रकरणमा जोडिएका सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय लिन आज अपरान्ह राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक वसुन्धरास्थित केन्द्रीय कार्यालयमा बसेको थियो।

बैठकका लागि सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्रचार प्रसारलाई स्थगित गरेर स्थलमार्गदेखि काठमाडौं आइपुगेका थिए।

रकम मोलमोलाई प्रकरणमा श्रेष्ठले लिखित स्पष्टीकरण र मौखिक बयान पनि दिइसकेपछि रास्वपा बैठकले उनलाई पार्टीबाट हटाउँदै सांसद पद पनि खारेज गरेको हो।

रास्वपाले डा भरतमणि देवकोटा नेतृत्वको अनुशासन तथा आचरण समितिलाई यस प्रकरणमा छानविन गर्ने जिम्मा दिएको थियो । ढाकाकुमारको लिखित स्पष्टीकरण र मौखिक बयान पनि समावेश गरेर उहाँलाई कारबाही चलाउनुपर्ने सिफारिस सहितको प्रतिवेदन समितिले सभापति लामिछानेसमक्ष गरेको थियो।

सिफारिसअनुसार पार्टीले सांसद श्रेष्ठमाथि कारबाही गर्ने निर्णय गरेको हो।

बैठक बस्नुअघि नै २ करोड मोलमोलाईमा आरोपित सांसद श्रेष्ठ रास्वपाको केन्द्रीय कार्यालय बसुन्धरामा पुग्नुभएको थियो।

श्रैष्ठले आफूमाथि कारबाही भएमा प्रसाईसँगको लेनदेन प्रकरणमा जोडिएका कोर टिमका सदस्यहरुको सबै पोल खोलिदिने चेतावनी दिनुभएको थियो।

सभापति रवि लामिछानेले श्रेष्ठले प्रसाइँसँग रकमका लागि बार्गेनिङ गरेको पुष्टि भएको बताउदै भन्नुभयो, अडियोमा उहाँको आवाज स्पष्ट सुनिएको छ ।

 

Share Now

Leave a comment.