Prakash Adhikari May 2, 2023

कीर्तिपुर(काठमाडौं), १९ वैशाख । एसीसी प्रिमियर कपको फाइनलको बाँकी खेलमा आज पनि नेपाल र युनाइटेड अरब इमिरेट्स(युएई)का बीचमा आज प्रतिस्पर्धा हुँदैछ ।

सोमबार वर्षाले प्रभावित भएको खेल आज बिहान ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ ।

खेल युएईले २७.३ ओभरमा १०६–९ को अवस्थाबाट सुरु गर्नेछ ।

खेलमा स्पिनर ललित नारायण राजवंशीको ह्याट्रिक बल सामना गर्न अन्तिम ब्याटर जुनैद सिद्दिक आउनेछन् । क्रिजमा कार्तिक मयाप्पन ६ बलमा १ रनमा छन् । यदि ललितले आजको खेलमा पहिलो बलमै विकेट लिन सके उनी नेपालबाट ओडिआईमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बन्नेछन् ।

विश्वको ५१ औं खेलाडी बन्नेछन् । ललितले दोस्रो बलमा आसिफ खान र तेस्रो बलमा जहुरु खानलाई स्लिपमा आरिफ शेखबाट क्याच गराउँदै ह्याट्रिक नजिक पुगेका थिए । तर वर्षाको कारण ह्याट्रिक बल भने गर्न पाएका थिएनन् ।

आज पनि वर्षाको सम्भावना छ । १० बजेपछि वर्षाको सम्भावना रहन्छ । दिउँसो १२ बजेपछि भारी वर्षाको सम्भावना छ । वर्षा अघि सम्म नेपाल विजयी नभएमा नतिजा निकाल्न सुपर ओभर गर्न सक्ने सम्भावना रहन्छ । सुपर ओभर भने नेपाललाई ठूलो घातक बन्नसक्छ ।

यदि आज दिउँसो ५ बजे सम्म नतिजा आएन भने सुपर ओभर हुनेछ । तर सुपर ओभर पनि गर्न सक्ने अवस्था नभएमा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा पुग्नेछ । नियम अनुसार रिजर्भ डेमा पनि पानी परेमा ओडिआई वरियतामा माथि रहने टोली एसिया कपमा पुग्नेछ । नेपालको ओडिआई वरियता १४ औं र युएईको १९ औं छ ।

नेपालले आज युएईलाई जतिसक्दो चाँडै अल आउट गर्दै आफूले ब्याटिङ गर्नुपर्ने हुन्छ । ब्याटिङमा पनि आक्रामकका साथ चाँडै जित निकाल्ने योजना बनाउनु पर्ने हुन्छ । आजको खेलमा दर्शकलाई भने निशुल्क प्रवेश गरिएको छ । यस खेलको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।(स्रोतः हाम्रो खेलकूद)

Share Now

Leave a comment.