Prakash Adhikari May 2, 2023

कीर्तिपुर(काठमाडौं), १९ वैशाख । एसीसी प्रिमियर कपको च्याम्पियन बन्ने लक्ष्य राखेको नेपालले फाइनलमा युनाइटेड अरब इमिरेट्सबाट सामान्य लक्ष्य पाएको छ ।

वर्षाका कारण हिजो स्थगित खेल सोही स्थितिबाट आज प्रारम्भ भएको थियो । आज युएई १ सय १७ रनमा अल आउट भयो । अब नेपालले एसिया कपमा पुग्न ५० ओभरको खेलबाट १ सय १८ रन जोडे पुग्छ । नेपालले एसीसी प्रिमियम कप प्रतियोगितामा ३ सय १० रन सम्म बनाएको छ ।
टियु क्रिकेट मैदानमा हिजो प्रारम्भ भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा १ सय १७ रन बनाएको थियो ।
सोमबार २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । मंगलबार हिजो स्थगन भएको अवस्थाबाट खेल प्रारभ्भ भएको थियो । आजको खेलमा थप ११ रन जोड्दै युएई १ सय १७ रनमा अल आउट भयो ।
मंगलबार युएईले १५ औं बलमा रनको खाता खोलेको थियो । अन्तिम विकेटको रुपमा जुनैद सिद्दिक १७ बलमा १ छक्कासहित १० रनमा कुशल भुर्तेलबाट क्याच आउट भए ।

हिजो र आज गरी सम्पन्न पहिलो इनिड.मा युएईका आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । युएईका लागि आर्यान लार्काले १३, मोहम्मद वासिमले ११, बासिल हमिद र जुनैद सिद्धकिले १०। १०, भृत्य अरविन्दले ८, आयन अफजल खानले ५, रोहन मुस्तफाले २, कार्तिक मायापान र रमिद सहजादले १ । १ रनको योगदान दिएका थिए ।

युएईलाई रोक्न स्पिनर ललित नारायण राजवंशीले ४, करन के.सी. र सन्दीप लामिछानेले २।२, तथा सोमपाल कामी र गुलशन झाले एक एक विकेट लिएका थिए ।

नेपाली बलर राजवंशीले सोमबारकै खेलको २८ औं ओभरको दोस्रो बलमा आसिफ खान एज लागेर आरिफ शेखबाट क्याच आउट गराए । लगत्तै अर्को बलमा जहुर खान स्लिपमा क्याच आउट भए । तर ह्याट्रिक बलमा भने पानी परेपछि खेल स्थगित भएको थियो । मंगलबार आरम्भ भएको खेलको पहिलो तथा सोमबारको निरन्तरताको चौथो बलमा जुनैद सिद्दिकले उक्त बल डट खेलेपछि ललित ह्याट्रिक गर्ने सपना पूरा हुन पाएन ।

 

 

Share Now

Leave a comment.