लण्डन(संयुक्त अधिराज्य), २३ वैशाख । बेलायतका राजा चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट पहिरिनुभएको छ। आर्चविशपले सेन्ट एड्वर्ड्ज् क्राउन राजाको शिरमा राखिदिनुभएको हो ।
जीवनमा यही एक पटक उहाँले ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिरिनुभयो ।
यो राजमुकुट पहिरिने राजा चार्ल्स तृतीय सातौँ शासक हुनुहुन्छ।
यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिनुभएको थियो।
उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले राज्याभिषेकमा पहिरिनुभएको थियो ।

रानी कमिला
सोही समारोहमा आर्चविशपले रानी कमिलालाई ‘क्वीन मेरीज् क्राउन’ पहिर्याइदिनुभयो।
उक्त मुकुट पहिले जोर्ज पञ्चमको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो।

राजा चार्ल्स
विशेष समारोह

वेस्टमिन्स्टर एबीमा विम्बहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोहमा त्यसअघि चार्ल्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिनुभयो।
समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए जहाँ बाइबलको एक अंश वाचन गर्ने प्रधानमन्त्री ऋषि सुनक हिन्दू हुनुहुन्छ।
समारोहको बीचबीचमा राजाले नै रोजेका सङ्गीत बजेका थिए जसमा नयाँ बनाइएका १२ वटा धुन समावेश थिए।
पत्नी रानी कमिलाका साथ राजा बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत गरेको थियो।
राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए।
वेस्टमिन्स्टर एबीमा करिब २ घण्टा लामो राज्याभिषेक समारोहपछि राजा र रानी पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ फर्किए।
बाल्कोनीबाट अभिवादन

राजपरिवार
राजा-रानी शाही परिवारका वरिष्ठ सदस्यहरूसहित बकिङ्घम दरबारको बाल्कोनीमा उभिएर सडकमा जम्मा भएका हजारौँ मानिसहरूलाई हात हल्लाउनुभएको थियो।
बाल्कोनीमा प्रिन्स र प्रिन्सेस अफ वेल्स तथा उनीहरूका छोराछोरी उपस्थित हुनुहुन्थ्यो । राजकुमारी एन र राजुकुमार एडवार्ड समेत त्यहाँ उपस्थित भए तापनि राजकुमार ह्यारी भने देखिनुभएन।
सीएनएनका अनुसार बाल्कोनीमा परिवारसाथ उपस्थित हुनका लागि ह्यारीले निम्तो पाउनुभएन।

ड्युक अफ ससिक्सकी श्रीमती मेगन र उनका दुई सन्तान राज्याभिषेक समारोहका लागि यूके नै आउनुभएको थिएन।
राज्याभिषेककै दिन ह्यारीका छोरा आर्चीको चौथो जन्मदिन परेको छ।
दरबारअगाडि भेला भएका मानिसहरूलाई अभिवादन गर्ने क्रममा फ्लाई पास्टको आयोजना समेत गरिएको थियो।
सन् १९०२ मा राजा एड्वर्ड सप्तमको पालादेखि द मलमा रहेका मानिसहरूलाई त्यसरी अभिवादन गर्ने परम्परा छ।

राजा चार्ल्स
राज्याभिषेक

संसारभरका पाहुना
राज्याभिषेकको भव्य शाही समारोह संसारभरिबाट निम्त्याइएका अतिथिहरू सहभागी छन्।

विश्वनेता र राजपरिवारका सदस्यहरूसहित दुई हजारभन्दा धेरैलाई राज्याभिषेक समारोहका लागि निम्त्याइएको थियो। मनोरञ्जन जगत्का व्यक्तिहरू समेत अतिथिका रूपमा सहभागी भए।
यूकेका प्रधानमन्त्री ऋषि सुनक र देशका सातजना पूर्वप्रधानमन्त्रीहरू राज्याभिषेक समारोहमा सहभागी हुनुहुन्छ ।
यूकेका प्रधानमन्त्री ऋषि सुनकले शनिवारको दिन ूअभूतपूर्व राष्ट्रिय गौरवको क्षणू भएको र ूहाम्रो देशको आधुनिक चरित्रको जीवन्त प्रदर्शनू भएको बताउनुभएको छ।

उहाँले ट्वीटमार्फत् भन्नुभएकोे छ “कुनै अर्को देशले यस्तो चमकदार प्रस्तुति गर्न सक्दैन। तर यो प्रदर्शनी मात्र होइन। यो हाम्रो इतिहास, संस्कृति र परम्पराको गौरवपूर्ण अभिव्यक्ति हो।”
वेस्टमिन्स्टर एबीमा अतिथिहरू आउने क्रम सुरु भएको छ

योजनाबद्ध रूपमा तय गरिएको सप्ताहान्तका विशेष कार्यक्रमहरूमा सडक पार्टीहरू र आइतवार विन्डसर कासलमा हुने कन्सर्ट समेत समावेश छ।
सोमवार देशव्यापी रूपमा स्वयंसेवी कार्यक्रमहरू हुँदैछन्।
शनिवारको समारोहबीच राजतन्त्रविरोधी समूहहरूले विरोध प्रदर्शनहरू समेत गरेका थिए।


















