काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुभएको छ।
खाँणलाई बुधबार बिहान उहाँकै निवास चाबहिलबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ।
‘उहाँलाई चाबहिलस्थित उहाँकै निवासबाट पक्राउ गरिएको हो’, एसएसपी कार्कीले भन्नुभयो, ‘अहिले उहाँलाई अपराध महाशाखा बानेश्वर लगिँदै छ। त्यहाँ सामान्य सोधपुछ हुनेछ। त्यसपछि उहाँलाई काठमाडौं प्रहरी परिसर ल्याइनेछ।’
नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा तत्कालीन गृहमन्त्री खाँणलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
खाँण गृहमन्त्री भएका बेला गृहसचिव रहेका हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि खाँण पनि अनुसन्धानमा तानिनुभएको हो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै करोडौं रकम असुलेको उक्त काण्डमा यसअघि मंगलबारसम्म ११ जना पक्राउ परिसकेका छन्।
यो प्रकरणमा २० जना उजुरीकर्ताले आफूहरुबाट २३ करोडभन्दा बढी रकम असुली गरेको दावीसहित नेपाल प्रहरीमा उजुरी गरेका छन् ।


















