न्यूयोर्क(संयुक्त राज्य अमेरिका), २७ वैशाख(बीबीसी) । न्यूयोर्कको एउटा जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले म्यागेजिनकी लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको र त्यसबारे झुटो बोलेर पीडितलाई बदनाम गरेको ठहर गरेको छ।
दुई हप्ता लामो सुनुवाइपछि करिब ३ घण्टा बहस गरेर जुरीले क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको छ।
पीडितले लगाएको बलात्कारको गम्भीर आरोप भने जुरीद्धारा अस्वीकार गरिएको थियो।
लेखिकाले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा आक्रमण गरेको बताउनुभएको थियो।
जुरीको निर्णयपछि कसले के भने ?

ट्रम्पले पीडित भनिएकी महिला ठग भएको आरोप लगाउनुभयो
ट्रम्पले उजुरीकर्ता महिलालाई ठगीको आरोप लगाउनुभएको थियो। क्यारोलले उक्त आदेश आफ्नो कुरा विश्वास नगरिएकाले पीडा खेपेका प्रत्येक महिलाका लागि जित भएको बताउनुभएको छ।
ट्रम्पले जुरीको उक्त निर्णयलाई अपमानका रूपमा व्याख्या गर्नुभयो र उहाँका प्रवक्ताले ट्रम्पले पुनरावेदन गर्ने जानकारी दिनुभएको छ।
न्यूयोर्कस्थित एक जना बीबीसी संवाददाता भन्नुहुन्छ, उक्त मुद्दाले आगामी राष्ट्रपति चुनावमा फेरि प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा गम्भीर प्रभाव पार्नसक्ने छ।
दुई हप्ते सुनुवाइमा ट्रम्प स्वयं भने उपस्थित हुनुभएन तर उहाँको धारणा जुरी समक्ष सुनाइएको थियो।
मङ्गलवार निर्णय सुनाउने जुरीमा ६ पुरुष र ३ महिला हुनुुहुन्थ्यो।
आदेशपछि लिखित वक्तव्यमा क्यारोलले भन्नुभएको छ, “आज विश्वले वास्तविकता थाहा पाएको छ। यो मेरो मात्रै नभएर आफूलाई विश्वास नगरिएका कारण पीडा खेपेका प्रत्येक महिलाको जित हो।”
फौजदारी नभई देवानी अदालतमा सुनुवाइ गरिएकाले ट्रम्पलाई यौन दुर्व्यवहारकर्ताका रूपमा अभिलेखकृत गर्नुपर्ने छैन।
पूर्व राष्ट्रपतिले क्यारोलको आरोपहरू अस्वीकार गर्दै आउनुभएको छ। ७९ वर्षकी क्यारोलले आदेश सुनिरहँदा आफ्ना दुवै वकिलहरूको हात समाउनुभएको थियो र क्षतिपूर्ति दिने निर्णय सुनाइँदा मुस्कुराउनुभएको थियो।
ट्रम्पका वकिल जो टोकोपिनाले सुनुवाइ सकिएपछि हात मिलाउँदै उहाँलाई ‘बधाई र शुभकामना’ भन्नुभएको थियो।
जुरीको निर्णयपछि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसिअलमा ट्रम्पले लेख्नुभएको छ, “ती महिला को हुन् मलाई केही थाहा छैन।’
यो ट्रम्पले सामना गरिरहेको कैयौँ मुद्दाहरूमध्ये एक हो।
एक जना वयस्क चलचित्र अभिनेत्रीलाई चुपचाप रहन रकम दिएको, अमेरिकी संसद् भवनमा दंगा फैलाउन भूमिका खेलेको र सन् २०२० को चुनाव आफ्नो पक्षमा पार्न लागिपरेको जस्ता अन्य आरोपहरू पनि ट्रम्पले सामना गरिरहनुभएको छ ।
तनावपूर्ण सुनुवाइका दुई हप्ता

ट्रम्पका वकिलले पुनरावेदन गर्ने बताएका छन्
दुई हप्ताको सुनुवाइमा क्यारोल र ट्रम्प दुवै पक्षका वकिलहरूले राखेका धारणाको परीक्षण गरिएको थियो।
क्यारोलको कानुनी टोलीले ट्रम्पले उनलाई एउटा विलासी स्टोरको भित्री वस्त्रहरू खरिद गर्ने क्षेत्रमा सन् १९९५ वा १९९६ मा दुर्व्यवहार गरेको दाबी पुष्टि गर्न ११ जना प्रत्यक्षदर्शीहरू उपस्थित गराएको थियो।
त्यसमा दुई जना महिला पनि थिए जसले ट्रम्पले आफूलाई वर्षौँअघि यौन दुर्व्यवहार गरेको बताएकी थिइन्। एक जना महिलाले सन् १९७० को दशकमा उडानका समयमा ट्रम्पले आफ्नो इच्छा विपरीत स्पर्श गरेको बताएकी थिइन्।
अर्कीले सन् २००५ मा एउटा लेखका लागि अन्तरवार्ता लिने क्रममा ट्रम्पले जबरजस्ती ढङ्गले आफूलाई चुम्बन गरेको बताएकी थिइन्।
क्यारोलका दुई जना पुराना साथीहरूले उक्त घटना भए लगत्तै उनीहरूलाई उनले त्यसबारे बताएको जनाएका थिए।
क्यारोल स्वयंले स्टोरमा भएको घटनाको विवरण सुनाउँदै त्यसबाट आफूलाई पुगेको आघातको व्याख्या गर्नुभएको थियो।
ट्रम्पले कुनै पनि प्रत्यक्षदर्शी उपस्थित गराउनुभएन् र जुरी सदस्यहरू सामु भिडिओ रिकर्डिङबाट राखिएको उह्ाँको धारणा सुनाइएको थियो।
उहाँले आफूमाथिका आरोप निराधार भएको दाबी गर्नुभएको थियो।
एल म्यागेजीकी पूर्व स्तम्भकार क्यारोलले सन् २०२२ मा न्यूयोर्कले यौन दुर्व्यवहार पीडित वयस्कहरूलाई लक्षित गर्दै ल्याएको एउटा कानुनका आधारमा उक्त मुद्दा दायर गर्नुभएको थियो।
त्यसले सो राज्यमा हद म्याद नाघेका घटनालाई कानुनी दायरामा ल्याउन पीडितहरूलाई एक वर्षको समय उपलब्ध गराएको थियो।


















