काठमाडौं, ३ जेठ । नेपालका हाईप्रोफाइल व्यक्तिहरु संलग्न भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग आज बयान लिइने भएको छ।
यसअघि सो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले पूर्वगृहमन्त्री खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १३ जनासँग बयान लिएको छ।
प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका शेर्पाबारे अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंगलबार २ दिनको म्याद थपेको छ।
शेर्पाले गत सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियो।
शेर्पाविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो।
यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको आरोप शेर्पामाथि लागेको छ।
शेर्पाले हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेर बालकृष्ण खाँण लगायतका उच्च नेताको नाम बयानमा उल्लेख नगर्न भन्नुभएको बताइएको छ । उहाँले पीडितको रकम फिर्ता गरिदिने भन्दै कांग्रेस नेता खाँणसहित अन्यलाई जोगाउन खोज्नुभएको बताइएको छ।
तर, प्रहरीले पूर्वगृहमन्त्री खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ। पछिल्लोपटक आइतबार राति नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन्। यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ।