न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ४ जेठ(बीबीसी) । राजकुमार ह्यारी र उहाँकी पत्नी मेगन मार्कलको कारलाई पापाराजीहरू संलग्न एउटा घटनामा ‘खतरनाक’ ढङ्गले पछयाएको बताइएको छ।
ड्यूक र डचिस अफ ससिक्सले न्यू योर्कमा मङ्गलवार एउटा पुरस्कार वितरण समारोहमा भाग लिएपछि यो घटना भएको सो दम्पत्तिका प्रवक्ताले जानकारी दिनुभएको छ।
एउटा विज्ञप्तिमा प्रवक्ताले निरन्तर दुई घण्टा भन्दा बढी समयसम्म कारलाई पछयाइएको र त्यसका कारण एक भन्दा बढी दुर्घटना हुने अवस्था झण्डै निम्तिएको जनाउनुभएको छ।
न्यूयोर्क प्रहरीका प्रवक्ताले कसैलाई पनि पक्राउ नगरिएको र कोही पनि घाइते नभएको जानकारी दिनुभएको छ।
बीबीसी न्यूजले सबै विवरणहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। तर बुधवार दिनभर त्यसबारे विभिन्न किसिमका बयान र सूचनाहरू प्राप्त भइरहेका थिए।
न्यूयोर्क प्रहरीले ह्यारी र मेगनसँग सम्बन्धित घटना भएको र कैयौँ फोटोग्राफरहरूले उहाँहरूको सवारीलाई चुनौतीपूर्ण बनाएको’ बताएको छ।
बकिङ्गम प्यालेसले कुनै प्रतिक्रिया दिएको छैन।
मनोरञ्जनसम्बन्धी फोटो एजेन्सी ब्याकग्रीडले कैयौँ स्वतन्त्र पत्रकारहरूमाथि अनुसन्धान गरिरहेको जनाउँदै घटनाबारे उनीहरूले प्राप्त गरेका प्रारम्भिक विवरण फरक रहेको जनाएको छ।
“फोटोग्राफरहरूले उक्त जोडी कुनै पनि बिन्दुमा तत्कालै जोखिममा नरहेको विवरण दिएका छन्,” प्रहरीले भनेको छ।
यसअघि आधा दर्जन कारहरूले पछयाउदा लापरबाहीपूर्ण ढङ्गले गाडी चलाइएको दाबी गरिएको थियो।
रातो बत्ती बलेको समयमा कार गुडाइएको, सडक पेटीबाट पनि कार कुदाइएको, बाटोमा अवरोध पुर्याउन खोजेको, एकतर्फी बाटोमा गैरकानुनी ढङ्गले सवारी चलाएको र गाडी चलाउँदा तस्बिर खिचिएको दाबी गरिएको थियो।
बीबीसीले बुझे अनुसार ह्यारी र मेगन साथीको घरमा बसिरहेनुभएको छ। सुरक्षा चुनौती थपिने गरी उहाँहरू सोझै आफू बस्ने स्थानमा फर्किनुभएन।
उक्त जोडी र मेगनकी आमा डोरियाले पापाराजीहरूबाट जोगिन म्यानह्याटनको प्रहरी स्टेसनमा आश्रय लिने प्रयास गरेको पनि जनाइएको छ।
त्यसपछि दुवैले न्यूयोर्कको ट्याक्सी प्रयोग गर्ने योजना बनाउनुभयो। उक्त ट्याक्सी र त्यहाँभित्र ह्यारी, मेगन, डोरिया र सुरक्षाअधिकारी बसेको फोटोग्राफरहरूले देखेपछि उनीहरू आफ्नै सवारी साधनमा फर्किएका थिए।
कारका चालक सुखचरन सिंहले आफ्नो कारमा चार जना चढेको बीबीसीलाई बताउनुभयो।
केही पर गइसकेपछि उक्त कारलाई फोहोर बोक्ने ट्रकले रोकेको भन्दै उहाँले अकस्मात् पापाराजीहरू आएर तस्बिर लिन थालेको बताउनुभयो।
उहाँले त्यतिबेला उनीहरूले आफूलाई पुग्नुपर्ने गन्तव्यबारे जानकारी दिन लागेको जनाउँदै त्यसपछि सो क्षेत्रको एक फन्को मार्न भनेको बताउनुभयो।
उनीहरूलाई ‘असल मानिसहरू’ भन्दै चालकले ‘केही आत्तिएको’ देखिएको जानकारी दिनुभयो।
चालक सिंहले ‘खतरनाक ढङ्गले कार पिछा गरिएको’ दाबी बढाइ चढाइ हुनसक्ने भन्दै पापाराजीहरू आक्रामक भएको आफूलाई नलागेको बताउनुभएको थियो।
“उनीहरू हाम्रो पछाडि थिए‘। उनीहरूले दुरी कायम राखेका थिए।”
न्यूयोर्कमा प्रत्येक कुनामा प्रहरी चौकी रहेको भन्दै सिंहले उक्त ठाउँ सुरक्षित रहेको जानकारी दिनुभयो।
उहाँले छोटो यात्राका लागि उक्त जोडीले ५० डलर तिरेको जानकारी दिनुभयो।
सुरक्षा टोलीका सदस्य के भन्छन् ?
ह्यारी र उहाँकी पत्नीका प्रवक्ताले दुई घण्टाको पीडादायी अवस्था भनी चित्रण गरेको घटनाको जम्मा १० मिनेट सिंहले व्याख्या गरेको परिस्थितिसँग जोडिन्छ।
ती ड्राइभरको व्याख्या ह्यारी र मेगनको सुरक्षा टोलीका सदस्य क्रिश सान्चेजको विवरणसँग पूर्ण रूपमा अमिल्दो सुनिन्छ। सान्चेजले सीएनएनलाई ‘एकदमै अस्तव्यस्त दृश्य’ रहेको जानकारी दिनुभएको छ।
सर्वसाधारणहरू धेरै पटक जोखिममा परेको भन्दै साञ्चेजले उक्त परिस्थिति घातक बन्न सक्ने अवस्था देखिएको उल्लेख गर्नुभएको छ।

मेगन र ह्यारी मंगलवार रातिको कार्यक्रमबाट बाहिरिदैँ
मेघन र ह्यारी मिस फाउन्डेशन वीमिन अफ भिजन अवार्डस् नामक एउटा पुरस्कार वितरण समारोहमा भाग लिएर फर्किदा यो घटना भएको थियो।
राजा चार्ल्सको राज्याभिषेकपछि उक्त जोडी पहिलो पटक संयुक्त रूपमा कुनै सार्वजनिक कार्यक्रममा उपस्थित भएको थियो।
न्यूयोर्क सिटीका मेयर एरिक एडम्सले यस्तो घटनामा दुई जना प्रहरी घाइते हुनसक्ने वा कुनै निर्दोष प्रत्यक्षदर्शी गुमाउनु पीडादायी हुने टिप्पणी गर्नुभयो।
राजकुमार ह्यारी र मेगनको विज्ञप्तिले तीव्र गतिमा कारलाई पछयाएको कहिल्यै पनि उल्लेख गरेको छैन। उसले निरन्तर दुई घण्टा पछ्याइएको चर्चा गरेको छ।


















