काठमाडौं, ४ जेठ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८० ।८१ को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी छ।
संघीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैँटौ बैठक बिहान ११ बजे बस्नेछ।
बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको थियो। उक्त छलफलमा प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने सहमति भएको थियो।
त्यसै सन्दर्भमा जेठ ४ गते (आज) प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी गर्नुभएको छ। संसदभित्र रहेका दलहरुको संख्याको आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउछन्।
प्रधानमन्त्रीलाई १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था छ। नियमावली अनुसार ३ दिन अगावै प्रधानमन्त्रीज्युलाई सोध्ने प्रश्न सभामुखकोमा आइपुग्नुपर्छ। त्यसको सामान्य जानकारी प्रधानमन्त्रीलाई गराउने व्यवस्था छ।


















