Prakash Adhikari June 1, 2023

काठमाडौं, १८ जेठ। नेपालको निजी क्षेत्रको सबैभन्दा सबल बैंक मानिएको नबिल बैंकले आजदेखि एकसाथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बिहीवार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरिएको हो।
बैंकले नविल बैंक अब तपाईसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकसाथ ३८ शाखा सञ्चालनमा ल्याएको हो।

आज काठमाडौंको रोयल सिंगी होटलमा आयोजित एक भव्य कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौडेलले डिजिटल टेक्नोलोजीको प्रयोग गरेर ८ वटा, सञ्चालक निर्वाण चौधरीले ८ वटा, सञ्चालक आशा राणा अधिकारीले ८ वटा तथा सञ्चालक अनन्त पौड्याल र प्रविन टिबटेवालाले ७/ ७ वटा शाखाको उद्घाटन गर्नुभएको थियो ।

आजदेखि सञ्चालनमा आएका शाखाहरुमा वागमती प्रदेशमा १३, कोशीमा १,मधेशमा ८, गण्डकीमा ३,लुम्बिनीमा १०, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा दुईवटा नयाँ शाखा सञ्चालनमा आएका हुन् ।

बैंकले दिएको जानकारी अनुसार कोशी प्रदेशको खोटड.को दिक्तेलमा नयाँ शाखा खोलिएको छ । मधेश प्रदेशको पर्साको वीरगञ्ज वाईपासमा, रौतहटको गरुडामा, बाराको कलैयामा, महोत्तरीको गौशालामा, सर्लाहीको वरहथवा र लालवन्दीमा, सप्तरीको कञ्चनपुरमा र महोत्तरीको जलेश्वरमा नयाँ शाखा खोलिएको छ ।

नबिल बैंकले ३८ बर्ष पूरा गरेको अवसरमा बागमती प्रदेशमा १३ शाखा खोलेको छ । बैंकले ललितपुरको प्रयागपोखरी र चापागाउँमा, काठमाडौंको नरेफाँट, भेडासिंह, लाजिम्पाट, बनस्थली, मच्छेगाउँ, फर्पिड., बल्खु,नैकाप र बौंद्ध रामहिटीमा,भक्तपुरको थिमी र धादिड.को धादिड.वेशीमा शाखाहरु सञ्चालनमा ल्याएको छ ।

नबिलले गण्डकी प्रदेशको बाग्लुड.को गल्कोटमा, तनहुँको आँबु खैरेनी र कास्कीको अर्चलबोटमा गरी ३ शाखा सञ्चालनमा ल्याएको छ ।

लुम्बिनी प्रदेशमा नबिलले १० शाखा सञ्चालनमा ल्याएको छ । नबिलले रुपन्देहीको लुम्बिनी, फर्साटिकर र सुखानगरमा, कपिलवस्तुको तौलिहवा र वाणगंगामा, नवलपरासी पश्चिमको रामग्राममा, बर्दियाको गुलरियामा,गुल्मीको तम्घासमा, बाँकेको भानुभक्त चोक न्युरोडमा र दाड.को नारायणपुरमा नयाँ शाखा खोलेको हो ।

नबिलले कर्णाली प्रदेशको जुम्लाको चन्दननाथमा एक शाखा सञ्चालनमा ल्याएको छ भने सुदूरपश्चिम प्रदेशको कैलालीको बोराडाँडी र डडेल्धुराको अमरगढीमा एक एक शाखा सञ्चालनमा ल्याएको छ ।

३८ शाखा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले देशभर एकैसाथ ३८ वटा शाखा बिस्तार गर्ने विषय सजिलो नरहे पनि आफूहरु शाखा खोलिएका स्थानका नागरिकहरुलाई उद्यमशील बनाउने उद्देश्य राखेकोले शाखाहरु उद्यमीका लागि दिगो आर्थिक आधार बन्ने बताउनु भयो ।

अध्यक्ष पौड्यालले नबिल बैंक डिजिटल प्रविधिमा पनि अग्रणी भएकोले बैंकहरुको धेरै शाखा भएपनि कम कर्मचारी भएपनि शाखा सञ्चालन गर्न सकिएको बताउनुभयो ।

उहाँले सरकार र राष्ट्र बैंकले मुलुकमा वित्तीय साक्षरता बढाउँदै जानुपर्ने बताउनुभयो ।

अध्यक्ष पौडेलले अब बैंकिङ क्षेत्र कर्जा र नाफामा मात्रै अगाडि बढ्न नसक्ने बताउदै समाज र राष्ट्रका लागि गरेको योगदानको मापन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २ सय ५५ पुगेको छ ।

Share Now

Leave a comment.