काठमाडौं,५ वैशाख । सरकारको यातायात व्यवासायी समितिको देैेर्ता र नवीकरण नगर्ने र यातायात व्यवसायी समितिहरु खारेज गर्ने निर्णयको विरोधमा यातायात व्यवसायीहरुले अनिश्चितकालीन यातायात बन्दको कार्यक्रम सार्वजनिक गरेका छन् ।
यातायात व्यवसायीहरुले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
व्यवसायीहरुले वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रम ल्याएका छन् ।
सरकारले मंगलबार बसेको मन्त्रिपरिषद बैठकबाट यातायात व्यवसायीहरुको जिल्ला प्रशासन कार्यालयबाट दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो ।
व्यवसायीहरुले आज बुधबार बिहानदेखि नै प्रचारात्मक कार्यक्रम सुरु गरेका छन् ।
व्यवसायीहरुले पहिलो दिन सातै प्रदेशमा पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानकारी दिएका छन् ।
६ गते उनीहरुले संयुक्त आन्दोलनको तयारी गर्ने कार्यक्रम राखेका छन् भने ७ गते प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।
यातायात व्यवसायीहरुले ८ गते सबै सार्वजनिक गाडीहरुमा कालो झण्डा राख्ने, ९ गते यातायातसँग सम्बन्धित नेताहरुलाई ज्ञापनपत्र बुझाउने, १० र ११ गते प्रदेशमा कोणसभा गर्ने तथा १२ र १३ गते जुन समयमा गाडी चलाउन मन लाग्छ त्यही समयमा गाडी चलाउन पाउने कार्यक्रम तय गरिएको छ ।


















