श्रीहरिकोटा(आन्ध्र प्रदेश भारत), १६ भाद्र(बीबीसी) । भारतले सूर्यको अनुसन्धान गर्ने पहिलो अन्तरिक्ष अभियान प्रक्षेपण गरेको छ।
आदित्य एल वान (१)बोकेको रकेटलाई हेर्न दक्षिण भारतमा पर्ने श्रीहरिकोटास्थित अन्तरिक्ष यान प्रक्षेपणस्थलमा मानिसहरूको ठूलो भिड जम्मा भएको थियो।
चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने उक्त स्थलबाट भारतीय समय अनुसार शनिवार बिहान ११ बजेर ५० मिनेट जाँदा उक्त रकेट प्रक्षेपण गरिएको छ।
यस मिसनले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ भन्नेबारे समेत अध्ययन गर्नेछ।
सौर्य आँधीको प्रक्रियाकाबारे समेत थप धेरै बुझ्ने प्रयास गर्नेछ, जो पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा देखिने नोर्दर्न र सदर्न लाइट्स भनिने रङ् विरङ्गी उज्याला प्रकाशका दृश्यका साथै इलेक्ट्रोम्याग्नेटिक अवरोधका निम्ति समेत जिम्मेवार हुन्छन्।
गत साता भारत सफलतापूर्वक चन्द्रमामा अवतरण गर्ने चौथो देश बनेको थियो जहाँ यसअघि अमेरिका, रुस र चीन पुगेका छन्।
तर यस अन्तरिक्ष यान सूर्यको नजिकै भने जानेछैन।
आदित्य एल वान (१)पुग्नु पर्ने दूरी पृथ्वीबाट १५ लाख किलोमिटर छ जुन पृथ्वी र चन्द्रमा बीचको दूरीको चार गुणा हो।
तर त्यो सूर्य र पृथ्वी बीचको दूरीको झण्डै एक प्रतिशत मात्र हो।
भारतीय अन्तरिक्ष निकाय इसरोले उक्त दूरी तय गर्नका लागि चार महिना लाग्ने जनाएको छ।
पृथ्वीदेखि सूर्यको दूरी १५ करोड १० लाख किलोमिटर छ।
सूर्यसम्म पुग्न यसलाई कति समय लाग्छ?
सूर्यलाई निरन्तर रूपमा स्पष्ट देखिने स्थानमा अन्तरिक्षयान बस्ने ठानिएको छ
अन्तरिक्षमा पठाइएको यान खासमा हाम्रो सबैभन्दा नजिकको तारा सूर्यमा पुग्ने होइन।
नासाले अन्तरिक्षमा पठाएको पार्कर नामक यान एक हप्ताअघि मात्रै शुक्र ग्रहको नजिक भएर गएको छ र त्यो अन्ततः सूर्यको सतहबाट ६१ लाख किलोमिटर टाढाको विन्दूसम्म पुग्नेछ।
“प्रक्षेपण गरिएदेखि लाग्राञ्ज विन्दू L1 भनिने अन्तरिक्षको स्थानसम्म पुग्नका लागि आदित्य- L1 लाई करिब चार महिना लाग्नेछ,” भारतको अन्तरिक्ष अनुसन्धान अर्गनाइजेसन (इसरो) ले एक्स (पहिलेको ट्वीटर)मा लेखेको छ।
लाग्राञ्ज विन्दू भनेको के हो?
आदित्यको अर्थ संस्कृतमा सूर्य हो।
आदित्य-L1 को नाममा उल्लेख भएको L1 ले लाग्राञ्ज पोइन्ट भनिने अन्तरिक्षको निश्चित स्थानलाई जनाउँछ जहाँ अन्तरिक्षका सूर्य र पृथ्वी जस्ता दुई विशाल खगोलीय पिण्डहरूबीचको गुरुत्वाकर्षणको शक्ति बराबर अथवा सन्तुलित अवस्थामा रहेको हुन्छ।
त्यस्तो सन्तुलित गुरुत्वाकर्ण भएको क्षेत्रलाई अन्तरिक्ष यानले इन्धन खपत घटाउनका लागि प्रयोग गर्न सक्छ।
त्यस्तो क्षेत्रको नाम फ्रान्सका गणितज्ञ जोसेफ-लुई लाग्राञ्जको नामबाट राखिएको हो जसले १८औँ शताब्दीमा पहिलोपटक त्यसबारे अध्ययन गरेका थिए।
सौर्य गतिविधिको अवलोकन
भारतीय अन्तरिक्ष यानले जम्मा सातवटा भारीहरू ‘पे लोड’ बोकेको छ जसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ।
र त्यसका लागि इलेक्ट्रोम्याग्नेटिक र पार्टिकल फिल्ड डिडेक्टरजस्ता उपकरणको प्रयोग गरिनेछ।
एक पटक यसको कक्षमा स्थापित भैसकेपछि यो अन्तरिक्ष वेधशालाले ‘सूर्यलाई निरन्तर स्पष्ट रूपमा अवलोकन गरिरहन सक्नेछ।’
इसरोले भनेको छ, “यसबाट सौर्य गतिविधिलाई अवलोकन गर्न पहिलभन्दा ठूलो उपलब्धि हासिल हुने मात्रै नभई वास्तविक समयमा नै त्यस्ता गतिविधिको अन्तरिक्ष मौसममा पर्ने प्रभावलाई पनि अनुगमन गर्ने अवसर उपलब्ध गराउँछ।”
यसले वायुमण्डलबाट छानिएर आउने हुनाले पृथ्वीबाट अध्ययन गर्न नसकिने रेडिएशन अर्थात् विकिरणको अध्ययन गर्न पनि सघाउने छ।
यसको विशेष अन्तरिक्ष अवस्थितिका कारण यो यानमा रहने चारवटा ‘पे लोड’ हरूले सूर्यलाई सिधा अवलोकन गर्नेछन्।
बाँकी तीन वटा पेलोड्सले चाहिँ लाग्राञ्ज विन्दू L1 मा रहेका कणहरू र प्रभाव क्षेत्रहरूको अध्ययन यानमा नै रहेर अध्ययन गर्नेछन्।
त्यसबाट विभिन्न ग्रहहरूबीचका अन्तरिक्षमा रहेका स्थानहरूमा सौर्य गतिविधिका प्रभावहरूबारे महत्त्वपूर्ण जानकारीहरू प्राप्त हुनेछन्।
इसरोले यो मिसनले कोरोनल हिटिङ, कोरोनल मास इजेक्शन, सोलार फ्लेअर्स जस्ता सौर्य गतिविधि र तिनका गुणहरूका साथै अन्तरिक्षको मौसमका प्रकृयाहरूबारे महत्त्वपूर्ण जरूरी जानकारीहरू प्रदान गर्ने आशा व्यक्त गरेको छ।
आदित्य एल वान (१) मिसनको लागत कति?
भारतले बुध ग्रहसहित थप अन्तरिक्ष मिसन गर्ने योजना गरिरहेको छ
भारतीय सरकारले सन् २०१९ मा यो परियोजनालाई स्वीकृत गरेको थियो। यसको लागत करिब ४ करोड ६० लाख अमेरिकी डलर लागेको जनाइएको छ।
भारतको अन्तरिक्ष निकायले यसका लागि वास्तविक रूपमा जम्मा कति लागत लाग्यो भन्ने यकिन विवरण सार्वजनिक गर्न बाँकी नै छ र यो अन्तरिक्ष यान पाँच वर्षभन्दा बढी समयका लागि अन्तरिक्षमा रहने गरी बनाइएको छ।
इसरोले गहिरो अन्तरिक्ष मिसनका लागि कम शक्तिशाली रकेटहरूको प्रयोग गर्छ र यानको अगाडिका थप अन्तरिक्ष यात्राका लागि गुरुत्वाकर्षण बलको प्रयोग गर्छ।
यसले चन्द्रमा, मङ्गल ग्रहजस्ता गन्तव्यमा पुग्नका लागि आवश्यक समयलाई बढाउँछ तर यसले गह्रुँगो रकेटहरूको प्रक्षेपण लागत भने उल्लेख्य अनुपातमा घटाउँछ।
यही उपायका कारण भारतको अन्तरिक्ष निकायले हालैका समयमा तुलनात्मक रूपमा थोरै बजेटमा पनि ठूला सफलताहरू हासिल गर्न सकेको छ।
मानवरहित चन्द्रयान-३ अभियान गत साता चन्द्रमाको सतहमा अवतरण गरेको छ।
चन्द्रमामा सफल अवतरण गर्ने अमेरिका, रुस र चीनपछि भारत चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो राष्ट्र बनेको छ।
सन् २०१४ मा मङ्गल ग्रहको कक्ष वरिपरि यान राख्ने भारत पहिलो एशियाली मुलुक बनेको थियो।
र भारतले अब अर्को वर्ष पृथ्वीको कक्षमा मानवसहितको तीन-दिने अन्तरिक्ष मिसन पठाउने योजना गरेको छ।