Prakash Adhikari September 3, 2023

क्वाललम्पुर(मलेशिया),१७ भाद्र । नेपालले आइसीसी महिला टी २० विश्वकप एशिया क्षेत्र छनोट अन्तरगत आज भएको खेलमा भुटानलाई पराजित गरेको छ ।
प्रतियोगितामा नेपालले हासिल गरेको लगातारको तेस्रो जितले नेपाल समूह ए को शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि ४० रनको सामान्य लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे २३ बलमा १ चौकासहित १२ रनमा अविजित रहिन् ।

झिनो लक्ष्य पछ्याएको नेपाल एक समय ५.५ ओभरमा १६-५ को दयनीय अवस्थामा पुगेको थियो । कविता जोशी २० बलमा १ चौकासहित ९ रनमा आउट भइन् ।

कविता कुँवर, अश्मिना कर्माचार्य, इन्दु बर्मा र सम्झना खड्का शून्यमा आउट भइन् । सीता रानामगर ११ बलमा १ चौकासहित ८ रनमा आउट भइन् । पूजा महतो १० बलमा ३ रनमा आउट भइन् ।

भुटानकी अन्जुली घलेले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । अन्जु गुरुङले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर १ विकेट लिइन् । क्षिरिङ जांग्मोले २ ओभरमा ४ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो। भुटानकी कप्तान डेचेन वांग्मोले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन् ।

तीव्र गतिकी बलर कविता कुँवरले पहिलो बलमै ओपनर न्गवागं चोडेनलाई शून्यमा बोल्ड आउट गरेकी थिइन् । अर्की ओपनर कर्मा डेमा २७ बलमा १ रन बनाउँदै आउट भइन् । उनी स्पिनर खुशी डंगोलको बलमा आउट भएकी थिइन् ।

नेपालका लागि तीव्र गतिकी बलर पूजा महतोले ३ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन् । कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा २ मेडनसहित ६ रन खर्चेर १ विकेट लिइन् । खुशी डंगोलले २ ओभरमा ५ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर १ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपाल ३ खेलमा शीर्षस्थानमा छ । नेपालले अव मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । दुई मध्य एक खेलमा जित सेमिफाइनल पुग्न पर्याप्त हुनेछ । दुबै खेलमा पराजित भएपनि नेटरनरेटको सम्भावना रहन्छ । युएई २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ ।

समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी २० विश्वकप छनोट खेल्न पाउनेछन् ।

Share Now

Leave a comment.