काठमाडौं, २२ असोज । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको पछिल्लो लडाइँका क्रममा मारिएका नेपालीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ ‘तत्काल राहत स्वरूप उपलब्ध गराउने’ सरकारले निर्णय गरेको छ।
त्यस्तै मृतकप्रति सम्मान जनाउन मङ्गलवार राष्ट्रिय शोक मनाउने निर्णय पनि गरेको सोमवार अपराह्ण बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभएको छ।
उहाँका अनुसार इजरायलमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरूका लागि आवश्यक प्रबन्ध मिलाएर नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको जहाज चार्टर गरेर उनीहरूलाई ल्याउने प्रबन्ध मिलाउने निर्णय पनि बैठकले गरेको छ।
हमासले आक्रमण गरेपछि चर्किएको तनावका तनावका क्रममा अहिलेसम्म १० जना नेपालीको निधन भएको र चार जना घाइते भएको पुष्टि भइसकेको छ। त्यस्तै एक नेपाली नागरिक अझै बेपत्ता रहेको नेपाली कूटनीतिक अधिकारीहरूले जानकारी दिएका छन्।
मृतक र घाइतेहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत नेपालबाट इजरायल गएका थिए।
गाजाबाट इजरायललाई लक्ष्य गरी रकेट प्रहार गर्ने क्रम रोकिएको छैन।
जेरुसलेममा सोमवार पनि विस्फोटन भएको सुनियो।
इजरायलले गाजानजिकै अवस्थित आफ्ना बस्तीहरूमा पुनः नियन्त्रण गरेको दाबी गरेको छ। तर त्यहाँ लडाकुहरू पनि सक्रिय रहेको विवरण प्राप्त भएको छ।
शनिवार बिहान हमासले आक्रमण गर्न थालेपछि इजरेलमा मृत्यु हुनेको सङ्ख्या ७०० नाघेको छ। तीमध्ये २६० जना एउटा साङ्गीतिक कार्यक्रम हेर्न गएका मानिस छन्।
आफ्नो भूमिमाथि आक्रमण भएपछि इजरायलले गाजामा हवाई हमला गरेको छ। त्यस क्रममा ५०० जनाभन्दा बढीको मृत्यु भएको र एक लाख जनाभन्दा बढी विस्थापित भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले इजरेलमा ज्यान गुमाउने नेपालीप्रति श्रद्धाञ्जलि तथा परिवारप्रति समवेदना व्यक्त गर्दै मृतकको शव ल्याउन यथाशीघ्र प्रबन्ध गर्न सरकारलाई आग्रह गरेको थियो।
एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “दशैँको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नुभएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ। हामी सबै शोकमा छौँ।घाइतेको तत्काल उद्धार गर्न, बन्धक बनाइएकाहरूको रिहाइ र मृतकको शव ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्।”
त्यस्तै सत्ताधारी नेपाली कांग्रेसले पनि वक्तव्य जारी गर्दै इजरायलबाट नेपालीहरूलाई स्वदेश फर्काउन तत्काल पहल गर्न सरकारलाई आग्रह गरेको थियो।
परराष्ट्रले के भन्यो ?
आइतवार राति तेल अभिभस्थित नेपाली दूतावासले एउटा वक्तव्य जारी गर्दै हालसम्म इजरेलमा ज्यान गुमाउनेमध्ये १० जना नेपाली भएको गएको पुष्टि गरेको थियो।
त्यसपछि आइतवार राति नै एउटा वक्तव्य जारी गर्दै मन्त्रालयले शव पहिचानको कार्य अन्तिम चरणमा रहेको जनाएको थियो।
मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “मृतकहरूको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरूको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरेल सरकार समक्ष अनुरोध भइसकेको छ।”
“तेल अभिभस्थित नेपाली राजदूतावासका अनुसार हालसम्म इजरायलको गाजासँग सीमा जोडिएको क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकले ज्यान गुमाएका, एक जना सम्पर्कविहीन रहेका र चार जना घाइते अवस्थामा रहेका पुष्टि भएको छ।”
मन्त्रालयले इजरायलबाट स्वदेश फर्कन चाहनेहरूलाई नेपाल ल्याउने पहल पनि भइरहेको जनाएको छ।
मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “‘नेपाली नागरिकहरूको विवरण सङ्कलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको छ।”
को हुन् मृतक ?
दूतावासका अनुसार अहिले तेल अभिभस्थित विमानस्थल सामान्य रूपमा सञ्चालनमा रहेको र हवाई मार्गमार्फत् आवतजावत पुमः सञ्चालन भइसकेको जानकारी प्राप्त भएको छ।
मृतकहरूमा अधिकांश सूदुरपश्चिम प्रदेशका छन् भने कर्णाली, मधेश र कोशी प्रदेशका पनि रहेका छन्।
ती विद्यार्थीहरू नेपालबाट ‘लर्न एन्ड अर्न’ योजना अन्तर्गत इजरेलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका थिए।
हमासको आक्रमणबाट मारिएका नेपालीहरू सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि गाजा नजिकै पर्ने दक्षिण इजरायलको किबुज अलुमिम क्षेत्रको एउटा फर्ममा कार्यरत रहेको बताइएको छ।
सरकार अरू के गर्दै छ ?
इजरायलको पछिल्लो घटनाक्रमबारे जानकारी लिन र नेपाली नागरिकहरूलाई सहायता गर्नका लागि एउटा संयन्त्र पनि बनाइएको मन्त्रालयले जनाएको छ।
उसले जारी गरेको वक्तव्यमा भनिएको छ “इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बसेको बैठकको निर्देशनअनुसार माननीय परराष्ट्रमन्त्रीज्यूको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन भएको र उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको छ।”
“यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको छ।”
“द्वन्दग्रस्त क्षेत्रबाट नेपालीहरूको यथाशीघ्र उद्धार गर्न नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको छ।”
मन्त्रालयले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
उसले भनेको छ, “यस कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।”
ज्यान गुमाउने नेपालीहरू कहाँ थिए ?
मृतक १० जना ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत नेपालबाट इजरेल गएका थिए।
उनीहरू दक्षिणी इजरेलको गाजानजिकै रहेको सेडाट नेगेभ एग्रिकल्चर सेन्टरअन्तर्गत किबुज अलुमिम फर्ममा प्रशिक्षण लिइरहेका थिए।
उक्त कृषि फर्ममा कुल १७ जना नेपाली रहेकामा १० जनाको निधन भयो। चार जना घाइते भए।
सकुशल रहेका दुई जनालाई अहिले तेल अभिभ ल्याइएको छ भने एक जना अझै बेपत्ता छन्।
अरू नेपालीहरू के भन्छन् ?
विशेषतः केही समयअघि मात्र इजरेल गएका नेपालीहरू अहिले चिन्तित र त्रसित अवस्थामा रहेको पाइएको छ।
लामो समयदेखि इजरेलमा रहेकाहरूमा “आक्रमणका बेलामा कसरी सुरक्षित हुने” भन्ने अनुभव रहेको तर भर्खरै जानेहरूलाई त्यसबारे कतिपय कुराहरू थाहा नहुँदा पनि चिन्ता बढेको भण्डारीले बताउनुभयो।
“अहिले दक्षिणी क्षेत्रमा मात्र अवस्था केही गाह्रो भएको हो त्यो पनि आक्रमण सुरु भएको दिनभन्दा धेरै कम भइसकेको छ तर हालसम्म आक्रमणको कुनै प्रभाव नपरेको उत्तरी क्षेत्रमा रहेका नेपालीहरू पनि चिन्तित र त्रसित हुनुभएको छ,” उहाँले भन्नुभएको छ।
“यस्तो बेलामा हामीले संयम अपनाउनुपर्ने र डराएकाहरूलाई थप त्रसित नबनाउने र गाजाको सीमा क्षेत्रमा बङ्करमा रहेका नेपालीलाई उद्धार गरेर ल्याउनुपर्ने छ। तर ‘इजरायलभरि नै अवस्था ठिक छैन’ भन्ने हल्ला फैलाउनु हुँदैन।”
उहाँ इजरेलमा प्रायः यस्ता हमलाहरू भइरहने भएकाले पनि नेपालबाट इजरायल पठाइने विद्यार्थी तथा कामदारलाई “सुरक्षित रहने तरिका र सुरक्षा अवस्था”बारे अभिमुखीकरण दिएर मात्र पठाउनुपर्ने आवश्यकता अहिलेको घटनाले देखाएको बताउँनुहुन्छ।
इजरायलमा नेपालीको सङ्ख्या कति ?
प्रतिनिधिसभाको आइतवारको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरेलमा नेपालीहरूको अवस्थाबारे जानकारी दिनुभएको थियो।
त्यस क्रममा उहाँले इजरायलमा रहेका नेपालीहरूको सङ्ख्या पनि सदनलाई जानकारी गराउनुभयो।
उहाँका अनुसार अहिले इजरेलमा ४ हजार ५ सय नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्।
त्यस्तै २ सय ६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएको सरकारी तथ्याङ्क छ।
यद्यपि इजरायलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरायलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन्।


















