Prakash Adhikari October 14, 2023

वन्दना विजय / बीबीसी वर्ल्ड सर्भिस

नयाँदिल्ली(भारत), २७ असोज । भारतीय र पाकिस्तानी टोलीबीच कुनै खेल हुन लाग्दा ती दुईको प्रतिद्धन्द्धिताका कारण पूरा विश्वको ध्यान तानिने गर्छ।

यी दुई चिरपरिचित प्रतिद्धन्द्धिबीच पुनः विश्वकप क्रिकेटमा शनिवार भिडन्त हुन लागेको छ। भारतको गुजरातमा हुने खेलबारे अनेक थरी अनुमान गरिएको छ।

प्रतिद्धन्द्धिता भए पनि क्रिकेट इतिहासमा भारतीय र पाकिस्तानी दुई टोलीबीच प्रेम, सम्मान र सद्भावना झल्किने कैयौँ दृष्टान्त छन्।

गत महिना सम्पन्न एशिया कप क्रिकेटका क्रममा पाकिस्तानी बलर शाहीन अफ्रिदीले तीव्र गतिका भारतीय बलर जसप्रीत बुमराहका नवजात शिशुलाई कोसेली पठाएका थिए।

त्यो देखेर भारत र पाकिस्तानी क्रिकेट प्रशंसकहरू मक्ख परे। गत वर्ष भारतीय महिला टोलीका खेलाडीहरू पाकिस्तानकी कप्तान बिस्मा मरूफको बच्चा वरिपरि भेला भएको तस्बिर पनि भाइरल भएको थियो। त्यो तस्बिरबारे इन्टरनेटमा निकै चर्चा भयो।

जब भारत र पाकिस्तान विभाजित भए

क्रिकेट इतिहासमा केही दशकअघि फर्किने हो भने सन् १९४७ मा भारत र पाकिस्तान विभाजित हुँदा उत्पन्न साम्प्रदायिक तनाव र हिंसाले पनि दुई पक्षबीचको क्रिकेट सम्बन्ध भत्काउन सकेको थिएन।

फजल महमूद देश विभाजित हुनुअघि राष्ट्रिय टोलीका लागि छानिएका थिए। भारत र पाकिस्तान विभाजन भएको दिन १९४७ को अगस्ट १५ मा उनलाई भारतको पुणे सहरमा हुने क्रिकेट क्याम्पमा सहभागी हुन बोलाइयो।

हिन्दू(मुस्लिम दङ्गा फैलिरहेको बेला आफ्नो गृहनगर लाहोरबाट पुणे जान उनले निकै खतरनाक यात्रा गर्नुपर्‍यो।

राष्ट्रिय टोलीमा छानिँदा फजल भारतीय खेलाडी थिए तर पुणे पुग्दा उनी स्वतः पाकिस्तानी नागरिक बनिसकेका थिए। क्याम्प स्थगित भयो। त्यसपछि भएको एउटा घटनालाई ऐतिहासिक मानिन्छ।

“क्याम्पपछि म लाहोर फर्किनुपर्ने थियो”, महमूदले आफ्नो जीवनी ‘फ्रम डस्क टु डन’ मा लेखेका छन्। “विभाजनपछि रक्तपात र नरसंहार भइरहेका बेला त्यसो गर्नु कठिन थियो। म पूना (पुणे) बाट रेलमा बम्बई (मुम्बई) गएँ। क्रिकेटर सीके नायडु पनि सँगै थिए। दुई अतिवादीहरूले मलाई रेलमा देखे, उनीहरू मलाई हानि पुर्‍याउन चाहन्थे। तर सीके नायडुले मलाई उनीहरूबाट जोगाए। उनले आफ्नो ब्याट निकाले र ती मानिसलाई मेरो नजिक नजान चेतावनी दिए।”

जहर महमूद (बायाँ) र सीके नायुडु (दायाँ)

जहर महमूद (बायाँ) र सीके नायुडु (दायाँ) ले आफ्नो ज्यान जोगाएको लेखेका छन्

नायडुलाई भारतमा अग्रणी क्रिकेट खेलाडी मानिन्छ। महमूद पाकिस्तानी खेलकुदमा निकै प्यारा व्यक्ति बने।

नायडुले आफ्ना साथी महमूदको ज्यान जोगाएको घटना मैदानबाहिर खेलाडीहरूबीचको सम्बन्ध कति बलियो हुन सक्छ भन्ने सङ्केत गर्ने एउटा प्रमाण हो। त्यसपछि प्रत्येक दशकमा मित्रताका त्यस्ता कथाहरू सुनिने गरेको छ।

विभाजनअघिको ब्रिटिश भारत

विभाजनअघिको ब्रिटिश भारत

खेलको अघिल्लो दिन भारतीय र पाकिस्तानी खेलाडीले सँगै होली मनाए

यद्यपि भारत र पाकिस्तानले सन् २०१२(१३ पछि द्विदेशीय शृङ्खला खेलेका छैनन्। तर सन् १९८७ मा पाकिस्तानी टोली क्रिकेट खेल्न भारत जानु सामान्य मानिन्थ्यो।

त्यो वर्ष भारत र पाकिस्तानबीच खेलिएको शृङ्खला होलीका बेला परेको थियो।

भूतपूर्व विकेटकीपर किरण मोरे पनि सन् १९८७ मा पाकिस्तान गएर खेल्ने भारतीय टोलीमा थिए।

त्यति बेला दुई टोलीका खेलाडीहरूले निकै भव्य तरिकाले होली मनाएको उनी सम्झिन्छन्। उनका अनुसार खेलाडीहरूले पूरै होटलमा रातो रङ्ग पोतिदिएका थिए।

“त्यो वर्ष होली निकै स्मरणीय बन्यो”, मोरे भन्छन्, “हामीले एकअर्कालाई छ्यापेको रङ्ग पूरै होटलमा लत्पतिएको थियो। पौडीपोखरी पनि रातो बन्यो। त्यो अहिलेसम्मकै धेरै राम्रो होली थियो। पाकिस्तानी खेलाडीहरू निकै उत्साहित थिए। होटलले हामीलाई चेतावनी दिन खोजेको थियो र पछि हामीलाई ५०० पाउन्ड जरिवाना तिरायो। सन् १९८७ मा त्यो निकै ठूलो रकम थियो। त्यसको भोलिपल्ट हामीले एकअर्काविरुद्ध खेल्यौँ र प्रतिद्वन्द्विता बिउँतियो।”

द्विदेशीय क्रिकेट शृङ्खलामा विराम लागेपछि…

त्यो वर्ष होलीमा रमाउने खेलाडीमध्ये चर्चित पाकिस्तानी बलर वसीम अकरम पनि थिए।

माथिको तस्बिरमा उनलाई भारतीय कमेन्टेटर गौतम भिमानीसँग देखिन्छ।

एकअर्काको देशमा गएर खेल्ने क्रम रोकिएपछि भारत र पाकिस्तानबीच खेलिएका खेलको सङ्ख्या पनि घटेको छ। तर प्रतिस्पर्धाको मात्रा कहिल्यै घटेको छैन। तैपनि नयाँ मित्रता पलाउँछ वा पुरानो पुनर्जागृत हुन्छ।

बिशन सिंह बेदी र इन्तिखाब आलम

बिशन सिंह बेदी र इन्तिखाब आलम: पाकिस्तान गएका भारतीय पूर्वक्रिकेटर बिशन सिंह बेदीलाई पुराना पाकिस्तानी साथी इन्तिखाब आलमले भव्य स्वागत गरे

गत वर्ष ७६ वर्षीय बिशन सिंह वेदी तीर्थाटनका लागि पाकिस्तानस्थित एउटा सिख मन्दिर गए।

उनलाई भेट्न उनका समकालीन पाकिस्तानी खेलाडीहरू लर्को नै लाग्यो।

पाकिस्तानी टोलीका प्रबन्धक इन्तिखाब आलमले आफ्ना पुराना प्रतिद्वन्द्वी तथा मित्रलाई ‘वेन द सेन्ट्स गो मार्चिङ इन’ शीर्षित पुरानो गीत बजाएर भव्य स्वागत गरे।

दुई पूर्वकप्तानले सँगै भोजन गरे, गीत सुने र पुराना कुराको सम्झना गरे।

इन्तिखाब आलमको जन्म भारतमा भएको थियो। देश विभाजित भएपछि उनी पाकिस्तान गएका थिए। सन् २००४ मा उनी आफ्नो जन्मभूमि आए – त्यो पनि भारतको एउटा घरेलु क्रिकेट टोलीलाई प्रशिक्षण दिने पहिलो विदेशी बनेर।

विराट कोहली र बाबर आजम एकअर्काका प्रशंसक

दुई देशका खेलाडीहरूबीच सद्भावना अहिले पनि कायम रहेको देखिन्छ।

भारतका पूर्वकप्तान विराट कोहली र पाकिस्तानी कप्तान बाबर आजमले नियमित रूपमा एकअर्काको प्रशंसा गरेको पाइन्छ।

विराट कोहलीले बाबर आजमलाई विश्वकै एक उत्कृष्ट ब्याटरको सङ्ज्ञा दिने गरेका छन्।

 

Share Now

Leave a comment.