Prakash Adhikari October 26, 2023

काठमाडौं, ९ कार्तिक(रासस) । ओटिटी )ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो।

घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे। अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाई सकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायतका ओटिटी प्लेटफर्म दर्शकका प्रिय बने।

नेपालीसमेत उल्लेखित ओटिटीका प्लेटफर्मतर्फ आकर्षित हुँदा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले भने धेरै दर्शक तान्न सकेनन्। आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपश्चात् बन्द नै भयो। यद्यपि पछिल्लो समय ओटिटी नेपालमा निर्माताको लागि नयाँ आम्दानीको स्रोत बनेको छ।

चलचित्र भवनबाट सिधै युट्युबमा निःशुल्क उपलब्ध हुने चलचित्र अब एपका माध्यमले केही शुल्क लिएर उपलब्ध हुँदा सोबापतको आम्दानी निर्माताले पाउन थालेका छन्।

सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा आकर्षण गर्ने र चलचित्र हेर्ने बानिको विकास गरिरहेको बताउनुभयो।

उनले भने, “युट्युबबाट दर्शकलाई एपमा फिल्म हेर्ने बानी बसाउन केही समय निःशुल्क चलचित्र उपलब्ध गराएका थियौं। सन् २०१६ मै डिजिटल भविष्य देखेर खोलिएको सिनेमा घरमा दुई वर्षपश्चात् म सञ्चालकका रुपमा जोडिए। नयाँ चलचित्र र ओर्जिनल कन्टेनले दर्शक तान्नेमा विश्वस्थ छौं। हामीले त्यसको तयारीसमेत थालिरहेका छौं।”

दर्शकको ओटिटीप्रतिको आकर्षणलाई बुझेर चलचित्र शिक्षासम्बन्धी अध्ययन गराइरहेको कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को दशैंकै अवसरमा शुभारम्भ गरेको छ।

यसमा केही प्रसिद्ध चलचित्रसँगै आफ्नै सामग्री रहेको एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यो प्लेटफर्मले नेपाली कन्टेनलाई इन्टरनेटमा खोजिरहनुभएका दर्शकलाई आकर्षित गर्नेमा विश्वस्त छौं। हामीले तयारी गरेर कन्टेन जम्मा गरेर बल्ल एपको सुरुआत गरेका हौं।”

उहाँका अनुसार ‘ज्याकीः आइएम ट्वान्टी वान’, ‘जुलेबी’लगायतका चलचित्रसँगै ‘ब्रह्माण्ड’, ‘लभसूत्र’, ‘मदर’, ‘खरानी’, ‘ऋतु’, ‘मिस स्कार्लेट’लगायतका शृङ्खला हेर्न पाउनु हुनेछ। ठुलोपर्दामै देखिने कलाकारलाई लिएर कन्टेन बनाएर ओटिटीमा ल्याउने तयारीमा रहे तापनि यसले पूर्णता पाउन सकेको छैन।

Share Now

Leave a comment.