काठमाडौं, ८ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङले रक्षामन्त्री ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गर्नुभएको छ । सार्वजनिक मञ्चमा देखिन छोडेको दुई महिनापछि रक्षामन्त्री शाङ्फु बर्खास्तमा पर्नुभएको हो ।
सी चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई गत जुलाईमा बर्खास्त गरिएको थियो । उहाँको बर्खास्ती पछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको र अहिले रक्षामन्त्री पनि बर्खास्तीको सूचीमा परेको बीबीसीले लेखेको छ ।
चीनका शीर्ष विधायकहरूसमेत रहेका उनीहरुलाई हटाउने निर्णय नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिले गरेको चीनको सीसीटीभीले रिपोर्ट गरेको छ ।
यसै साता बेइजिङमा विदेशी रक्षा अधिकारीहरूलाई चीनले स्वागत गर्ने तयारी गरिरहेको छ । यही समयमा रक्षामन्त्री औपचारिक रुपमा हटाएको हो ।रोयटर्सले गत महिना सार्वजनिक गरेको रिपोर्टअनुसार रक्षामन्त्री उपकरण खरिद र विकाससम्बन्धी संदिग्ध भ्रष्टाचारको अनुसन्धानमा तानिनु भएको थियो ।
उहाँ पछिल्लो पटक २९ अगस्टमा अफ्रिकी राष्ट्रहरूसँग बेइजिङ सुरक्षा फोरममा सार्वजनिक रूपमा देखिनुभएको थियो । स्याटेलाइट र रकेट प्रक्षेपण केन्द्रबाट आफ्नो करिअर सुरु गर्नुभएका एक एयरोस्पेस इन्जिनियर जनरल लीले सैन्य फाँटमा काम गर्नुभएको थियो । सन् २०१८ उहाँले सेनाको उपकरण विकास शाखाको नेतृत्व गर्नुभएको थियो ।