Prakash Adhikari April 28, 2018

लण्डन(संयुक्त अधिराज्य), १४ बैशाख ।। बेलायतमा छायांकन गरिन लागेको नयाँ चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ का कलाकार र प्राविधिक टोलीलाई लण्डनस्थित नेपाली दूतावासमा भव्य स्वागत गरिएको छ।

टोलीका कलाकारहरु, निर्माता र निर्देशकको संमानमा नेपाली दूतावासमा बिहीबार बेलुकी आयोजित एक समारोहलाई संबोधन गर्दै बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले लण्डनसंग नाम जोडिएकाले पनि यो चलचित्र प्रति आफ्नो रुची बढेको बताए। उनले सुरक्षासंबन्धी कारणले दूतावास परिसरमा छायांकन गर्न दिन संभव नभएको बताउँदै चलचित्रको सफलताको कामना पनि गरे।

चर्चित पत्रकार दिलभुषण पाठकले आफुलाई सानै देखि चलचित्रको नायक बन्ने धोको रहेको तर यो चलचित्रमा नायिकाको बाबुको भूमिका निर्वाह गरेरै चित्त बुझाएको बताए। सो अवसरमा चलचित्रकी नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नायक धिरज मगरले छोटो अभिनय पनि गरेर देखाएका थिए।

चर्चित कोरियोग्राफर रेनेशा बान्तवा राइले निर्देशन गरेको सो चलचित्रमा विवेक लिम्बु, सरुक ताम्राकार, सुनिसा बजगाँइलगायतका कलाकारहरु रहेका छन्।

आइकोर फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा प्रभु शमशेर जवरा, प्रज्ज्वल शमशेर जबराको लगानी रहनेछ ।

चलचित्रमा सुलेखा राई, बसन्त तामाङ र सुस्मिता जिरेल सह-निर्माताको रुपमा छन् ।

स्वागत समारोहमा चर्चित गायिका सीतु खरेलले राजदूत सुवेदीको सार्वजनिक हुन बाँकी गीति एल्बमका केही गीतहरु गाएर सुनाएकी थिइन् भने अमेरिकाबाट आएका कलाकार तथा साहित्यकार कृष्णमुरारी ढुंगानाले आफ्नो सशक्त अभिनय प्रस्तुत गरेका थिए। गायक तथा डिजे सपन राइले पनि आफ्ना गीतहरु सुनाएका थिए।

कार्यक्रममा नेपालबाट आएका राजनीतिशास्त्री हरि शर्मा, खगेन्द्र नेपाली लगायतले मन्तव्य राखेका थिए।

Share Now

Leave a comment.