धनगढी(कैलाली), १५ बैशाख । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहोराले नयाँ स्टक एक्सचेन्ज आवश्यक भएको बताएका छन् । प्रदेश नम्बर ७ मा पुँजी बजारसम्बन्धी सरोकारवालासँगको छलफल कार्यक्रममा मन्त्री बोहोराले यस्तो बताएका हुन् ।
‘देशैभर दोस्रो बजारको स्तरीय र प्रतिस्पर्धात्मक सेवा प्रदान र विस्तार गर्न निजी क्षेत्रको नयाँ स्टक एक्सचेञ्ज आउनुपर्छ, धितोपत्र दलालको संख्या पनि थप गर्नुपर्छ,’ बोहोराले भने ।
नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससि) को संयुक्त आयोजनमा धनगढीमा पुँजी बजार सम्बन्धी लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री बोहोराले प्राथमिक बजारमा आस्वा प्रणाली ल्याउनु, धितोपत्र बाँडफाँटमा संभव भए १० कित्ता सेयर पाउने व्यवस्था गरिनु र ३ दिनमा सेयर खातामा आउने व्यवस्था गरिनु जस्ता कार्यले यस क्षेत्रमा आमूल परिर्वतन आएको बताए ।
यस्तै लगानीकर्ताले सहज रुपमा पुँजी बजारमा लगानी गर्ने वातावरण बनाउन नियामक निकायहरुसँग समन्वय गर्न हालै प्रस्तुत प्रदेश सरकारको बजेटमा उल्लेख गरेको समेत उनले जानकारी दिए ।
नेपाल स्टक एक्सचेन्ज (नेप्स) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन कारोबार प्रणाली सम्बन्धमा अधिकांश काम भैसकेकोले आगामी आर्थिक वर्षदेखि सो सेवा आरम्भ हुने उनले जानकारी दिए ।
कार्यक्रममा डिम्याट खाता खोल्दा समस्या रहेका, सिआस्वाबाट आवेदन गर्दा समेत निवदेन रद्ध भएको जस्ता समस्याहरु, स्थानीयस्तरमा धितोपत्र दलाल व्यवसाय गर्न दिनुपर्ने, घरयासी र मृत्यु नामसारीलाई थप सहजीकरण गर्नुपर्ने, हकप्रद सेयरको लिलामीमा सबै क्षेत्रबाट आवेदन गर्न सक्ने व्यवस्था हुनुपर्ने भन्ने जस्ता कुराहरुमा ध्यानार्कषण गराइएको थियो ।
बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीले लगानीकर्ता सचेतना कार्यक्रम देशैभर गराउन बोर्ड लागिपरेको बताए । प्राथमिक बजार सेवा देशैभर पुगेकोमा धितोपत्रको दोस्रो बजारलाई देशैभर प्रतिस्पर्धात्मक तथा स्तरीय सेवा विस्तार गर्ने नीतिगत व्यवस्था गर्न बोर्ड लाग्ने उनले प्रतिब्दता व्यक्त गरे ।
उनले स्थानीय रुपमा विकासका लागि आवश्यक पुँजी परिचालन गर्न स्थानीयस्तरको ऋणपत्र निकाल्ने कार्यक्रम रहेको समेत जानकारी दिए ।
कार्यक्रममा स्थानीय उद्योगी, व्यापारी, विधार्थीहरु, लगानीकर्ताहरु, सरकारी निकायका पदाधिकारी, व्यवसायी, पत्रकार तथा सर्वसाधारण गरी करिब ३ सय जनाको सहभागितमा रहेको थियो ।