बिगो लाइभ र स्न्यापच्याटलगायत निगरानीमा
सामाजिक सञ्जाल टिकटक प्रतिबन्धपछि कतै आलोचना र कतै प्रशंसा पाइरहेको सरकारले थप सामाजिक सञ्जाल प्रतिबन्धको तयारी गरिरहेको एकजना अधिकारीले बताएका छन्।
टिकटकजस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने थप सामाजिक सञ्जालमाथि पनि निगरानी सुरु गरिएको प्रधानमन्त्रीका सूचना तथा प्रविधि विज्ञ प्रकाश रायमाझीले बताउनुभएको छ । उहाँले रायमाझीले बिगो लाइभ, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य केही एपहरूमाथि पनि निगरानी भइरहेको बताउनुभएको छ ।
“म तीनलाई सोसल होइन एन्टी सोसल मिडिया भन्छु। तिनीहरूले नकारात्मक सामग्री प्रवाह गर्ने र बेथिति फैलाउनेबाहेक केही गरेका छैनन्,” रायमाझीले भन्नुभयो।
“हामी यसको प्राविधिक पक्ष र समाजमा पारेका सकारात्मक नकारात्मक प्रभावहरूबारे अध्ययन गरिरहेका छौँ।”
उहाँले प्रधानमन्त्री कार्यालयले विज्ञहरूसहितको एउटा टोली नै बनाएर ती एपहरूको निगरानी गरिरहेको बताउनुभयो।
टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दर्ता भएका एक दर्जन बढी मुद्दा विचाराधीन छन्।
अदालतले उक्त निर्णयको कानुनी आधारबारे सरकारसँग मङ्सिर २१ गतेभित्र जवाफ माग गरेको छ।
निगरानीमा परेका एपहरु
रायमाझीका अनुसार प्रधानमन्त्री कार्यालयले निगरानीमा राखेका एपहरूमा बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्राम लगायत छन्।
बिगो लाइभ र लाइकी सिङ्गापुरमा रहेको बिगो टेक्नोलोजीजका लाइभ स्ट्रिमिङ र छोटा भिडिओ राख्न मिल्ने एपहरू हुन्।
टिकटकजस्तै यी एपहरू पनि चिनियाँ कम्पनीले सञ्चालन गर्छन्।
भारतले समेत टिकटकसँगै बिगो लाइभ, लाइकीसहित ५९ वटा चिनियाँ एपहहरूमाथि सन् २०२० मा प्रतिबन्ध लगाएको थियो।
टेलिग्राम रुसी म्यासेजिङ एप हो।
यो पनि फेसबुकको म्यासेन्जरजस्तै समूहमा कल र म्यासेज गर्न मिल्नेगरी बनाइएको छ।
अनलाइन डेटिङ एप टिन्डर र म्यासेजिङ एप स्न्यापच्याट भने अमेरिकी हुन्।
स्न्यापच्याटमा पठाइएका तस्बिर र भिडिओहरू प्रापकले हेरिसकेपछि वा त्यसको केही समयपछि नै स्वतः डिलिट हुने सुविधाका कारण यो किशोर किशोरीहरूमाझ लोकप्रिय रहेको बताइन्छ।
यस्ता अधिकांश एपहरू यौनसम्बन्धी भिडिओ अपलोड गर्न र आदानप्रदानका लागि प्रयोग भइरहेको र त्यसले धेरै नेपाली नागरिकहरूलाई असर पारेको आफूहरूको प्रारम्भिक अध्ययनबाट पाइएको रायमाझीले बताए।
प्रधानमन्त्री कार्यालयले त्यसबाहेक थप एपहरूबारे पनि निगरानी भइरहेको जनाएको छ।
रायमाझी यी एपहरू अहिल्यै बन्द गर्न सिफारिस गर्ने भन्दा पनि निगरानीमा राखिएको बताउनुहुन्छ।
“अहिले हामीले नजिकबाट निगरानी गरिरहेका छौँ। यसका सबै पक्षहरूको अध्ययनपछि प्रतिवेदन नै बनाएर सार्वजनिक गर्छौँ,” उहाँले भन्नुभयो ।
“यसबाट के निष्कर्ष आउँछ। अहिलेसम्मको अध्ययनले के देखाउँछ भने यी गलत छन्, बन्द हुनुपर्छ भन्ने नै लागेको छ।”
कतिपय यस्ता एपहरूबाट आर्थिक अपराधसमेत भएको दाबी प्रधानमन्त्रीको सचिवालयको छ।
“प्रारम्भिक रूपमा हामीले सकारात्मक पक्ष दुई प्रतिशत भेट्टायौँ भने नकारात्मक ९८ प्रतिशत भेट्टाएका छौँ। त्यसका आधारमा हामीले सिफारिस गर्ने त बन्द गर्ने भन्ने नै हुन्छ,” रायमाझीले भन्नुभयो।
उहाँका अनुसार यसअघि नै सरकारले बन्द गर्ने प्रयास गरेका पब्जी र फ्री फायर जस्ता एपहरू पनि निगरानीमा छन्।
प्रहरीले के गर्दैछ ?
नेपाल प्रहरीको साइबर ब्यूरोका प्रमुख नविन्द अर्यालले टिकटकपछि अरू एपहरू बन्द गर्नेबारे आफूहरूलाई कुनै जानकारी नआएको बताउनुभएको छ।
“हामी अहिले भीपीएन प्रयोगबाट हुने असुरक्षा कम गर्नेतिर केन्द्रित भएका छौँ। अरू एप बन्द गर्नेबारे हामीलाई अहिलेसम्म कुनै जानकारी आइसकेको छैन,” अर्यालले भन्नुभयो।
प्रहरीले कात्तिक १७ गते सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपालमा सबैभन्दा धेरै साइबर अपराधका उजुरी फेसबुक र फेसबुककै म्यासेजिङ एप म्यासेन्जरमार्फत भएका देखिन्छन्।
्रनेपाल प्रहरीका अनुसार साउनदेखि कात्तिकबीचको अवधिमा म्यासेन्जर प्रयोग गरेर भएका साइबर अपराधका उजुरी ३ हजार ७ सय ७८ वटा छन्।
यो अवधिमा दोस्रो धेरै उजुरी टिकटकसँग सम्बन्धित छन्। टिकटकको माध्यम प्रयोग भएर अपराध भएको दाबी गर्दै ५ सय ४८ वटा उजुरी प्रहरीमा परेको छ।


















