काठमाडौं, १९ मंसिर(बीबीसी) ।रुसी सेनामा कार्यरत रहँदा हालै ६ जना नेपाली नागरिकहरूको निधन भएको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
१८ मङ्सिरमा सरकारले एक विज्ञप्तिमार्फत मृत्यु हुने ती नेपालीहरूको नाम सार्वजनिक गरेको छ। उक्त सूचीमा सन्दिप थपलिया (गोरखा), रूपक कार्की (कपिलवस्तु), देवान राई (कास्की), पितम कार्की (स्याङ्जा), राजकुमार रोका (दोलखा) र गंगाराज मोक्तान (इलाम)को नाम रहेको छ।
नेपाली नागरिकहरू परम्परागत रूपमा रहेको सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको ब्यहोरा मन्त्रालयले दोहोर्याएको छ।
रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका एकजना नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको सरकारले जनाएको छ।
सरकारले कर्मचारी, विद्यार्थी र व्यवसायी बाहेक अन्य सर्वसाधारण व्यक्तिले रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट नो अब्जेक्सन सर्टिफिकेट एनओसी लिएर जान समेत भनेको छ।
सरकारले उक्त विज्ञप्तिमा रुससँग मुख्य दुई वटा माग गरेको जनाएको छ
१) शव र क्षतिपूर्ति
रुस सरकारलाई निजहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ।
अनौपचारिक र गैर कानुनी बाटोबाट सेनामा भर्ती भएका कारण शव प्राप्तिको अनिश्चितता भएको भन्दै कतिपय परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेका विवरण सार्वजनिक भएका थिए।
२) नयाँ भर्तीमा रोक, भएकालाई देश फिर्ता
नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न समेत मस्कोसँग माग गरिएको छ।
परराष्ट्रको विज्ञप्तिमा कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत अनुरोध गरेको जनाइएको छ।
नेपाली नागरिक कुनकुन देशको सेनामा भर्ना हुन पाउँछन्?
नेपालका नागरिकलाई विदेशी सेनामा भर्ती गराउने गरी ७२ वर्षअघि एउटा त्रिपक्षीय सन्धि भएको थियो। उक्त सन्धिमा स्पष्ट रूपमा नेपाली नागरिकलाई भारत र ब्रिटेनको सेनामा भर्ती गरिने उल्लेख गरिएको छ।
त्यस्तै ती दुई सैन्य बलमा भर्ती भएका नेपालीहरूलाई “भाडाको सैनिकका रूपमा व्यवहार नगरिने” उल्लेख गरिएको छ।
सन्धिमा नेपालका तात्कालिक प्रधानमन्त्री तथा सुप्रिम कमान्डर इन चीफ पद्मशमशेर जबराले भारत र ब्रिटेनमा गोर्खा भर्तीलाई कायम राख्न दिने आधारका रूपमा “उनीहरूलाई भाडाका सैनिकका रूपमा नहेरिने हो भने” भन्ने सर्त राखेको उल्लेख छ।
सन् १९४७ को मे १ मा काठमाण्डूमा भएको त्रिपक्षीय बैठकमा पद्मशमशेरले राखेका सर्तलाई सन्धिमा लिपिबद्ध गरिएको हो।
अन्य देशको सेनामा नेपाली भर्ती गर्नेगरी कुनै प्रावधान नभएको अधिकारीहरू बताउँछन्। त्यसैले हाल रुसी सैन्य बलमा नेपाली युवा भर्ती हुन जानु सुरक्षा जोखिमसँगै कानुनविपरीत रहेको विज्ञहरूले औँल्याएका छन्।
यद्यपि हिजोआज रुसबाहेक फ्रान्स, अमेरिका र युक्रेनको सैन्य बलमा समेत नेपालीहरूको भर्ती भएको पाइन्छ।
त्यसलाई पुष्टि गर्ने खालका सामग्रीहरू टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालमा देखा परेका छन्।


















