Prakash Adhikari December 25, 2023

नितिन श्रीवास्तव/बीबीसी संवाददाता, अयोध्याबाट फर्केर

नयाँदिल्ली(भारत), ९ पौष । अयोध्यामा बनिरहेको राम मन्दिरको कामकाजको रेखदेख गरिरहेको श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले आगामी २२ ज्यानुअरीमा हुन लागेको प्राणप्रतिष्ठाको तयारीमा निम्ता गर्न सुरु गरिसकेको छ।

यसैबीच मन्दिरको गर्भ गृह निर्माणको काम चौबीसै घण्टा चलिरहेको छ। यसलाई समयमै पूरा गर्ने प्रयत्न भइरहेको छ।

किनभने प्राणप्रतिष्ठा कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित देश(विदेशबाट भीभीआईपी अतिथिहरू आउने अपेक्षा छ।

नयाँ मन्दिरका लागि पूजारीहरूको चयन पनि जारी छ।

पहिलो चरणमा परेका ३०० निवेदनमध्ये २१ पुजारीलाई शर्टलिस्ट गरिएको छ।

उनीहरूको तालिम चलिरहेको छ। यिनै पुजारीबाट राम मन्दिरका पुजारी चुनिनेछन्।

श्री राम जन्मभूमि तीर्थ क्षेत्रका महासचिव चम्पत रायले बीबीसीलाई बताए, “तालिम समाप्त भएपछि सनातन धर्म, वेद र शास्त्रबारे उनीहरूको ज्ञानको परीक्षा लिइनेछ। केहीलाई यो जागिर मिल्नेछ र बाँकी युवकहरूलाई देशको अरू मन्दिरमा पठाइनेछ।”

राम मन्दिर कमिटीले वाराणसीका दुई पुजारीको नाम पनि घोषणा गरिसकेको छ जसले ज्यानुअरीमा हुन लागेको प्राणप्रतिष्ठाको अगुवाइ गर्नेछन्।

चम्पत रायले थपे, “अयोध्याका कर्मकाण्डी ब्राह्मणले पनि लक्ष्मीकान्त दीक्षित र गणेश्वर शास्त्री द्रविडको नाम सुनेर भन्नेछन् कि उनीहरू त हाम्रा पनि गुरु हुन्। काशी सदैव विद्वान्‌हरूको नगरी रहिआएको छ, जबकि अयोध्या लामो समयदेखि उपेक्षित छ।”

“काशीका जस्ता विद्वान्‌हरू समान एकाध यहाँ अयोध्यामा पनि होलान्, हामी त्यसलाई नर्कादैनौँ। तर अहिले जे फैसला भएको छ, त्यो के हो भने काशीका विद्वान्‌ गणेश्वर शास्त्री द्रविड र लक्ष्मीकान्त दीक्षितले नै प्राणप्रतिष्ठा गराउनेछन्।”

तर २२ ज्यानुअरीमा हुन लागेको प्राणप्रतिष्ठाका लागि प्रमुख पुजारी, हजारौँ मन्दिर भएका सहर अयोध्याबाट चुनिएका छैनन्, राम मन्दिर कमिटीको यो फैसलामाथि अयोध्याका केही स्थानीय महन्त र पुजारीहरूले आपत्ति जनाएका छन्।

अयोध्या हनुमान गढीमा प्रमुख महन्त, महन्त धरमदासका गुरु बाबा अभिराम दासले सन् १९४९ मा राम ललाको मूर्ति विवादित ढाँचामा राखेका थिए।

महन्त धरमदासले भने, “पूजा गराउन कोही पुजारी आएका छन् उनले कसरी गराउँदा रहेछन् हामी पनि हेरौँला। अब यहाँका मानिसलाई पनि सामेल गराउनुपर्छ। प्रतिष्ठा त तपाईँ हामी सबैलाई दिनुपर्छ।”

“अहिले त्यस्तो केही भएको छैन। उतैका मानिस आएर गरेका छन्। यो ठूलो काम त छैन। ब्रम्हाका एक आचार्य हुन्छन् र उनैले पूजा गर्छन्। भगवान्‌को प्रतिष्ठा हुन्छ, यसमा धेरै कुरा छैन। सर्वोच्चले आदेश दिएको यो प्रतिष्ठित मूर्ति हो। ठिकै छ प्राणप्रतिष्ठा होस्।”

सर्वोच्च अदालतको फैसलापछि सन् २०२० मा राम मन्दिरको निर्माण सुरुआत भएको थियो।

६७ एकड विशाल परिसरको सम्पूर्ण रूपमा सफाइ गराएपछि त्यसबाट दुई एकड जमिनलाई मन्दिरका लागि छनोट गरिएको थियो।

हजारौँ करोडको लागतमा बन्न लागेको यो नयाँ राम मन्दिरको गर्भ गृहको निर्माण अन्तिम चरणमा छ।

लाखौँ श्रद्धालु यहाँ पछिल्लो कैयौँ महिनादेखि आइरहेका छन् र उनीहरूले पैसा मात्र होइन सुन चाँदी नै चढाइरहेका छन् जसका लागि मन्दिर परिसरको नजिकै ब्याङ्क कर्मचारीको तैनाथी भइसकेको छ।

धन्नीपुरमा बन्ने मस्जिदको हाल

निर्माणाधीन राम मन्दिरको स्थानदेखि करिब २२ किलोमिटर टाढा, धन्नीपुर गाउँमा, सर्वोच्च अदालतको आदेशपछि जुन मस्जिदको निर्माण हुनुपर्छ उसका लागि अहिले कोष जुटाइँदै छ र छिटै काम सुरु हुने आशा राखिएको छ।

राम मन्दिर निर्माणको साथमा पहिला फैजाबाद जिल्लाअन्तर्गत रहेको अयोध्यामा अहिले तीव्र गतिमा परिवर्तन भइरहेको छ।

सरयू नदीको किनारका घाटहरूको पुनर्निर्माण गरिएको छ। नयाँ सडक र नयाँ जल निकासी व्यवस्था ९सीवरेज०पनि बनाइएको छ।

नयाँ विमानस्थलको काम पनि जारी छ। यो काममा मुआब्जा दिएपछि करिब साढे दुई हजार घर भत्काइएको छ।

नयाँ राम मन्दिरको मुख्य द्वारको निर्माण जारी छ जसको सामुन्नेको सडकमा रहेका चिया नास्ताका पसलहरू निर्माण क्रममा भत्काइएका थिए।

उनन्चालीस वर्षीय दुर्गाप्रसाद गुप्ताको पनि त्यस्तै एउटा पसल थियो जसको उनलाई मुआब्जा पनि दिइएको थियो। अहिले उनले त्यसकै छेउमा चिया(पकौडाको ठेला चलाउँछन्।

उनले भने, “अहिले यहाँ विकास भइरहेको छ, पहिला र अहिलेमा त्यही फरक छ। सडक किनारामा पेटी बनेको छ। अब यहाँ आउँदा दिनमा धेरै भिडभाड हुन सक्छ तर धेरै समस्या पनि हुन सक्छ। त्यसैले हाम्रो पसल भत्काइयो। यही ठेलाको व्यापारबाट गुजारा गरिरहेका छौँ। पूरा परिवारको पालनपोषण ठेलाबाट हुन सक्दैन।”

विकास योजनाको नाममा के भइरहेको छ

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केन्द्र र राज्य सरकार मिलेर अयोध्यामा ३० हजार करोडभन्दा बढीको विकास योजना सुरु भइसकेको बताएका छन्।

अहिले सहरमा चम्किला होटल र सडकहरू देखिन्छन् तर प्राचीन अयोध्यामा वर्षौँदेखि बसोबास गर्नेहरूको आशा अरू पनि छ।

“सरकारसँग यो अनुरोध छ कि जहाँजहाँ होटल बनाइरहेका छन्, जुन भवन बनाइरहेका छन्, सडकलाई यताउता तोडेर मुख्य सडक बनाइरहेका छन्,” राम घाटनजिकै रहेको १५० साल पुरानो पटना मन्दिरका पुजारी आशिष्‌ कृष्ण शास्त्रीले भने।

“यसलाई ठीक भइरहेको छ भनेर मान्ने हो भने अयोध्याका पुराना मन्दिर जुन हाम्रा इतिहास हुन् यदि तिनलाई पनि बलियो बनाउने हो भने हाम्रो तर्फबाट सरकारलाई धेरै धन्यवाद हुनेछ।”

अयोध्या‍बाहिर देखिएको भन्दा पनि भित्री रूपमा गहिरो छ। दर्जनौँ गल्लीमा बनेका प्राचीन मन्दिर र धर्मशालाहरू आज पनि संसारदेखि पर राम नाममा लीन छन्।

सीताकुण्डको छेउमा बनेको राम(बिहारी मन्दिरको भित्र डेढ घण्टासम्म कीर्तन गरेपछि भेट्न आएका पुजारी गोस्वामी जीसँग हामीले सोध्यौँ, “के तपाईँको मन्दिरमा पनि आउने श्रद्धालु सङ्ख्या बढेको छरु”

पुजारी गोस्वामीको जबाफ थियो, “तपाईँले पहिलो पटक यो सबै कुरा सोधिरहनुभएको छ। अरू कसैले यसरी सोधेको थिएन। के स्थिति छ, के हुँदै छ, के भयोरु परिवर्तन भयो, फलानो भयोरु सबै आफ्नो आफ्नो दुनो सोझ्याएर हिँड्छन्। पहिला त केही साधुहरूलाई पेन्सन मिल्थ्यो,अब सब साधुको पेन्सन बन्द भयो। पेन्सनका लागि निवेदन दिँदा अब साधुलाई मिल्दैन भने। अब बुढेसकालमा के को सहारा मिल्लारु”

रामललाको दर्शन गर्न मानिसहरूको भिड

अयोध्याको एउटा वास्तविकता यो पनि हो कि जबदेखि राम मन्दिरको निर्माण कार्य सुरु भएको छ एक अस्थायी स्थानमा रामललाको मूर्ति राखिएको छ, त्यस बेलादेखि दर्शन गर्नेहरूको ताँती लागेको छ।

दिल्लीदेखि दर्शन गर्न पुगेकी निर्मला कुमारीसँग निर्माणाधीन मन्दिर परिसरको बाहिर भेट भयो।

उनले भनिन्, “धेरै राम्रो लागेको छ, भित्रैदेखि असाध्यै राम्रो महसुस भइरहेको छ। बच्चाहरू मसँग आउन पाएनन् त्यसमा ठूलो दुःख लाग्यो। तर हामीले बच्चाहरूलाई भिडिओमार्फत् सबै ठाउँ देखायौँ। हामीले यहाँको माटो लिएका छौँ। त्यसको टिका लगायौँ यो माटो अलिकति दिल्ली पनि लग्नेछौँ।”

बहस यसबारे पनि जारी छ कि ज्यानुअरी २०२४ मा राम मन्दिरमा हुन लागेको प्राणप्रतिष्ठाका लागि भारत जस्तो धर्म निरपेक्ष देशका प्रधानमन्त्रीले यसमा भाग लिन सही हुन्छ कि हुँदैन। कैयौँ राष्ट्रिय विपक्षी पार्टीले यसलाई आमचुनाव हुने वर्षसँग पनि जोडेर हेरेका छन्।

समाजवादी पार्टीका उत्तर प्रदेश महासचिव तथा पूर्वराज्यमन्त्री जयशङ्कर पाण्डेलाई लाग्छ, “सत्ताधारी भारतीय जनता पार्टी रामको नाममा भोटको राजनीति गरिरहेको छ।”

उनले भने, “आज नभए भोलि त जनताले बुझ्नेछन् र जनता मान्छन् सनातन धर्म सबैको हो, मर्यादा पुरुषोत्तम राम सबैका हुन्। महात्मा गान्धीले राम राज्यको कल्पना गरेका थिए। तर समाजमा भाजपा यो देखाउने कोसिस गरिरहेको छ कि राम मन्दिरका निर्माण त्यहीँ गरिरहेको छ जबकि लाखौँ हिन्दूले कुनै राजनीतिबाट प्रेरित नभईकनै नयाँ मन्दिरका लागि दान दिएका छन्।”

तर भारतीय राजनीतिको इतिहास हेर्दा थाहा लाग्छ कि सन् १९४७ मा ब्रिटिश हुकुमी शासनबाट मुक्त भएपछि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु र राष्ट्रपति राजेन्द्र प्रसादबीच यस किसिमको एक मामिलाबारे अलगअलग राय थियो।

सरदार पटेलको अगुवाइमा गुजराती सोमनाथ मन्दिरको पुनर्निर्माण जब पूरा भयो तब पटेलको मृत्यु भइसकेको थियो। तर राष्ट्रपति राजेन्द्र प्रसाद, पण्डित नेहरुको राय नमानीकन त्यस कार्यक्रममा सामेल भएका थिए।

अयोध्याबाट भाजपा विधायक वेदप्रकाश गुप्ता यी “आरोपका का खण्डन” गर्दै भन्छन्, “प्रधानमन्त्री किन आइरहेका छ यो प्रश्न नै छैन प्रश्न यो हो कि अयोध्यालाई विश्वस्तरीय नगरी बनाउने कामका साथ पूरै पूर्वाञ्चलको विकास भइरहेको छ।”

“यसको उदाहरण काशीमा सबैले देखेका छन् कि त्यहाँका व्यापारी प्रसन्न छन्, सहरमा स्वच्छता छ, गल्लीहरू सफा छन्। त्यसैले यदि प्रधानमन्त्री या मुख्यमन्त्री आइरहेका हुन् त निश्चित रूपमा त्यसको लाभ त्यहाँका स्थानीय बासिन्दालाई थाहा छ । विरोधको राजनीतिले त पोजिटिभ कुरालाई पनि नेगेटिभमा बदल्ने काम गर्छ।”

अयोध्या तीव्र गतिमा बदलिँदै गएको छ। काम आएको छ भक्तहरू आएका छन्। नयाँ राम मन्दिर बन्नमा अझ पनि समय थप लाग्छ। इतिहासमा यो दर्ज हुन पनि समय लाग्छ। तर यो कदमबाट यहाँका मानिसका लागि के मिल्छरु

अयोध्यामा चलिरहेको निर्माण कार्य

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अगस्ट २०२० मा अयोध्यामा राम मन्दिरको शिलान्यास गरेका थिए।

वास्तवमा सन् १९९२ मा बाबरी मस्जिद भत्काइएको थियो, त्यसपछि हिन्दू पक्ष र मुस्लिम पक्षबीच पहिला इलाहाबाद हाइ कोर्ट र पछि सर्वोच्च अदालतमा लामो कानुनी लडाइँ चल्यो।

अन्त्यमा सर्वोच्च अदालतले नोभेम्बर २०१९ मा एक ऐतिहासिक फैसला सुनाउँदै अयोध्यामा विवादित भूमिमा मन्दिर बनाइनेछ भन्ने आदेश दियो।

साथमा अदालतले केन्द्र सरकारलाई नयाँ मस्जिदको निर्माण गर्न सुन्नी वक्फ बोर्डको पाँच एकडको वैकल्पिक जमिन उपलब्ध गराउनू भन्ने निर्देशन पनि दियो।

Share Now