काठमाडौं, २० पौष । प्रहरीले राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई पक्राउ गरेको छ ।
उहाँलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार राति पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभएको छ ।
भट्टविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको कम्पनीको शेयर अंशीयारहरुलाई जानकारी नदिईकन नयाँ साझेदारलाई बेचेको जस्ता आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।
प्रहरीका अनुसार, यो विवाद टुटलसँगै सम्बन्धित छ । टुटलका साझेदारहरुले सुरुमा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । त्यहाँबाट यो विषय प्रहरीसम्म पुगेको थियो ।
राइड शेयरिङ एप टुटल नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएका थियो । तर पठाओसहितका केही राइड सेयरिङ एप पनि सञ्चालनमा आएको, कोरोनाले व्यवसायमा मन्दी छाएको र युरोपमा दर्ता भएको इनड्राइभले नेपालका शेयर राइडिड.मा प्रभाव जमाउन थालेपछि टुटल बन्द भएको थियो । कम्पनी बन्द रहेको अवस्थामा कम्पनीका अन्य साझेदारलाई पत्तै नदिइकन भट्टले ज्याप नामक कम्पनीलाई अन्य साझेदारको शेयर बिक्री गरेका थिए ।
यो विवाद अदालतसम्म पनि पुगेको थियो । उच्च अदालत पाटनले राइड शेयरिङ प्लेटफर्म टूटललाई पुन सञ्चालनमा ल्याएको कम्पनी ज्याप र शिक्षित भट्टलाई गुगल र एप्पल स्टोरमा रहेको टूटल एप उपयोग नगर्न, नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
टूटलको ब्यवसायिक नाम, ट्रेडमार्क र यसलाई सञ्चालन गर्ने पूर्वकम्पनीमा रहेको विवाद सम्बन्धमा परेको मुद्दाको सुनुवाई गर्दै उच्च अदालत पाटनले गत असोज ५ गते शुक्रबार यस्तो आदेश दिएको हो ।
यस पहिले टूटलको सेवा सञ्चालन गर्ने मण्डला डिजिटल होल्डिङस् प्रा.लि.का तर्फबाट दायर भएको मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतका न्यायमूर्तिद्धय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त इजलाशले सो आदेश दिएको हो ।
राइड शेयरिङ प्लेटफर्म टूटल सञ्चालन गर्ने मण्डला डिजिटलकातर्फबाट आफ्नो कम्पनीको कारोबार र हिसाबकिताव राफसाफ नभएको अवस्थामा आफूले सञ्चालन गरिरहेको सेवा कम्पनीका शेयर होल्डर र सञ्चालकहरुलाई जानकारी नदिईकन निज शिक्षित भट्टले एकलौटी ढंगले अर्को कम्पनीलाई बिक्रीवितरण गरेकोले यस विवादको न्यायिक निरुपण नभइञ्जेल टूटल सेवा सञ्चालनमा रोक लगाउन र टूटल सम्बन्धी जानकारी दिने गुगल एप स्टोर र एप्पल एप स्टोरका एपहरु उपयोग नगर्नू नगराउनू भनी विपक्षीका नाममा अन्तरिम आदेशको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिइएको थियो ।
कोरोना महामारी अगाडि नेपालमा राइड शेयरिङ कम्पनीको रुपमा अत्यन्त ख्याति कमाएको टूटलको कारोबार कम्पनीका सिईओ भट्टको लापरबाहीको कारण सुस्ताउदै गएको थियो । हाल नेपालको राइड शेयरिङ बजार अन्तर्राष्ट्रिय इन ड्राइभले लिंदै गएको छ ।
डेलिभरी सेवा उपलब्ध गराउने ज्याप कम्पनीले भदौ १५ अर्थात सेप्टेम्बर १ मा राइडरहरुका लागि टूटल ड्राइभ एप सार्वजनिक गरेर भदौ २० गते अर्थात सेप्टेम्बर ६ देखि नयाँ व्यवस्थापन अन्तरगत सेवा सञ्चालन हुने सार्वजनिक जानकारी दिएको थियो । ज्यापले टूटल सेवा सञ्चालन गर्ने जानकारी गराइएपछि यसका पूर्वसञ्चालकहरुले आफ्नो कम्पनीको सेवा र ट्रेडमार्क चोरी भएको थाहा पाएका थिए ।