Prakash Adhikari January 17, 2024

फणीन्द्र दाहाल / बीबीसी न्यूज नेपाली

काठमाडौं, ३ माघ । अघिल्लो वर्ष स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर नेपालबाट विदेश गएका झन्डै ७१ हजार मानिसहरू १ सय ९ वटा देशमा पुगेको एउटा सरकारी आँकडाले देखाएको छ।

नेपालीहरू विकसित भनिएका अमेरिका, ब्रिटेन, स्विट्जरल्याण्डदेखि राजनीतिकरूपमा अस्थिर अफ्रिकाका इथिओपियासम्मका विभिन्न देश सन् २०२३ मा पुगेको अध्यागमन विभागको तथ्याङ्क छ।

अध्यागमन विभागका अनुसार सो हैसियतमा यात्रा गर्ने पुरुषहरूको सङ्ख्या महिलाभन्दा करिब २ हजार ५ सयले बढी छ।

स्थायी बसोबासको अनुमतिपत्र लिएर नेपालबाट बाहिरिने अधिकांश नेपालीहरू अमेरिका, युरोप र एशियाका आकर्षक भनिएका गन्तव्यहरूमा गएको अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ।

स्थायी रूपमा नै मुलुक छाडिरहेका नेपालीहरूको वास्तविक आँकडा बाहिर ल्याउन सन् २०२३ मा पहिलो पटक सरकारले अलग्गै किसिमले अभिलेख राखेर उक्त तथ्याङ्क सार्वजनिक गरेको अधिकारीहरू बताउँछन्।

पीआर लिएका कति नेपाली बाहिरिए ?

स्थायी बसोबासको अनुमतिपत्र लिएर विभिन्न १ सय ९ देशका लागि सन् २०२३ मा ३६ हजार ६ सय ७२ पुरुष, ३४ हजार २ सय ६७ महिला र १ जना अन्य लैङ्गिक पहिचान भएका व्यक्ति बाहिरिएको देखिन्छ।

त्यसमध्ये झन्डै २१ हजार संयुक्त राज्य अमेरिका गएको तथ्याङ्कले देखाउँछ। त्यसपछि संयुक्त अधिराज्य र नर्दर्न आयरल्याण्डमा गरी १६ हजार २ सय भन्दा बढी अनि हङकङमा ११ हजार बढी नेपाली पीआर लिएर यात्रा गरेका छन्।

नेपाली

उक्त सूचीको चौथो स्थानमा नेपाली विद्यार्थीहरूको बढ्दो चाप रहेको अस्ट्रेलिया छ जहाँ ८ हजारभन्दा बढी पीआरवाहक गएको देखिन्छ।

२ हजार ६ सयभन्दा बढी नेपाली पीआर वाहक सन् २०२३ मा जापान गएको तथ्याङ्कले देखाउँछ। क्यानडा, पोर्चुगल, जर्मनी, न्यूजील्याण्ड र यूएई पीआर बोकेर नेपालीहरूले यात्रा गर्ने प्रमुख १० देशमा पर्ने सो आँकडाले देखाउँछ।

उक्त आँकडा अनुसार झन्डै ३ सय नेपालीहरू सन् २०२३ मा स्थायी अनुमतिपत्र वाहकको हैसियतमा भारत पुगेको सरकारी तथ्याङ्कले देखाउँछ।

नेपालीहरूसँग दक्षिण एशियाका भुटान, बाङ्ग्लादेश, पाकिस्तान र श्रीलङ्कासहित विभिन्न देशका पीआर रहेका पनि उक्त विवरणमा उल्लेख छ।

केही सय र दर्जनको सङ्ख्यामा नेपालीहरू ठूलो सङ्ख्यामा नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका कतारदेखि साउदी अरेबियासम्मका देशमा स्थायी बसोबासको अनुमतिपत्रसहित ती देशमा गएका छन्।

चीनमा १ सय ६ जना, ताइवानमा ३६ जना र मकाओमा २० जना नेपालीहरू पीआरसहित त्यहाँ सन् २०२३ मा पुगेका थिए।

अध्यागमन विभागका निर्देशक प्रेमप्रसाद दाहालले स्थायी बसोबासको अनुमतिपत्रसहित बाहिरिने नेपालीको वार्षिक सङ्ख्या सन् २०२३मा पहिलो पटक सार्वजनिक गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “विगतमा यस्तो अभ्यास रहेनछ। लाखौँको सङ्ख्यामा नेपालीहरूले स्थायी रूपमा नै देश छाडिरहेका भन्ने चर्चाहरू चल्ने गरेकाले वास्तविकता के हो भन्ने देखाउन हामीले यसरी तथ्याङ्क निकालेर सार्वजनिक गरेका हौँ।”

दाहालले स्थायी बसोबासको अनुमति लिएर बाहिरिनेहरूले नेपालको नागरिकता त्यागीसकेको पनि बताउनुभयो।

अध्यागमन विभागका अनुसार सन् २०२३ मा २ लाख ४ हजारभन्दा बढी नेपाली पर्यटनको उद्देश्यसहित विदेश गएका थिए। पीआरसहित विभिन्न प्रयोजनले नेपालबाट बाहिरिने नेपालीहरूको सङ्ख्या १६ लाख ०३ हजारभन्दा बढी थियो।

अस्थायी बसोबासको अनुमतिपत्रसहित कति विदेश गए ?

अस्थायी बसोबासको अनुमति

स्थायी रूपमा बसोबासको अनुमतिपत्र नभएपनि त्यो लिने प्रक्रियामा रहेको समेत समेटिएका ९२ हजार भन्दा बढी नेपाली अस्थायी बसोबासको अनुमतिपत्रसहित सन् २०२३ मा १ सय ४४ वटा देशको यात्रा गएको तथ्याङ्कले देखाउँछ।

अध्यागमन विभागका अनुसार २४ हजार ८ सय भन्दा बढी नेपाली अस्थायी बसोबासको अनुमतिपत्रसहित अघिल्लो वर्ष अस्ट्रेलिया गएका थिए।

अस्थायी बसोबासको अनुमतिपत्रसहित जापान जानेको सङ्ख्या २१ हजारभन्दा बढी र संयुक्त राज्य अमेरिका जानेको सङ्ख्या ८ हजार ४ सयभन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ।

उक्त सूचीमा यूके र नर्दर्न आयरल्याण्ड छ जहाँ ७ हजार १ सय भन्दा बढी नेपाली उक्त हैसियतसाथ सन् २०२३मा पुगेका थिए।

पोर्चुगलमा झन्डै ४ हजार ९ सय, यूएईमा ३ हजार ६ सय भन्दा धेरै, हङकङमा २ हजार ९ सय भन्दा धेरै, भारतमा २ हजार भन्दा धेरै अस्थायी बसोबासको अनुमतिपत्रसहित गएको तथ्याङ्कले देखाउँछ।

नेपाल
अस्थायी बसोबासको अनुमतिपत्रसहित १ हजारभन्दा बढी सङ्ख्यामा नेपालीहरू सन् २०२३मा जर्मनी, कतार, दक्षिण कोरिया, क्यानडा, न्यूजील्याण्ड र फिनल्याण्ड गएका थिए।

उक्त सूचीमा अस्थायी बसोबासको अनुमतिसहित चीन प्रस्थान गर्ने नेपालीको सङ्ख्या ४ सय र ताइवान जानेको सङ्ख्या ५५ रहेको उल्लेख छ।

अध्यागमन विभागका निर्देशक दाहालले अस्थायी बसोबासको अनुमतिपत्र भएका नेपालीहरू ती देशको राहदानी लिने प्रक्रियामा रहेका मानिसहरू भएको बताउँनुहुन्छ।

उहाँले भन्नुभयो, “उहाँहरूसँग अहिले अस्थायी बसोबासको अनुमतिपत्र मात्रै छ। तर कालान्तरमा उहाँहरूले लिने भनेको स्थायी बसोबासको अनुमति हो।”

अस्थायी बसोबासको अनुमति पत्र लिएर जानेमध्ये ५१ हजार ८ सय भन्दा बढी पुरुष, ४० हजार ४ सयभन्दा बढी महिला र ५ जना अन्य लिङ्गका रहेको तथ्याङ्कले देखाउँछ।

विज्ञ के भन्छन् ?

त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रमुख योगेन्द्रबहादुर गुरुङ बसोबासको अनुमतिसहित बाहिरिनेमा दक्ष नेपालीहरू भएकाले त्यसप्रति सरकार चनाखो हुनुपर्ने ठान्नुहुन्छ।

उहाँले भन्नुभयो, “यो त दक्ष र शिक्षित जनशक्ति हो। सङ्कटको बेला त्यस्तो जनशक्ति झन् मुलुकलाई चाहिन्छ।”

गुरुड.ले तुरुन्तै दक्ष जनशक्ति चाहिएको खण्डमा नेपाल भारतमा निर्भर हुनुपर्ने अवस्था आउनसक्ने भन्दै सरकारले संवेदनशील हुनुपर्ने बताउनुभयो।

“राम्रा जनशक्ति बाहिर गए अनि यहाँ कम योग्यता र दक्षता भएका मान्छे मात्रै रहेको अवस्थाबाट छनोट गर्नुपर्ने भयो भने त्यसले ठूलो नोक्सानी पुर्‍याउँछ।”, गुरुड.ले भन्नुभयो ।

पर्यटक भिसाबाहेक १९ हजार ३ सय भन्दा बढी नेपाली आफन्त, विवाह, अध्ययनसहित विभिन्न प्रकारका भिसाहरू बोकेर सन् २०२३ मा बाहिरिएका अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ।

अध्यागमन विभागको तथ्याङ्कले अघिल्लो वर्ष ८ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि नेपालभन्दा बाहिर गएको देखाउँछ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओका अनुसार कतार, मलेसिया, साउदी अरेबिया, यूएई र कुवेत नेपाली कामदारका प्रमुख श्रम गन्तव्य हुन्।

Share Now