Prakash Adhikari February 5, 2024

जनकपुरधाम, २२ माघ : बिहीबारदेखि जनकपुरधाम जारी जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन आइतबार विभिन्न चार वटा विषयमा विमर्श गरिएको छ ।

पाँच दिवसीय यो महोत्सवमा आज विदेश जाँदै मधेस, मिथिला चित्रकलामा समकालीनता, भाषाको सीमा र अनुवाद, लालित्य र लोकसरोकार भन्ने विषयमाथि छुट्टाछुट्टै सत्रमा विमर्श भएका महोत्सव आयोजक मिथिला विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभयो ।

त्यसैगरी दुई वटा नाटक प्रदर्शन र प्रतिष्ठित स्थानीय तथा अन्य क्षेत्रबाट आएका कलाकर्मीहरुबाट नाटक, साङ्गीतिक प्रस्तुतिलगायत कार्यक्रम पनि भएका अध्यक्ष चौधरीले बताउनुभयो । यस क्रममा ‘विदेश जाइत मधेस (विदेश जाँदै मधेस)’ शीर्षकमाथिको विमर्शका वक्ताहरुले मधेसजस्तो उर्बर तथा समथर भूमिमा रोजगारीका अवसर सृजना गर्ननसक्दा युवा दिनप्रतिदिन विदेश पलायन हुनथालेकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा राजनीतिज्ञ बृखेशचन्द्र लालले भोको पटले देश विकासमा योगदान गर्ननसक्ने भन्दै त्यसैकारण आम युवाहरू सस्तोमा श्रम बेच्न विदेश पलायन हुन बाध्य भएको बताउनुभयो । देश बनाउने बेला युवा जनशक्ति विदेशीनुलाई नयाँ संस्करणको पराधिनताको संज्ञा दिँदै उहाँले त्यसरी विदेशीने युवामध्ये २८ दशमलव ६८ प्रतिशत युवा मधेशको हुनुले भयावह स्थितिलाई देखाइरहेको टिप्पणी गर्नुभयो ।

यसैगरी, डा सूर्यनाथ मिश्रले देशमा रहेका सम्भावनाका क्षेत्रमा राज्यको योजनाबद्ध लगानी नहुँदा रोजगारी सिर्जना हुननसकेको र त्यसको मारमा सबैभन्दा बढी आर्थिकरूपमा विपन्न वर्ग परेको बताउनुभयो । उहाँले सस्तो श्रमका लागि विदेशीने बहुसङ्ख्यक विपन्न जनतालाई लक्षित गरी राज्यले समयमै रोजगारीको अवसर सिर्जनामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी २७ वर्ष कतारमा काम गरेर फर्किनुभएका मोहरम नद्दाफ नेपालको राजनीतिक नेतृत्वमा देश बनाउने सोच र योजना नहुँदा युवाहरु विदेश जान बाध्य भएको बताउनुभयो । उहाँले तालिम र सीपको अभावमा विदेश जाने युवाहरूले जोखिमपूर्ण अवस्थामा काम गरिरहेका विषयमा बारम्बार कुरा उठ्दा पनि राज्यले लगानी गर्न नसक्नु झनै दुःखद भएको बताउनुभयो । कार्यक्रमका वक्ताहरु डा.सोहन साह, कौशल्य कुस्वाहा, संजोग देव, देवेन्द्र भट्टराई, परमेश मण्डलले देशको अर्थतन्त्रको ठूलो हिस्सा विप्रेषणबाट चलिरहेका पनि त्यसबाट वैदेशिक रोजगारमा गएका परिवारले लाभ पाउने गरी योजना बनाउन जरुरी रहेको धारणा राख्नुभयो ।

‘मिथिला चित्रकलामे समकालिनता’ शीर्षकको विमर्शमा वरिष्ठ चित्रकार एस.सी सुमन, उमाशङ्कर साह, श्यामसुन्दर यादव, पद्मश्री दुलारी देवी, श्रीमती कल्पजा सिंह, विजयदत्त मणिले मिथिला चित्रकलाको व्यावसायिक विकासका लागि तीनै तहका सरकारले लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भाषाको सीमा र अनुवाद सत्रमा भारतबाट आउनुभएका भाषाविद्हरु अशोक, डा. निक्की प्रियदर्शिनी, भाष्करानन्द भाष्कर, प्रदिप विहारी, ललित झा, शिवशंकर श्रीनिवासले भाग लिनुभयो ।

मैथिली संस्कृति ः लालित्य र लोकसरोकार सत्रमा डा. महेन्द्रनरायण राम, परमेश्वर कापरी, अजित आजाद, रूपा झा, प्रवीणनारायण चौधरीले मैथिली कला संस्कृतिका विविध पक्षमा बृहंगम छलफल गर्नुभयो ।

Share Now