काठमाडौं, २६ बैशाख । अर्थमन्त्री डा . युवराज खतिवडाले पुँजी निर्माण र परिचालनको उत्तम माध्यम मानिएको पुँजी बजारमा ठूला र नाफामूलक कम्पनीलाई आउन प्रेरित गरिने बताएका छन् ।
नेपाल धितोपत्र बोर्डको आयोजनामा आजदेखि राजधानीको भृकृटीमण्डपमा शुरु भएको दुई दिवसीय प्रदर्शनीको उद्घाटन गर्दै बताएका हुन ।
नेपालमा पहिलो पटक आयोजना गरिएको पुँजी बजार प्रदर्शनीको उद्घाटन गर्दे अर्थमन्त्री खतिवडाले अब पुँजी बजारमा आउने कम्पनीहरुको विविधीकरण आवश्यक रहेको बताए ।
अर्थमन्त्री खतिवडाले पुँजी बजार विरोधी वा नबुझेको भनेर केही समूहले लगाउदै आएको आरोपको शिष्टतापूर्वक जवाफ दिदै आफूले नेपाल राष्ट्र बैंकको कर्मचारी हुँदाखेरी नै पुँजीबजारबारे दर्जनौ अनुसन्धान गरेर पुस्तक समेत लेखेको बताए । उनले नेपालको पुँजी बजारले पछिल्लो समयमा फड्को मारेको उल्लेख गरे । तर पूँजी बजारमा एकै प्रकारका बैंक तथा वित्तीय संस्थाहरु मात्र रहेको भन्दै उनले उत्पादन तथा सेवासँग सम्बन्धीत कम्पनीहरुलाई पुँजी बजारमा भित्र्याउनु पर्नेमा जोड दिए ।
“५० करोड नाफा कमाउने कम्पनी पनि निजी क्षेत्रमै छन् । एक करोड पूँजी भएको लघुवित्त धितोपत्र बजारमा हुने, ५० करोड नाफा कमाउने कम्पनी बाहिर हुने अवस्थाले धितोपत्र बजार कहिले पनि स्थापित हुँदैन, कहिले पनि सफल हुँदैन र कहिले पनि जोखिम रहित हुँदैन ” अर्थमन्त्री खतिवडाले भने ।
“बैंकिङ्ग प्रणालीमा अलिकति तलमाथि हुँदा नियमनकारी निकाय चनाखो भयो भने संकट आउन दिदैन । त्यस्तै वित्तीय क्षेत्र बाहिरका कम्पनीहरु पारर्दर्शी भइदिने हो र आफ्नो वासलातले धान्नेगरी कारोबार गर्ने हो । त्यस्ता कम्पनीहरु धितोपत्र बजारमा आइदिने हो पक्कै लगानीकर्ताले लगानी गर्ने छन र म लगानी गर्न पनि आह्वान गर्दछु । ” अर्थमन्त्रीले भने ।
उनले पुँजी बजारमा लगानी कर्ताको जोखिम कम गर्न पनि विविधीकरण अत्यावश्यक भएको बताउदै भने,कुनै एक क्षेत्रमा गरेको लगानीले जोखिम न्यूनिकरण गर्देन । कुनै एक क्षेत्रमा आउने धक्काले सम्पूर्ण पूँजी बजारमा समस्या नपरोस भनेर संस्थाको विविधिकरण गर्ने हो ।
अर्थमन्त्री डा. खतिवडाले सरकारको तर्फबाट त्यस्ता संस्थाहरुलाई पूँजीबजारमा दायारमा ल्याउने सहज गर्ने, सार्वजनिक कम्पनीको रुपमा स्थापना गर्न उत्प्रेरित गर्छौ । नभए बाध्यतात्मक अवस्था सिर्जना गरेर पनि पुँजी बजारम ल्याइने अठोट व्यक्त गरे ।
उनले लगानीकर्तालाई दूरसञ्चार क्षेत्रका, हवार्इ क्षेत्रका, उद्योग क्षेत्रका कम्पनीहरु प्रवेश गरायउने नीतिगत प्रयास भैरहेको बताए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र् बैंकका गभर्नर डा. चिरंजीवि नेपालले पुँजी बजार भनेको जुवा घर भएको र जोखिममात्रै हुन्छ भन्नु गलत भएको बताए । उनले पुँजी बजार विना विकास असम्भव रहेको भन्दै गभर्नर नेपालले पुँजी बजारलाई जुवा घरको रुपमा नसोच्न आग्रह गरे ।
गभर्नर डा. नेपालले भविष्यको आर्थिक विकासको भावि आधार नै पुँजी बजार भएको भन्दै पुँजी बजारमा लगानी नगरेको मान्छे आधुनिक हुन नसक्ने दावी गरे ।उनले पैसालाई व्यवस्थापन गर्ने र भविष्य सुरक्षित बनाउने आधार पुँजी बजार नै रहेको बताए ।
अर्थमन्त्री खतिवडा र गभर्नर नेपाल लामो समय पछि एउटै मञ्चमा देखिएका हुन् । कार्यक्रममा बोल्ने क्रममा अर्थमन्त्री र गभर्नर बीच मत बाझिए पनि मञ्चमा धेरै पटक उनीहरुले कानेखुसी गरेका थिए ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले प्रदर्शनी पुँजी बजार सम्बन्धी आम जनतालाई सूसुचित गर्नका निम्ति आयोजना गरिएको बताए ।
उनले पुँजीबजारलाई व्यवस्थित बनाउन र यसका अन्य आयामहरुको विकास गर्न धितोपत्र बोर्डले ब्रोकरहरुबाट मार्जिन ल्याण्डिड. सुविधा लिने लगायतका नियमावली ल्याउन लागेको बताए । उनले दीर्घकालीन लगानी कर्तालाई ब्याजदरमा छुट दिने, पुँजी बजारको लगानीलाई पनि कृषि र उद्योग जस्तो प्राथमिकताको क्षेत्रमा राख्ने वित्तिकै लगानी कर्ताको आत्मविश्वास बढ्ने पनि बताए ।
कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरंञ्जीवि चापागाँइ , नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक चन्द्रसिंह साउद, नेपाल मर्चेन्ट बैंकर्स एशोसिएसन, लगानी कर्ता संघका प्रतिनिधिहरुले पुँजी बजारको विकास, विस्तार र चुनौतिको समाधानका सम्बन्धमा बोलेका थिए ।
आजदेखि शुरु भएको प्रदर्शनी बिहीबारसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीमा मर्चेन्ट बैंक, ब्रोकर कम्पनी लगायतका एक सय भन्दा बढी स्टलहरु राखिएको छ ।
प्रदर्शनीको अवसरमा पुँजी बजारको सम्बन्धमा आवश्यक जानकारी दिन र यसका समस्या एवम् चुनौतीहरुलाई समाधान गर्ने सम्बन्धमा सरोकारवालाहरुको विचार मन्थन गराउने उद्देश्यले गोष्ठीको आयोजना पनि गरिएको छ ।
गोष्ठीमा कार्यपत्र प्रस्तुति, टिप्पणी र सामूहिक प्रवचनको कार्यक्रम पनि राखिएको छ ।
निशुल्क प्रवेश पाइने यो प्रदर्शनी पुँजी बजारको बारेमा जानकारी लिन चाहनेका लागि निकै उपयोगी छ ।