Prakash Adhikari March 4, 2024

काठमाडौं, २१ फागुन । वर्तमान सरकार गठन भएको एक बर्ष नपुग्दै विघटनको संघारमा पुगेको छ । राष्ट्रपति निर्वाचनपछि नेकपा एमालेसंगको सहयात्रा त्यागेर नेपाली कांग्रेससंगको सहयात्रामा वर्तमान गठबन्धनको सरकार निर्माण गरेको सत्ता नेतृत्वदायी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार राति पूर्वगठबन्धनका दलहरुसंग नयाँ समझदारी गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय समाजवादी पार्टीका नेताहरुबीच आइतबारी राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको नयाँ समझदारी अनुरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै रहने गरी नयाँ गठबन्धन बनाउने समझदारी बनेको बताइएको छ।

प्रधानमन्त्री दाहालले आइतबार बिहानै रास्वपा सभापति रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए। त्यसपछि साँझ जसपासमेत राखेर सामूहिक छलफल भएको थियो। प्रधानमन्त्री दाहालले सत्ता साझेदार नेपाली कांग्रेसलाई टीआरसी विधेयकमा सहमति खोज्न बैठक गरेको बताए पनि माओवादी भित्रभित्रै नयाँ गठबन्धनको तयारीमा थियो । बर्षामान पुनः लगायतका नेताहरु नयाँ गठबन्धनको अभ्यासमा लागेको लामै समय भएको थियो ।

आइतबार राति एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, माओवादी वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा छलफल हुँदा महत्त्वपूर्ण समझदारी बनेको र आज अर्को बैठक बसेर त्यसलाई मूर्तरुप दिने तयारी छ।

यसै विषयमा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा बसिरहेको छ। यस्तै माओवादी सचिवालय बैठक पनि बिहान ७ बजेदेखि नै जारी छ।

उक्त बैठक सकिएपछि नयाँ गठबन्धनको बैठक बसी समझदारीका विषय औपचारिक रुपमा घोषणा गरिने भएको छ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, उपनिर्वाचन, संक्रमणकालीन न्याय, मुलुकको आर्थिक अवस्था र सत्ता समीकरणका विषयमा सबै दलबीच खुलेर कुरा भएको र नयाँ ढंगले सहमति गरेर अगाडि बढ्ने समझदारी बनेको एमाले नेताहरुको दावी छ ।

 

Share Now