काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा अहिले पार्टी पदाधिकारीहरुको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार राति नेकपा एमाले, राष्ट्रिय समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसंंग नयाँ सत्ता समीकरण बनाउने सहमति गरेपछि वर्तमान सत्ता गठबन्धनको सम्बन्धमा निर्णय लिन कांग्रेस सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा १० बजे पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको हो ।
राजनीतिक ध्रुवीकरण गरेर नेपाली कांग्रेसलाई एक्ल्याउने संभावना देखिएकोले नेपाली कांग्रेसको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरणको औपचारिक घोषणा हुने वित्तिकै आफ्ना मन्त्रीहरुलाई सामूहिक राजिनामा दिन लगाउने निर्णय गर्ने संभावना छ ।
आइतबार राति सत्ता गठबन्धनको नेतृत्व गरिरहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री दाहालले नयाँ गठबन्धनका लागि एमाले, राष्ट्रिय समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसंग नयाँ समझदारी गरेपछि कांग्रेस सभापति देउवा पार्टी उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुभएको थियो ।
तर प्रधानमन्त्रीले इट इज टू लेट भनेर जवाफ दिएपछि वर्तमान गठबन्धनको आयु सकिएको ठहर गर्दै फर्केर पदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको हो ।


















