बापी(गुजरात,भारत), १८ चैत्र । टी २० फम्र्याटमा भैरहेको एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक क्रिकेट श्रृखलाको आज सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ विकेटले पराजित गरेको छ।
टस हारेर ब्याटिड.को निमन्त्रणा पाएको गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १५.२ ओभरमा नै हासिल गरेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहँदै २६ बलमा सर्वाधिक ३३ रन बनाए । अनिल शाह ३५ बल खेल्दै ३२ रनमा नटआउट रहे ।
ओपनर द्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमसः १७ र १६ रन बनाए । ३४ रनमा दुवै ओपनर गुमाएपछि रोहित र अनिलले नेपाललाई जित तर्फ डोहोर्याएका थिए ।
नेपाललाई रोक्ने क्रममा गुजरातका तेजस पटेल र हेमङ पटेलले समान १ १ विकेट लिए ।
त्यसअघि वापीमा टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय लिएको थियो ।
पहिले ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा ९८ रनमा अल आउट भएको थियो ।
गुजरातका लागि ओपनर रुद्र पटेलले २३ रन, हेमंग पटेलले २० रन, अभिषेक देसाइले ११ र स्मीत पटेलले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन जुटाउन सकेनन् ।
गुजरातलाई रोक्ने क्रममा नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । यस्तै करन केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । यस्तै सोमपाल कामीले ४ ओभरमा १४ रन दिएर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोरा बिकेट बिहिन रहे।
यस प्रतियोगितामा नेपाल र गुजरात बाहेक बरोडा पनि सहभागी रहेको छ ।
नेपालको राष्ट्रिय टोलीले हालै काठमाडौंमा आयोजित प्रतियोगितामा आयरल्यान्ड वुल्भसविरुद्ध टी २० को शृंखला जितेको थियो ।
नेपालले प्रतियोगिताको दोस्रो खेलमा अप्रिल २ मा बरोडाविरुद्ध खेल्नेछ । डबल राउण्ड रोबिन ढाँचामा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।


















