सञ्जय ढकाल / बीबीसी नेपाली
काठमाडौं, ५ बैशाख । चैतको मध्यदिउँसो पर्वत जिल्लाको पैयूँ गाउँपालिकास्थित सौरीकोट गाउँमा एक हुल गाउँले हस्याङफस्याङ गर्दै बाँदर धपाइरहेका थिए।
चर्को घाममा असिनपसिन मानिसहरू होहल्ला गर्दै बाँदरको पछि लाग्दै थिए।
कसैको हातमा लाठी थियो भने कसैको हातमा गुलेली।
गहुँ बारीमा पसेका बाँदरका बथान उफ्रिएर छेउको बाँस झ्याङमा पुग्यो।
केही गाउँलेको लसुन र प्याजका मुन्टा पनि चुँडाल्न तिनले भ्याइसकेका रहेछन्।
मान्छेको हुल देखेपछि बाँसको बाक्लो झ्याङमा छिरेका बाँदर त्यसपछि केही बेरका लागि अलप भए।
दिनैपिच्छेको हैरानीबाट आजित स्थानीय किसान राधा न्यौपानेले बाँदरले आफूहरूलाई ‘रुवाइ छाडेको’ बताउनुभयो।
“खेती गरेर भित्र्याउँछु भन्नै परेको छैन। गाउँतिर खेतहरू बाँझै छन्। त्यसले केही बाँकी नराख्ने रहेछ। मकै, गहुँ, मुसुरो, केराउ, कोदो केही छाडेन। धान पनि मिच्ने रहेछ,” उहाँले भन्नुभयो।
अनन्तराज न्यौपाने उमेरले ७६ वर्ष पुग्नुभयो।
पाँच छोरा र दुई छोरीका बुबा उहाँले सुइय्य सुस्केरा हाल्दै बाँदरले दिएको दुःख बेसाउनुभयो।
“बिहान ६ बजेदेखि घरबाट निस्केको। खान पनि पाएको छैन। यिनीहरूकै पछि लाग्दैमा ठिक्क छ। घरैभित्र छिरेर आँटीको मकै पनि बाँकी राख्दैन,” निधारको पसिना पुछ्दै उहाँले भन्नुभयो।
बिहान उठेदेखि अरू काम छाडेर भए पनि बाँदर धपाउन जानै पर्ने अवस्थाको चित्रण गर्दै न्यौपानेले चर्को स्वरमा सरकारको आलोचना गर्नुभयो।
“सरकारले बरु हामीलाई पाल्देओस्। नत्र आफ्नो खेतीको पनि खान नपाएपछि किन गर्नु यो खेती ? ” उहाँको प्रश्न छ।
जाने जतिको उपाय अपनाउँदा पनि बाँदरबाट जोगाउन नसकिएको सुनाउँदै उहाँले भन्नुभयो, “अलि अघि पटाका ल्याएर सालघारीमा पनि पड्कायौँ। तर पुलिस आएर उल्टै हाम्रो सातो लियो।”
खेतीबाटै विमुख
अचेल नेपालका कैयन् स्थानका किसानहरू खास गरी मकै खेतीबाट एक किसिमले विकर्षित नै भइरहेको नेपाल कृषि अनुसन्धान परिषद्का अधिकारीहरू बताउँछन्।
खेतमा बाँदर पसेर बाली खाइदिने, भाँच्दिने अनि बिगारिदिने क्रम बढेपछि किसानहरू बिलखबन्दमा परिरहेका छन्।
मकै मात्र नभई लगभग सबैजसो खाद्यान्न, तरकारी, तथा फलफूलमा पनि बाँदरले त्यसै गरी नोक्सानी पुर्याउने गरेको किसानहरूको साझा गुनासो रहँदै आएको छ।
देशभरि बाँदरका कारण किसानलाई कति नोक्सानी पुगिरहेको छ भन्ने बारे न त कृषि मन्त्रालय न त कृषि विभाग न त अन्य सरकारी निकायले नै कुनै लेखाजोखा गरेका छन्।
ती निकायका अधिकारीहरू बाँदरले धेरै हानि पुर्याइरहेकोमा चाहिँ एकमत छन्।
जनावरले कृषिजन्य उत्पादनमा पुर्याउने नोक्सानीमध्ये सबैभन्दा धेरै बाँदरले गरेको बताइएको छ।
“विशेष गरी मध्ये पहाडी क्षेत्रमा बाँदर, बँदेल र दुम्सी अनि तराईमा नीलगाई समेतले बालीनालीमा नोक्सानी पुर्याउँदै आएका छन्। एक दशक यता चाहिँ बाँदरको समस्या महामारी जस्तै भएर देखा परेको छ,” नेपाल कृषि अनुसन्धान परिषद्को राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि वैज्ञानिक श्रीमत श्रेष्ठले बताउनुभयो।
त्यसरी बाँदरको सङ्ख्या र समस्या फैलनुमा देशमा बसाइँसराइको प्रवृत्ति मुख्य जिम्मेवार भएको उहाँ ठान्नुहुन्छ।
“मध्यपहाडी क्षेत्रबाट मानिसहरू तराईतिर सर्ने क्रम बढेको छ भने गाउँका युवाहरू विदेश पलायन भएका छन्। त्यसले त्यहाँ जनसङ्ख्याको चाप कम भएको छ। जसका कारण विगतमा माथि माथि सम्मै मकै तथा अरू बाली लगाइने ठाउँ अहिले झाडी बुट्यानमा परिणत भएका छन्। अनि बाँदर आहाराको खोजीमा तल बस्तीतिर झरेका छन्,” श्रेष्ठले बताउनुभयो।
गएको करिब १० वर्षमा मध्ये पहाडी क्षेत्रमा मकै लगाइने क्षेत्रफल लाखौँ हेक्टरले कम भएको एउटा नमूना अध्ययनमा देखिएको उहाँले बताउनुभयो ।
आफ्ना गाउँमा बाँदरले दुःख दिएकै कारण मानिसहरू खेतीबाट पलायन हुन थालेको कृषक लेखनाथ बस्याल बताउनुहुन्छ।
“एक हलको मेलोलाई उत्पादन गराउनका लागि हामीकहाँ मकै छर्दा तीन हजार रुपैयाँ खर्च हुन्छ। गोडमेललाई अर्को तीन हजार लाग्छ तर भित्र्याउने बेला केही पनि पाइँदैन,” उहाँले भन्नुभयो, “खानै केही नपाइसकेपछि मानिसहरू बरु तराई झर्ने भनेर हिँडेका छन्। यस्तो राम्रो उर्वरा शक्ति भएको ठाउँमा बाँदरले नाश गरेपछि मानिस विस्थापित भएका छन्।”
आगामी चारपाँच वर्षमा त खेती गर्ने कोही बाँकी नहुने चिन्ता उहाँले प्रकट गर्नुभयो।
तर बाँदरले बाली नोक्सानी गरेकै कारण कुल खेती योग्य जमिनमध्ये कति प्रतिशत बाँझो छाडिएको छ त भन्ने प्रश्नको उत्तर आफूहरूसँग पनि नभएको कृषि अनुसन्धान परिषद्का अर्का वरिष्ठ कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताउनुभयो।
“तर यो ठूलो मात्रामा भने पक्कै छ। अर्बौँ रुपैयाँको नोक्सानी भइरहेको हामी अनुमान गर्न सक्छौँ। एउटा लगाएको बालीमा हुने नोक्सानी छ भने अर्को उसले नाश गर्ला भनेर बाली तथा फलफूल रोप्नै छाडेका पनि छन्,” उहाँले भन्नुभयो।
सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा कृषि विभागसँग पनि बाँदरले पुर्याएको नोक्सानी यकिन विवरण छैन। प्रदेशहरूले आफ्नै तहबाट यस्ता समस्याको रेकर्ड राखिरहेको पाइन्छ।
“हामीले जिल्ला तथा पालिकाबाट आँकडाहरू सङ्कलन त गर्न खोजिरहेका छौँ। तर यो एउटा राष्ट्रिय मुद्दा नै बनिसकेको छ। कसरी अगाडि बढ्ने भन्ने एउटा नीति चाहिन्छ,” गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव टंकप्रसाद प्रसाईले भन्नुभयो।
यसै साता राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको राष्ट्रिय कृषि गणना २०७८ को ुसामुदायिक प्रतिवेदनुमा जङ्गली जनावरले कृषि उत्पादनमा पुर्याएको हानिनोक्सानीबारे वडा तहमा गरिएको अध्ययनको नतिजा उल्लेख छ।
सो नतिजाअनुसार देशभरिका करिब ६ हजार वडामा गरिएको अध्ययनमा सबैभन्दा बढी झन्डै ४ हजार वडामा बाँदरले कृषिजन्य उत्पादनमा हानिनोक्सानी पुर्याउने गरेको उल्लेख छ।
तीन पालिकामा तीन उपाय
कास्कीकी इन्द्र गली बास्तोला, पर्वतका शोभाकान्त रिजाल अनि अर्घाखाँचीका रामराज गौतम – यी तीनै जना किसान एकैनासको समस्याबाट आक्रान्त हुनुहुन्छ।
बास्तोला बाँदरले बाली नाश गरेकाले एकै छिन पनि आँखा नझिम्काई तिनको पछि लागिरहनुपर्ने बाध्यता सुनाउँनुहुन्छ।
रिजाल लसुन र प्याजधरि बाँदरले नाश गरिदिएको भन्दै जतिखेर पनि हातमा गुलेली बोकेर कुदिरहनुहुन्छ।
अनि गौतमले सुन्तला खेती गर्दा पो ठिक हुन्छ कि भनेर त्यतापट्टि ध्यान दिनुभएको छ ।
कतै गुलेली लिएर लखेट्दै कतै बन्दुक पड्काइँदै,
यी तीनै जना किसान बस्ने पालिकाहरूले बाँदर नियन्त्रणका लागि बेग्लाबेग्लै उपाय अपनाउँदै हुनुहुन्छ।
कास्की जिल्लाको पोखरा महानगरपालिकाको वडा नम्बर १९ ले केही महिनाअगाडि बाँदर नियन्त्रण गर्न भनेर अपनाएको उपाय देशैभरि विवादित हुन पुग्यो।
उसले गरेको घर खेत वरपरका रूख काट्ने निर्णयले वातावरण विनाश हुने चिन्ता धेरैले गरे।
“वास्तवमा हाम्रो निर्णयलाई गलत रूपले बुझियो। हामीले ल अब रूख काट्न खुला भनेर निर्णय गरेका होइनौँ। केवल निजी जमिनका चिलाउने, कटुसजस्ता कुकाठहरू काट्ने भनेको हो। त्यो पनि प्रक्रिया बमोजिम जिल्ला वन कार्यालयको सिफारिसले मात्र काट्ने भनेको हो,” वडा १९का अध्यक्ष पुष्पेन्द्र पाण्डेले भन्नुभयो।
तर सो निर्णयपछि उपभोक्तालाई निकै राहत मिलेको उहाँले बताउनुभयो।
“पहिले त रूख माथिबाट गिज्याउँथ्यो, गुलेली हान्दा पनि छक्काउँथ्यो र मान्छेले एक्लै धपाउन खोज्दा उल्टै कोपर्न खोज्थ्यो। अब अहिले त्यो ठाउँ सम्म हुँदा एउटा दाउरा लिएर लखेट्दा पनि भाग्छ,” पाण्डेले भन्नुभयो।
केही स्थानीय किसानहरूले पनि समथर ठाउँमा बाँदर धपाउन सजिलो भएको बताएका छन्।
“लगाएको खेती पाकेर खाने बेला लुछेर लैजान्छ। घरैभित्र पसेर पाकेको भात खाइदिन्छ। अति नै आतङ्क भइसकेको छ। त्यसैले राज्यले केही गर्नै पर्छ,” स्थानीय बासिन्दा रिता गौतमले भन्नुभयो।
पैयूँले खटाउने भो बाँदर हेरालु
पर्वत जिल्लाको पैयूँ गाउँपालिकाले चाहिँ यही वैशाखदेखि तीन महिनासम्मको लागि तलबै दिएर बाँदर हेरालु खटाउन लागेको छ।
उक्त गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी मतदाताहरूले अरू केही होइन बाँदर नियन्त्रण गरिदिए चुनाव जिताउने भन्न थालेको हाँसेर सुनाउनुभयो।
बाँदर नियन्त्रण आफ्नो पालिकाको लगभग उच्च प्राथमिकताको विषय बनेको भन्दै उहाँ पछिल्लो निर्णयले किसानहरूलाई सघाउ पुग्ने विश्वासमा हुनुहुन्छ।
“हामीले यहाँको सातै वडामा प्रत्येकमा पाँच(पाँच जनाको दरले ३५ जना हेरालु खटाउँछौँ। उनीहरू प्रत्येकलाई तीन महिनाको लागि २० हजार रुपैयाँ दिइनेछ। उनीहरूले बिहानदेखि बाँदरका बथानहरू पहिचान गरेर तिनलाई पछ्याउने छन्। ताकि कुनै बस्ती वा खेत नजिक ती आउने बित्तिकै गाउँलेलाई खबर पुग्छ र बाँदर धपाइन्छ,” ठकुरीले भन्नुभयो।
गाउँपालिकाको निर्णयप्रति पैयूँवासीहरू पनि आशावादी नै देखिए।
“मैले यसपालि अब मकै नछर्ने सुर कसिसकेकी थिएँ। तर पालिकाले हेरालु खटाउने भनेपछि केही रहन्छ कि त भन्ने आशामा छर्न लागेकी छु,” पैयूँ सौरीकोटकी राधा न्यौपानेले भन्नुभयो।
पाणिनीमा भोटे कुकुर वितरण
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका कृषिको उर्वर भूमि हो।
त्यहाँ पशुपालनको पनि निकै विकास भएको छ।
तर केही समययता बाँदरको उपद्रव बढेपछि नियन्त्रणका लागि पालिकाले भोटे कुकुरका छाउरा वितरण अभियान थालेको छ।
“अहिले हामीले वडा २ मा ७ वटा छाउरा वितरण गरिसकेका छौँ। यसले केही न केही सहयोग हुने हाम्रो विश्वास छ। यसको प्रभावकारिता पनि हामी हेर्नेछौँ,” पाणिनी गाउँपालिकाकी उपाध्यक्ष नर्मदा गौतम पौडेलले भन्नुभयो।
विगतमा उक्त पालिकाले किसानहरूलाई प्लास्टिकको बन्दुक अनि भारतबाट मगाएर बाँदरलाई विकर्षण गर्न रासायनिक झोल पनि प्रयोग गरेको उहाँले सुनाउनुभयो।
स्थानीय तहबाट वितरित भोटे कुकुरको छाउरा अहिले त्यहाँको पोखराथोक गाउँका रामराज गौतमको घरमा पनि बाँधिएको छ।
“अहिले यो सानै छ। यसलाई हामीले प्रशिक्षण दिन सक्यौँ भने पक्कै पनि बाँदरलाई धपाउन यसले सघाउनेछ,” उहाँले भन्नुभयो।
गाउँमा अचेल तीन तिरबाट बाँदरका बगाल आउने र मान्छेलाई समेत चिथोर्ने गरेको उहाँले सुनाउनुभयो।
बाँदर धपाउने मेसीन कस्तो ?
देशभरिका किसानहरूलाई मद्दत गर्न राष्ट्रिय कृषि इन्जिनियरिङ् अनुसन्धान केन्द्रले बाँदर धपाउने मेसिन पनि बनाएको छ। रासायनिक प्रतिक्रिया गराएर ठूलो आवाजमा पड्कने उक्त बन्दुकले बाँदरबाट राहत दिने केन्द्रको भनाइ छ।
“बाँदरको कारणले कतिपय पहाडी भेगमा खेती योग्य उर्वर जमिन बाँझो रहने क्रम बढ्दो छ। बाँदर वन्यजन्तु भएको हुनाले यसलाई मार्न पाइँदैन र यसबाट जोगिन यसलाई धपाउने नै मुख्य उपाय हो,” केन्द्रले उल्लेख गरेको छ।
तर त्यस्ता मेसिन प्रयोग गर्ने किसानहरू चाहिँ त्यसले केवल थोरै समयका लागि राहत दिने बताउँछन्।
बाँदर धपाउन कस्ता उपाय अपनाइने गरिन्छ भन्ने प्रश्नको उत्तर खोज्दा धेरै रोचक प्रसङ्गहरू पनि भेटिन्छ।
वरिष्ठ कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले सन् १९९० को दशकमा लुम्लेस्थित कृषि केन्द्रमा रहेका ब्रिटिश कृषि अनुसन्धानकर्ताहरूले अपनाएको तरीका स्मरण गर्नुभयो।
बाँदरले कृषि केन्द्रमा ज्यादै दुःख दिएपछि ती ब्रिटिश अनुसन्धानकर्ताहरूले आफ्ना सुरक्षाकर्मी खटाएर बाँदरको बथानको नाइकेलाई समाएछन्। र, उक्त नाइके बाँदरलाई रङ्गीबिरङ्गी इनामेल पोतिदिएछन् र घाँटीमा घण्टी झुण्ड्याइदिएछन्।
उसलाई देखेर उसको बथानका बाँकी सदस्य बाँदरहरू डरले भाग्न खोजेको उहाँ सम्झनुहुन्छ ।
“सात आठ दिनसम्म ती बाँदर देखा नपरेपछि ल अब समस्या समाधान भयो होला भन्ठानेको त फेरि उही नाइकेको नेतृत्वमा त्यो बथान आइपुग्यो। शायद केही दिनमा ती बाँदर तिनका नाइकेको रूपमा अभ्यस्त भइसकेछन्,” कार्कीले सुनाउनुभयो ।
बाँदर नियन्त्रण प्रयासका अन्य नानाथरी उपाय
- ठूलो आवाज आउने बन्दुक पड्काउने, ढ्वाङ ठटाउने – सुरु सुरुमा अनि एकै छिनका लागि काम गरे पनि स्थायी समाधान नभएको
- गन्ध आउने रसायन – ट्राइमिथाइलअमिन जस्ता कडा गन्ध आउने रसायन छर्कने। यसले पनि स्थायी समाधान नदिने
- गुलेली – गुलेली लिएर लखेट्ने। एक छिनलाई राहत
- हुल बाँधेर लखेट्ने – एकातिर लखेट्दा अर्कातिरबाट फेरि आउने डर कायमै
- कुकुर पाल्ने – कुकुरसँग पनि पछि नडराउने
- रूख काट्ने – वातावरण संरक्षणको हिसाबले अमिल्दो। सही समाधान नभएको
- एक ठाउँमा थुनेर राख्ने – पक्राउ गर्न गाह्रो हुने र पछि फेरि व्यवस्थापन गर्न जटिलता
- जनावरका पुत्ला देखाउने – बाघजस्ता जनावरका पुत्लाबाट बाँदर केही समयका लागि डराए पनि पछि अभ्यस्त हुने
के भन्छन् विज्ञ ?
अचेल देशभरिमा धेरै दुस्ख दिने प्रजातिको बाँदरको वैज्ञानिक नाम मकाका मुलाटा हो। त्यसलाई बोलीचालीको भाषामा राते बाँदर भनेर चिनिन्छ।
कतै कतै चाहिँ लङ्गुर बाँदरले पनि नोक्सानी गरेको पाइन्छ।
राते बाँदरले हुल बनाएर हिँड्ने हुँदा त्यसलाई कतिले हजारिया पनि भन्ने गरेको बाँदरसम्बन्धी विज्ञ डा मुकेश चालिसेले बताउनुभयो।
बाँदर निकै चेतनशील, बाठो र समूहमा रहने प्राणी हो। “यिनीहरू पनि मानिसजस्तै वंश वंशमा छुट्टिएर बस्छन्। उदाहरणका लागि पशुपति र स्वयम्भूमा सात-आठ वंशका छन् भने थापाथलीमा दुई वंशका छन्,” उहाँले भन्नुभयो।
चेतनशील भएकाले उसले कम श्रम लाग्ने र सहज रूपमा पाइने आहारा खोज्ने बताइन्छ।
“अन्नमा मकै, अमिलो बाहेकका केराजस्ता फलफूल उसको प्रिय हो,” कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले भन्नुभयो।
“तरकारीमा मन पर्ने चाहिँ मूला हो। अचेल त काउली र बन्दा पनि खान्छन्। सजिलै पचाउन सकिने र धेरै मात्रामा एकै चोटि खान सकिने आहारा तिनले खोज्छन्। वर पिपलको दाना पनि तिनले निकै मन पराउँछन्। पहिले पहिले जङ्गलमा हुने तिजु, चुत्रो जस्ता फल खान्थे। तर अचेल वरपिपल पनि छैनन्। उत्तिस, सल्लो धेरै रोपिन्छन् तर सल्लोको वनमा अरू कुनै फलफूल हुँदैन। त्यसैले बस्तीतिर पस्न थाले।”
केही समययता राते बाँदरको सङ्ख्या निकै बढेको र लाख नाघेको भन्दै डा चालिसेले त्यसको कारण पनि बताउनुभयो।
“राते बाँदर आफैँमा संरक्षित जनावर पनि होइन। तर संरक्षणको उसले अतिरिक्त लाभ पाइरहेको देखिन्छ। नेपालमा अहिले २७ थरी जनावर मात्र संरक्षित हुन्। अरू होइनन् र अरूको हकमा तिनले समस्या पैदा गरेमा हटाउन पाइने भन्ने नै छ,” उहाँले भन्नुभयो।
“मान्छे खाने बाघ वा जङ्गली हात्तीले समस्या पार्यो भने चाहिँ तिनलाई पक्रने, मार्ने सम्म गरिन्छ। तर बाँदरलाई छुँदै नछुने भएपछि यो समस्या झन् झन् बल्झिएको छ,” उहाँले भन्नुभयो ।
किसानलाई दुःख दिएकै कारणले बँदेललाई भने सरकारले गएको मंसिरमा राजपत्रमा सूचना नै निकालेर ‘सानो जातको बँदेल बाहेकको जङ्गली बँदेललाई आगामी एक वर्षसम्मका लागि कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ।
बाँदरलाई चाहिँ सांस्कृतिक, धार्मिक तथा कानुनी हिसाबबाट पनि संरक्षण प्राप्त छ।
तर गाउँमा अचेल सक्रिय जनशक्ति कमी हुँदा रखवारी गर्न र धपाउन पनि मान्छे कम भएको चालिसेले बताउनुभयो ।
“विगतमा घर लौरी एकएक जनाले मात्रै पनि हाहा र हुहु गर्दा बाँदर भाग्थे। अहिले त्यो श्रम शक्ति पनि रहेन।”
वृद्धवृद्धा, केटाकेटी वा महिलालाई बाँदरले चिन्ने र नटेर्ने पनि उहाँले बताउनुभयो।
के होला दिगो समाधान ?
बाँदरको समस्या बढ्दै गएपछि संसद्को कृषि समितिले सदस्यहरूलाई भारतमा अवलोकन भ्रमण पठाउने तयारी गरेका समाचार आएका थिए।
दुई साता जति अगाडि समितिकै पहल र भारतीय सरकारको सहयोगमा पशु चिकित्सकहरूको टोली भारतको हिमाचल प्रदेशको भ्रमणमा गएर फर्किएको छ।
त्यहाँ नेपालभन्दा पनि ठूलो समस्या रहेको आफूहरूले पाएको र त्यसको नियन्त्रण पनि सफलतापूर्वक भइरहेको देखिएको सो टोलीका एक सदस्य पशु चिकित्सक बब्लु ठाकुरले बताउनुभयो।
“त्यहाँ सरकारले बाँदरलाई कुनै समय भर्मिन वा हानि पुर्याएमा मार्न पनि सकिने गरी कानुन बनाएको रहेछ। तर अहिले भने त्यसलाई भर्मिन भनिँदो रहेनछ। अचेल शिमलामा मात्र सात वटा बाँदर बन्ध्याकरण केन्द्र खोलिएको रहेछ,” ठाकुरले भन्नुभयो।
“गएको पाँच सात वर्षमा झन्डै २ लाख बाँदरको बन्ध्याकरण गरिसकिएको रहेछ। त्यसले तिनको सङ्ख्या नियन्त्रणमा निकै प्रभावकारी भएको त्यहाँका अधिकारीहरूले बताए।”
त्यस्तै काम नेपालमा गर्न उनले तीन वटा चुनौती देखेका छन्। एक त त्यसका निम्ति अनुकूल कानुन, दुई तालिमप्राप्त जनशक्ति र उपकरण अनि तेस्रो सही व्यवस्थापन।
“त्यसो हुन सक्यो भने हामीले पनि दिगो समाधान पाउन सक्छौँ,” ठाकुरले बताउनुभयो।
अर्को उपाय भनेको बाँदरलाई विदेशी मुलूकमा निर्यात गर्न सकिने डा मुकेश चालिसेको सुझाव छ।
“राते बाँदर भनेको वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि साइटिसको साइटिस टु सूचीमा पर्छ। अर्थात् कुनै देशले लैजान्छु भन्यो भने दिनलाई कुनै कानुनले रोक्दैन। यसको उपयोग औषधि विज्ञान अनुसन्धानका लागि हुन्छ। भारत, चीन, बाङ्ग्लादेशमा यिनको प्रयोग भएका छन्,” डा चालिसेले भन्नुभयो, “बाघ, हात्ती, गैँडाचाहिँ अरू देशलाई उपहार दिन मिल्ने तर मान्छेलाई दुस्ख दिने बाँदरलाई पठाउन नमिल्ने भन्ने त हुँदैन होला। ”
विगतमा पशु अधिकारवादीहरूले बाँदरको निर्यातको विषयको चर्को विरोध गरेका थिए।
जीवित वन्यजन्तुको निर्यात वा विक्रीवितरणले तिनको अधिकार हनन हुने तथा यस्ता काम अमानवीय हुने उनीहरूको तर्क छ।
“हामीले उनीहरूको घर (जङ्गल) मास्दै गएपछि स्वाभाविक रूपमा उनीहरू खानाका लागि आउने भए। यसको दोष मानिस नै हुन्,” पशु अधिकारवादी स्नेहा श्रेष्ठले भन्नुभयो।
“उनीहरूलाई मार्न पाउनु पर्छ भन्ने कुरा गलत हो। अनि पशुको प्रयोग अनुसन्धानमा गर्न पाउनु पर्छ भन्ने पनि विश्वभरिका पशु अधिकारवादीहरूले विरोध गर्दै आएको कुरा हो। हामी यसको विरोध गर्छौँ,” उहाँले बताउनुभयो।
बन्ध्याकरणले सङ्ख्या नियन्त्रण हुने भए पनि त्यो व्यावहारिक नदेखिएको भन्दै उहाँले भन्नुभयो, “एक त बाँदरलाई समाउन नै गाह्रो छ। अनि १० जना पशु डाक्टरलाई खटाएर यसो गर्नु म त्यति सम्भव देख्दिनँ।”
खानाकै लागि बाँदर बस्ती पसेको हुनाले जङ्गलमै उसलाई हुने फलफूलका बोटबिरुवा उपलब्ध गराउनु सबभन्दा सही समाधान हुने श्रेष्ठले बताउनुभयो।
“हामीले वृक्षारोपण गर्दाखेरि फलफूलका बोट नछुटाइ रोप्नु पर्छ।”
बस्तीभन्दा पर जङ्गलमै रैथाने फलफूलका बोटबिरुवा रोपिदिने हो भने बाँदर खेतमा पस्न उत्सुक नहुने विज्ञहरूको भनाइ छ।
बाँदरले मन नपराउने कागती, अमिलो जातका फलफूल, टिम्मुरजस्ता बाली लगाए पनि तिनको बदमासीबाट छूट्कारा पाइने ठानिन्छ।
अर्को दिगो समाधानको उपाय चाहिँ मानिसहरूलाई गाउँ फर्कने वातावरण निर्माण नै हुने कृषि वैज्ञानिक श्रीमत श्रेष्ठको सुझाव छ।
“मानिसहरू गाउँ ठाउँमा फर्किएर त्यहाँ फैलिए भने बाँदर आफैँ खुम्चिन्छ,” उहाँले भन्नुभयो।
तर यस्ता दीर्घकालीन समाधान स्वीकार गर्ने र त्यसका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने कार्य हाल तीनै तह सरकारहरूमा भैरहेको नदेखिएको पीडितहरूले बताएका छन्।
(कास्की, पर्वत र अर्घाखाँचीबाट फर्र्कर)


















