सगरमाथा आधार शिविर(सोलुखुम्बु), २ जेठ । नेपाली सगरमाथा आरोही कामीरिता शेर्पाले बुधबार विश्वको सर्वोेच्च शिखर सगरमाथाको २२ औं पटक सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । बुधबार एकैदिन विभिन्न आरोहण दलका ९४ जना सदस्यलाई सगरमाथाको शिखर चुम्ने सफलता प्राप्त भएको छ ।
खुम्बु पासाड.ल्हामु गाँउपालिकाका ४८ बर्षीय कामीरिता शेर्पाले बुधबार बिहान ८ : ३० बजे सगरमाथाको शिखर चुमेका थिए । यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पा फूर्वा तासी शेर्पा र उनको आफ्नै विश्व कीर्तिमानी तोडेका छन्। उनले सन् १९९२ देखि सगरमाथा आरोहण सुरु गरेका हुन्। उनले सन् १९९४ मे १३ मा सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए।
नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले सगरमाथा आधार शिविरबाट दिएको जानकारी अनुसार आरोहणको तेस्रो दिन मंगलबार मौसम प्रतिकूलताका कारण कुनैपनि आरोहण नभएपनि चौथो दिन बुधबार मौसममा सुधार आएसँगै आरोहण सफल भएको हो।
बसन्त ऋतुको सगरमाथाको आरोहण बैशाख ३० देखि आरोहण सुरु भएको थियो।
पहिलो दिन बाटो निर्माण गर्दै गएका ८ जना शेर्पा गाइडले एकैपटक शिखर चुमेका थिए।
यस्तै, दोस्रो दिन विभिन्न समूहबाट गएका ३९ जना आरोही शिखरमा पुगेका थिए।
तेस्रो दिन प्रतिकूल मौसमका कारण आरोहण नभए पनि चौथो दिन ९४ जनालाई सगरमाथाको शिखर पुग्ने सफलता प्राप्त भएको छ ।