काठमाडौं, २ जेठ । बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको स्थायी समिति बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषय पास गरेको छ।
रातभर अन्य कुनै समस्याको बीउ उम्रिएन भने भोलि बिहिबार नै एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने दुवै पार्टीको तयारी रहेको छ ।
बिहिबार हुने केन्द्रीय कमिटि बैठकको पूर्व तयारी र पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डाबारे अध्यक्षहरुको ब्रफिङ सुन्न भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार एमाले स्थायी समिति बैठक बसेको थियो।
बैठकले पार्टी एकताको विषयलाई पास गरेको हो।
स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समितिलाई बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग विना सहयोगी एकापसमा गरेको बैठकको ब्रिफीङ गरेका थिए।
बैठकमा अध्यक्ष ओलीले एकीकृत पार्टीमा ४ सय ४१ सदस्यीय केन्द्रीय समिति र ४३ सदस्यीय स्थायी समिति बनाउने समझदारी भएको जानकारी गराए।
‘केन्द्रीय समितिमा २ सय ४१ जना एमालेबाट र २ सय जना माओवादीबाट सदस्य रहने समझदारी दुई नेताबीच भएको थियो।
एकीकृत पार्टीको स्थायी समितिमा एमालेबाट २५ जना र माओवादीबाट १८ जना सदस्य रहने सहमति भएको छ।
दुई नेताहरुबीच महाधिवेशनबाट नेतृत्व चयन, सैद्धान्तिक विषय र सांगठनिक संरचना सहमतिबाट टुंग्याउने समझदारी भएको थियो ।
उनीहरुबीचका समझदारीलाई स्थायी समितिले पास गरेको छ ।
बिहिबार १० बजे एमाले माओवादी एकता संयोजन समितिको बैठक बस्ने भएको छ।
उक्त बैठक पछि दुई अध्यक्षबीच भएको समझदारी लिखित रूपमा पनि सार्वजनिक हुनेछ।
संयोजन समितिको बैठक अघि भने दुवै नेताले नेकपा एमालेको बल्खुस्थित भत्केको पुरानो कार्यालय परिसरमा रहेको स्वर्गीय नेता मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने छन्।
जेठ ३ गतेलाई एमालेले मदन भण्डारी स्मृति दिवसको रुपमा मनाउदै आएको छ ।
२०५० जेठ ३ गते एमालेका तात्कालिन महासचिव मदनभण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सवार जिप पोखराबाट नारायणगढ जाने क्रममा जुगेडी नजिक दासदुंगामा दुर्घटना हुँदा दुवै नेताको निधन भएको थियो । भोलि मदन भण्डारीको स्मृति दिवस हो।
पार्टी एकताबारे छलफल गरी निर्णय लिन माओवादी केन्द्रको केन्द्रीय सचिवालयको विस्तारित बैठक अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको थियो। बैठका अध्यक्ष दाहालले पार्टी एकताका निम्ति प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा एकापसमा भएको सहमतिको खाका प्रस्तुत गरेका थिए ।