Prakash Adhikari May 27, 2024

 

रफाह(प्यालेष्टाइन), १४ जेठ(बीबीसी) । रफाहस्थित एउटा शरणार्थी शिविरमा आइतवार भएको विस्फोटनमा दर्जनौँ मानिसहरू हताहत भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ(ले रफाहमा हमासले प्रयोग गरेको एउटा ठाउँलाई निसाना बनाउँदै हमला गरिएको जनाएको छ। आईडीएफले उक्त घटनाको समीक्षा भइरहेको जनाएको छ।

त्यसअघि हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो। ज्यानुअरी महिनायता हमासले उक्त इजरेली सहरमा गरेको पहिलो लामो दूरीको आक्रमण हो।

दक्षिणी गाजा स्ट्रिपबाट प्राप्त भिडिओमा ठूलो विस्फोटन भएको र आगो लागेको देखिन्छ।

हमासले रफाहको पश्चिमोत्तर भागमा भएका विस्थापित प्यालेस्टिनीहरूको शिविरमाथि हवाई हमला गरिएको जनाएको छ। उक्त क्षेत्र हालै सैन्य कारबाही भएका ठाउँभन्दा पर सुरक्षित क्षेत्र तोकिएको ठाउँमा पर्ने हमासको भनाइ छ।

मृत्यु हुनेमा महिला र बालबालिका रहेको हमासले जनाएको छ।

इजरायली सेना के भन्छः

आईडीएफले उक्त क्षेत्रमा हमासका लडाकुलाई निसाना बनाइएको र त्यसका लागि निश्चित ठाउँमा प्रहार गरिएको जनाएको छ।

आईडीएफले पश्चिमोत्तर रफाहमा गरिएको आक्रमणमाहमासका दुई वरिष्ठ नेताहरू मारिएको आईडीएफएको दाबी छ। हमासको स्वास्थ्य मन्त्रालयले एउटा इजरेली आक्रमणमा ३५ जनाको मृत्यु भएको र अरू दर्जनौँ मानिस घाइते भएको जनाएको छ।

मृतकको सङ्ख्या बढ्ने सम्भावना भएको विवरणहरू आएका छन्।

इजरायली हवाई हमलाका कारण लागेको आगोले सर्वसाधारणलाई हानि पुगेको विवरणबारे आफू अवगत रहेको आईडीएफले जनाएको छ। उक्त घटनाबारे समीक्षा भइरहेको उसको दाबी छ।

शुक्रवार ुइन्टर्न्याश्नल कोर्ट अफ जस्टिसु (आईसीजे)ले इजरायललाई रफाहमा आक्रमण रोक्न भनेको भए पनि इजरायलले सैन्य कारबाही जारी राखेको छ।

हमासबाट कस्तो खतरा

त्यसअघि आइतवार मध्यइजरेलमा रफाहनजिकैबाट हमासले रकेट गर्दा तेल अभिभनजिकै रहेका क्षेत्रमा चेतावनी दिन साइरन बजाइएको थियो।

हमासले प्रहार गरेका रकेटहरूलाई या त हवाई प्रतिरक्षा प्रणालीले निस्तेज पारिदिएका थिए वा ती खुला ठाउँमा खसेका थिए।

हमासले गरेको रकेट हमलाका कारण इजरायलपट्टि कोही हताहत भएका विवरण नआएको भए पनि इजरालीमा अझै हमासबाट खतरामा रहेको देखिन्छ।

अहिले इजरायली सेना हमासलाई सखाप पार्न भन्दै दक्षिणी गाजातर्फ अघि बढिरहेको छ। उक्त क्षेत्र हमासको पकडमा रहेको अन्तिम ठाउँ भएको उसको दाबी छ। तर हमासले तेल अभिभतिर गरेको रकेट आक्रमणले इजरायली सेनाले कस्ता चुनौती खेप्नुपर्छ भन्ने सङ्केत गर्छ।

वार्ता के हुँदै छ ?

अर्को साता पुनः इजरायल र हमासबीच युद्धविरामसम्बन्धी वार्ता सुरु हुने अपेक्षा भइरहँदा यी घटनाहरू भएका हुन्।

हमासको सैन्य एकाइले नागरिकहरूको नरसंहारको प्रत्युत्तर दिन आफूले आक्रमण गरेको जनाएको छ।

रफाहमा तीन साताअघि इजरायलले लामो समयदेखि गर्ने भन्दै आएको सैन्य आक्रमण सुरु गरेको हो। इजरायलले त्यहाँ हमासद्वारा बन्धक बनाइएका आफ्ना नागरिकहरूलाई राखिएको जनाएको छ।

उक्त सैन्य कारबाही सुरु भएयता आठ लाखभन्दा धेरै प्यालेस्टिनीहरूले रफाह छाडेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

गाजामा अन्यत्र लडाइँ हुँदा भागेर आएका झन्डै १५ लाख मानिसले रफाहमा शरण लिएका थिए।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा १ हजार २ सय जनाको ज्यान जाने र अन्य २ सय ५२ जनालाई बन्धक गराउने गरी हमासका लडाकुहरूले आक्रमण गरेका थिए। त्यसलगत्तै इजरायलले गाजामा हमला सुरु गरेको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य कारबाहीमा अहिलेसम्म गाजामा झन्डै ३६ हजार प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ।

Share Now