काठमाडौं, १४ जेठ । गण्डकीको सत्ता फेरी पल्टिने भएको छ । सर्वोच्च अदालतले ४८ घण्टाभित्र गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश दिएको छ ।
गण्डकीको मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाको बहुमत नपाउनु भएको विषयमा परेको रिटमा सोमबार न्यायाधीशद्धय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले सुनुवाइ गर्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएकाले पदमुक्त हुने फैसला सुनाएको हो ।
सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले ६० सदस्यीय प्रदेशसभामा ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको घोषणा गरेपछि उक्त कदम असंवैधानिक भन्दै कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दिनुभएको थियो ।
‘६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि न्यूनतम ३१ सदस्यको आवश्यकता पर्नेमा ३० सदस्यकै समर्थनमा प्रस्ताव बहुमतबाट पास भएको भनी प्रदेशसभाका सभामुखबाट भएको घोषणा नेपालको संविधानको धारा १८८ को उपधारा ३ विपरीत रहेको हुँदा गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले पेश गर्नुभएको विश्वासको मत बहुमतले पास भएको भनी गण्डकी प्रदेशसभाका सभामुखबाट २०८१ ।०१ ।२३ मा गर्नुभएको घोषणा उत्प्रेषणको आदेशले बदर गरिदिएको छ’, सर्वोच्चले सोमबार सार्वजनिक गरेको संक्षिप्त फैसलामा भनिएको छ ।
सर्वोच्च अदालतले मुख्यमन्त्रीमा नियुक्त खगराज अधिकारी विश्वासको मत पाउन नसकेर पदमुक्त भएको भन्दै यो आदेश पाएको ४८ घण्टाभित्र संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको ठूलो दलको संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।