Prakash Adhikari June 13, 2024

 

काठमाडौं, ३१ जेठ । साताको अन्तिम कारोबार दिन नेपालको शेयर बजार थोरै ओरालो लागेको छ । तर यो साताका तीन दिन शेयर बजेकोले नाफा बुक गर्न खोज्दा कारोबार भने बढेको छ। यस दिन नेपाल स्टक एक्सचेञ्जमा ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। नेप्सेमा करिब ५ महिनापछि ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो।

 

यस अघि गत माघ ८ गतेका दिन नेप्सेको कारोबार रकम ६ अर्ब नाघेको थियो। सो दिन नेप्सेमा ६ अर्ब ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। यस दिन भने नेप्सेमा ३ सय १३ स्टकको १ करोड ४२ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्रीबाट ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार नेप्से परिसूचकमा भने सामान्य करेक्सन देखिएको छ। पछिल्ला तीन कारोबार दिनदेखि बढीरहेको बजारमा यस दिन सामान्य करेक्सन देखिएको हो। यस दिन नेप्से परिसूचक ९।३२ अंक घटेर २११२।२९ विन्दुमा झरेको छ।

नेप्से घटेपनि यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समृद्धि फाइनान्स र कुथेली बुखरी स्मल हाइड्रोपावर र साधना लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक र बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मिड सोलु हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २८ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे २० करोडको शेयर किनबेच भएको छ। यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको समृद्धि फाइनान्सको भने साढे १७ करोडको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशत बढेको हो भने विकास बैंक उपसमूहको १।३१ प्रतिशत बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत घटेको छ।

Share Now