Prakash Adhikari June 24, 2024

 

बर्लिन(जर्मनी), १० आषाढ । यूरो कप २०२४ अन्तरगत आइतबार राति भएको समूह ए खेलमा प्रतिस्पर्धा गरेका जर्मनी र स्विटजरल्यान्ड दुवै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

आइतबार राति सम्पन्न खेलमा आयोजक जर्मनी र स्विजरल्याण्डले बराबरी खेल्दै अंक बाँडेका थिए।
अंक बाँडिएपछि यो समूहबाट ३ खेलमा ७ अंक जोडेको जर्मनी शीर्ष र समान खेलबाट ५ अंक बनाएको स्विटजरल्यान्ड दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेका हुन्।

समूह ए बाट हंगेरी र स्कटल्यान्ड भने समूह चरणबाटै बाहिरिएका छन्।

हंगेरीले समूह चरणमा पहिलो जित हासिल गर्दै ३ अंकसहित तेस्रो स्थानमा रहँदै युरोकप यात्रा समाप्त गरेको छ।

स्कटल्यान्ड भने जितविहीन बनेर अंकतालिकाको पुछारमा रहँदै बाहिरियो।

अन्तिम समयमा स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित हात पारे पनि हंगेरी युरो कप २०२४ को समूह चरणबाट माथि उक्लन सकेन ।

आइतबार राति भएको समूह एको अन्तिम खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलअन्तरले हराएको थियो ।

खेलको १००औँ मिनेटमा केभिन कासोबोथको गोलमा हंगेरीले युरोकपमा रोमाञ्चक जित हासिल गरेको हो।

निर्धारित समय गोलरहित बराबरी भएको खेलमा इन्जुरी समयको १००औँ मिनेटमा हंगेरीले गोल गर्दै यूरोकपको सुखद अन्त्य गरेको थियो।

 

Share Now