बर्लिन(जर्मनी), १५ आषाढ(एजेन्सी) । युरो कप २०२४ को नकआउट चरण आजदेखि सुरु हुँदैछ । अन्तिम १६मा पुगेका देशहरुबीच हुने यस चरणका खेलमा आज दुई खेल हुँदै छन् ।
नेपाली समूह अनुसार ९ः४५ बजे बर्लिनमा हुने पहिलो प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्ड र इटाली भिड्ने छन् । दुवै टोलीले आआफ्ना समूहमा दोस्रो स्थान हासिल गरेका थिए ।
स्विट्जरल्यान्ड समूह ए को उपविजेता रह्यो । पहिलो खेलमा हंगेरी विरुद्ध ३-१ को जित हासिल गरेको स्विट्जरल्यान्डले दोस्रो र तेस्रो खेलमा क्रमशः स्कटल्याण्ड र जर्मनी विरुद्ध १-१ को बराबरी खेलेको थियो ।
उता इटाली समूह बि मा दोस्रो रह्यो । अल्बानिया विरुद्ध २-१ को जित पश्चात स्पेन विरुद्ध १-० ले पराजित इटाली अन्तिम खेलमा क्रोएसिया विरुद्ध १-१ को बराबरी खेल्दै समूहमा दोस्रो भएको थियो । सो बराबरी इटालीले इन्ज्युरी समयको आठौ मिनेटमा गोल गर्दै गरेको थियो ।
यस्तै आजै हुने दोस्रो प्रिक्वाटरफाइनलमा घरेलु टोली जर्मनी र डेनमार्क राती १२:४५ बजे भिड्दैछन् । जर्मनी समूह ए को विजेता रहेको थियो । जर्मनीले स्कटल्याण्ड विरुद्ध ५-१ को फराकिलो जीत निकाल्दा हंगेरीलाई २-० ले पराजित गर्यो । तेस्रो खेलमा भने जर्मनी स्विट्जरल्यान्ड विरुद्ध १-१ को बराबरीमा रोकिएको थियो ।
उता डेनमार्क समूह सि को उपविजेता हो । डेनमार्कले समुहमा इङ्ल्यान्ड, स्लोभेनिया र सर्बिया गरी तीन वटै खेलमा बराबरी झेल्दै दोस्रो भएको थियो । स्लोभेनियासँग गोलअन्तर र प्रहार गरेको गोल भएपछि पाएको पहेंलो कार्डका आधारमा डेनमार्क दोस्रो भएको थियो ।