Prakash Adhikari June 29, 2024

 

ब्रिजटाउन(बार्बाडोस,वेष्ट इण्डिज), १५ आषाढ(एजेन्सी) । आइसीसी टी २० विश्वकप २०२४ को फाइनल खेल बार्बाडोसको ब्रिजटाउनस्थित क्रिकेट मैदानमा सुरु भएको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिका विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

फाइनलमा दुवै टोलीले कुनै परिवर्तन गरेका छैनन् । सेमिफाइनलमा जित हासिल गरेका टोली नै फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

भारतले कप्तान रोहित शर्माको नेतृत्वमा विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, शिभम दुबे, हार्दिक पन्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, अर्शदिप सिंह, कुलदीप यादव र जसप्रित बुम्राहलाई मैदानमा उतारेको छ ।

दक्षिण अफ्रिकाले क्विन्टन डीकक, रिजा हेन्ड्रीक्स, एइडन मार्क्रम, ट्रीस्टन स्टब्स, हैनरिक क्लासेन, डेविड मिलर, मार्को यानसन, केशव महाराज, कागिसो रबाडा, एनरिच नोर्टजे र तब्रेज शम्शीलाई मैदानमा पठाएको छ ।

आईसीसी पुरुष टी २० विश्वकप २०२४ मा यी दुई टोली मात्र अपराजित रहँदै फाइनलमा आइपुगेका हुन् ।

दक्षिण अफ्रिकाले खेलेका सबै ८ खेल जितेको थियो। समूह चरणमा क्यानाडा सँगको खेल रद्द भए बाहेक भारतले पनि खेलेका सबै खेल जितेको थियो।

दक्षिण अफ्रिका आइसीसी प्रतियोगिताको पहिलो उपाधिका लागि चुनौती पेश गर्दैछ। भारत ११ वर्षयताको उपाधि खडेरी तोड्ने योजनामा छ ।

सन् २००७ मा दक्षिण अफ्रिकामै आयोजना भएको पहिलो संस्करणको विजेता भारत २०१४ को फाइनलमा श्रीलंकासँग पराजित भएको थियो ।

दक्षिण अफ्रिका सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै पहिलो पटक आइसीसी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।आईसीसी टी २० विश्वकपमा भारतको यो तेस्रो फाइनल हो ।

भारतले सुपर ८ मा एकदिवसीय विश्वकप च्याम्पियन अष्ट्रेलियालाई हराएको थियो। सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई पराजित गरेको थियो।

Share Now