Prakash Adhikari July 26, 2024

काठमाडौं, ११ श्रावण । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१ / ८२ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ ।

मौद्रिक नीतिमा अन्तिम छलफल गरी पारित गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज बिहान सञ्चालक समितिको बैठक बोलाउनुभएको छ ।

‘मौद्रिक नीति पास गर्नका लागि शुक्रबार बिहान ८ बजे बैठक बोलाएको छु’ अधिकारीले सञ्चारमाध्यमहरुलाई भन्नुभएको छ।

एक साताअघि नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति रोकिएको थियो । यस बिचमा डा. युवराज खतिवडालाई प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो आर्थिक तथा विकास सल्लाहकार नियुक्त गर्नुभयो । नेपाल राष्ट्र बैंकका गभर्नर रहिसक्नुभएका डा. खतिवडाले आफ्नो सरकारको पालामा आउने मौद्रिक नीति खोटरहित होस् भन्ने चाहनाले त्यसको बारेमा जानकारी लिन खोज्नुभयो । उहाँका सुझावसमेतलाई समेटेर अन्तिम रुप दिँदा मौद्रिक नीति सार्वजनिक गर्ने साइत आज मात्र जुर्न गयो ।

एक साताको समय लगाएर प्रधानमन्त्रीको कार्यालयबाट परिमार्जनसहितको मौद्रिक नीति मस्यौदा आएपछि त्यसलाई नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिले समायोजन गरेर पारित गरिसकेको छ । सो अन्तिम मस्यौदालाई आज बस्ने सञ्चालक समितिको बैठकले छलफल गरी अनुमोदन गर्ने कार्यक्रम छ।

आज सार्वजनिक गरिने मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन केही खुकुलो नीति ल्याउने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ल्याउने यो अन्तिम मौद्रिक नीति भएको र सरकारको नेतृत्व पनि उहाँसंग वैचारिक निकटता रहेको पार्टी नेकपा एमालेको रहेकोले राष्ट्र बैंकले विगतमा जस्तो कठोर मौद्रिक नीति ल्याउदैन भन्ने विश्वास छ ।

 

 

Share Now