काठमाडौं, २१ साउन । भुटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपको विजेता नेपाली महिला टोली र उपविजेत नेपाली पुरुष टोली आइतबार स्वदेश आइपुगेको छ।
कमला पुन र मनिषा चौधरीको जोडीले स्वर्ण पदक तथा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले रजत पदक जितेको थियो।
नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित पदाधिकारीले बिच भलिबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
कमला र मनिषाको जोडीले शनिवार उज्वेकिस्तानलाई २–० को सोझो सेटमा हराउँदै च्याम्पियन बन्न सफल भएको हो । नेपालले २१–१७ र २१–१४ को सोझो सेटमा जित निकाल्यो ।
माल्दिभ्सको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै मान बहादुर श्रेष्ठ र दिल बहादर सुनारको जोडीले दोस्रो स्थान हासिल गरेको हो ।
नेपाली महिला जोडीले पहिलोपटक काभाको बिच भलिबलमा उपाधि जित्न सफल भएको हो ।
बिहीबार सुरु भएको च्याम्पियनसिपमा पुरुषमा १० टोली र महिलामा ७ टोलीको सहभागिता रहेको थियो । महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानको सहभागिता रहेको थियो ।
नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेलेका थिए । पुरुषमा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गरेका थिए ।
दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेका थिए ।