ढाका(बंगादेश), २१ साउन (बीबीसी) । बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि भारत पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताउनुभएको छ।
प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै दिनको अन्त्यसम्ममा कुनै समाधान हासिल हुने पनि बताउनुभएको छ। तर सरकारको नेतृत्व कस्ले गर्ने भन्ने स्पष्ट भएको छैन।
राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्।
हसिनाको विमान सोमबार साँझ दिल्लीको हिन्डन एअरबेसमा अवतरण गरेको विवरण आएका छन्।
उहाँ भारतमा नै बस्नुहुन्छ वा अन्यत्र जानुहुन्छ भन्ने अहिलेसम्म थाहा भइसकेको छैन।
तर कतिपय स्थानीय सञ्चारमाध्यमले उहाँ लन्डन जान सक्ने विवरण प्रकाशन गरिरहेका छन्। तर त्यसको पुष्टि भइसकेको छैन।
यसअघि बीबीसी बाङ्ग्ला र अन्य सञ्चारमाध्यमले प्रधानमन्त्री हसिना आफ्नी बहिनीसँगै हेलिकप्टर चढेर छिमेकी देश भारतको त्रिपुरा राज्यस्थित अगरतलातिर गएकी बताएका थिए। समाचार संस्था एफएपीसँग हसिनासँग निकट स्रोतले यसको पुष्टि गरेका छन्।
ती अधिकारीले एएफपीसँग भने, “उहाँ र उहाँकी बहिनीले गणभवन छाडेका छन् र सुरक्षित ठाउँका लागि हिँडेका छन्। जानुअघि उहाँ आफ्नो वक्तव्य रेकर्ड गराउन चाहनुहुन्थ्यो तर उहाँलाई त्यसको अवसर दिइएन।”
रोएटर्सले सैनिक हेलिकप्टर चढेर उहाँ र उहाँको परिवारका सदस्यहरू भारतका लागि हिँडेको जनाएको छ।
सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो। उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए।
टेलिभिजनमा प्रसारित दृश्यमा प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू छिरेको देख्न सकिन्छ।
केही प्रदर्शनकारीले त्यहाँ लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ। केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको देखिन्छ।
प्रदर्शन गर्न सडकमा पुगेका मानिसहरूले हसिना सत्ताबाट बाहिरिएपछि हर्षोल्लास गरेका छन्।
![]()
ढाकामा रहेका बीबीसी बाङ्ग्लाका संवाददाताहरूका अनुसार प्रदर्शनकारीहरूले गृहमन्त्रीको निवासमा तोडफोड गरेका छन् भने सहरमा ठूलो परिमाणमा लुटपाट भइरहेको छ।
गृहमन्त्रीको निवासबाट धुवाँ निस्केको देखिएको छ। शेख हसिनाका पिता तथा स्वतन्त्र बाङ्ग्लादेशका संस्थापक शेख मुजिबुर रहमानको सालिकमा पनि प्रदर्शनकारीहरूले क्षति पुर्याएका छन्।
बाङ्ग्लादेशको स्वतन्त्रतामा प्रमुख भूमिका निर्वाह गरेका शेख मुजिबुर सन् १९७५ सम्म देशको राष्ट्रपति थिए। त्यही समयमा उहाँको हत्या भएको थियो।
प्रदर्शनकारीहरूले उहाँको सम्मानमा निर्माण गरिएको सङ्ग्रहालयको एउटा भागमा पनि आगो लगाइदिएका छन्।
सेनाको भूमिका कस्तो
सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट ढाकामा हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो।
हसिना पलायन भइसकेपछि आफ्नो सम्बोधनमा बाङ्ग्लादेशका सेनाप्रमुख वकार उज-जामनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको भन्दै अब नयाँ अन्तरिम सरकार गठन गरिने बताउनुभएको छ।
“हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौँ। हामी अब अन्तरिम सरकार गठनको विषयमा राष्ट्रपतिसँग छलफल गर्छौँ। हामीलाई विश्वास गर्नुहोस्,” उहाँले भन्नुभयो।
हसिनाले देश छाडेपछि उहाँले सेनालाई विश्वास गर्न देशवासीलाई आग्रह गर्नुभयो। ठूलो धनजनको क्षति भएको भन्दै उहाँले प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गर्नुभएको छ।
ढाकामा सैनिक

उहाँले आफूले देशका विपक्षी राजनीतिक दलहरूसँग कुरा गरिसकेको भन्दै आजसम्म एउटा समाधान निस्किने अपेक्षा गरेको बताउनुभयो। यद्यपि कसले अन्तरिम सरकारको नेतृत्व गर्छ भन्ने स्पष्ट हुन बाँकी छ।
तर बाङ्ग्लादेशका सेनाप्रमुखले विगत केही सातामा सयौँ जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले गरिरहेको न्यायको माग सम्बोधन गरिने बताउनुभयो।
उहाँले शान्ति सुव्यवस्था कायम सघाउन आग्रह गर्नुभएको छ। उहाँले द्वन्द्वबाट कसैलाई फाइदा नहुने भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ।
नयाँ सरकार गठनका लागि सेनाप्रमुखले राजनीतिक दल र नागरिक समाजका अभियानकर्ताहरूसँग छलफल गरिरहनुभएको छ।
सोमवार बिहानैदेखि ढाका विश्वविद्यालय, बाङ्ग्लादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको थियो।
ढाकानजिकै जात्राबारी क्षेत्रमा सोमवार पनि हिंसात्मक झडप भएका विवरण आएको छ। ढाका ट्रिब्यूनले छ जना मारिएको जनाएको छ भने प्रोथोम आलोले गोली लागेर तीन जनाको ज्यान गएको उल्लेख गरेको छ।
मारिने प्रहरी वा प्रदर्शनकारी को हुन् भन्ने खुलेको छैन।
“विद्यार्थीदेखि रिक्साचालकहरू यदि सबै सहभागी भइरहे भने जनआन्दोलनको रूप लिन सक्छ,” सोमवारको प्रदर्शनतिर सङ्केत गर्दै राजनीतिक विश्लेषक मुबासर हसनले बीबीसीसँग दिउँसो भन्नुभएको थियो ।
“यो आफ्नो कार्यकालमा उहाँले भोगेको सबैभन्दा कडा चुनौती हो। यो कुनै राजनीतिक दलबाट माग गरिएको हैन। जनसङ्ख्याको ठूलो हिस्साबाट आइरहेको आवाज हो।”
अनिश्चितकालीन कर्फ्यू लागेको भए पनि सोमवार बिहानैदेखि राजधानी ढाकामा तनावको अवस्था थियो।
नागरिक अवज्ञामा सहभागी हुन भन्दै दशौँ हजार प्रदर्शनकारीहरू शाहबाग क्षेत्रबाट जुलुस निकालेका थिए। त्यसलाई ढाकासम्मको लामो मार्च भनिएको थियो।
आइतवार ९० जनाभन्दा बढीको मृत्यु
बाङ्ग्लादेशमा हिंसा सुरु भएपछि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको तथ्याङ्क समाचारसंस्था एएफपीले सार्वजनिक गरेको छ। उक्त सङ्ख्या प्रहरी, सरकारी अधिकारी र अस्पतालमा कार्यरत चिकित्सकहरूबाट सङ्कलित विवरणका आधारित छ।

एएफएपीका अनुसार आइतवार एकैदिन ९४ जनाको ज्यान गएको थियो। प्रहरी र सरकारविरोधी दशौँ हजार प्रदर्शनकारीबीच झडप हुँदा उक्त क्षति भएको थियो।
आइतवार सिराजगन्जस्थित एउटा प्रहरी चौकीमा आक्रमण हुँदा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको बाङ्ग्लादेशको प्रहरी मुख्यालयले जनाएको छ। आक्रमण कसले गरेको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन।
स्थिति नियन्त्रणमा लिन सरकारले आइतवार साँझ ६ बजेदेखि लागु हुने गरी अनिश्चितकालीन कर्फ्यू घोषणा गरेको थियो।
गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्किन रोक लगाइएको छ।
त्यसअघि लगाइएको कर्फ्यू आइतवार बिहान ६ बजेबाट राति ९ बजेसम्म खुकुलो बनाइएको थियो। तर आइतवारको प्रदर्शन हिंसात्मक बनेपछि पुनः कर्फ्यू लगाइएको अधिकारीहरूले बताएका छन्।
प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानमा अश्रुग्यास र रबरको गोली चलाएको थियो।
केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शन थालेका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको मागसहित आन्दोलित भएका हुन्।
शेख हसिना को हुन्

विपक्षी दलहरूको बहिष्कारकाबीच गत ज्यानुअरीमा भएको निर्वाचनबाट हसिना पुनः देशको प्रधानमन्त्रीमा चुनिनुभएको थियो। तर प्रदर्शनकारीहरूले उहाँको सत्तालाई चुनौती दिएका थिए।
विगत १६ वर्षदेखि बाङ्ग्लादेशको सत्ता हाँक्नुभएकी शेख हसिना देशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुनुहुन्छ।
शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभयो। सन् २००९ यता उहाँ निरन्तर सत्ताको नेतृत्व गर्दै आउनुभएको छ। उहाँ बाङ्ग्लादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुनुहुन्छ।
सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण हुँदा उहाँ घाइते हुनुभएको थियो भने कम्तीमा २० जनाको मृत्यु भएको थियो।
शेख हसिनाका समर्थकहरू उहाँले बाङ्ग्लादेशमा चाहिएको राजनीतिक स्थिरता कायम गरेको दाबी गर्छन्।


















