मस्को(रुस), ३१ असार । रुसमा सम्पन्न २१ औं संस्करको फिफा विश्वकप फुटबलको फाइनल खेलमा क्रोएशियालाई ४-२ ले पराजित गदै फ्रान्स दोस्रोपटक फुटबलको विश्वविजेता बनेको छ ।
उसले सन् १९९८ मा आफ्नै घरेलु मैदानमा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकप चुमेको थियो। दोश्रो पटक विश्वकप विजय गर्न उसलाई २० वर्ष लाग्यो।
पहिलो पटक विश्वकप फुटबलको फाइनलमा पुगेको क्रोएशिया र पूर्व विश्वविजेता फ्रान्सबीचको फाइनल खेल निक्कै नै रोमाञ्चक भएको थियो ।

पहिलो पटक विश्वकप जित्ने लक्ष्यका साथ मैदानमा उत्रेको क्रोएशियाबाट आत्मघाती गोल भएकोले शुरुदेखि नै क्रोएशिया मनोबैज्ञानिक दवावमा परेको थियो भने आफ्नो मिहेनत विना नै प्रतिस्पर्धीको आत्मघाती गोल उपहार पाएकोले फ्रान्सको मनोबल बढ्न पुग्यो ।
फ्रिकिकबाट प्राप्त बललाई क्लियर गर्ने क्रममा म्यान्डुजुकिकले खेलको १८ औं मिनेटमा सो बल भूलवश आफ्नै पोस्टमा छिराइदिए।
यसरी आत्मघाती गोलले पछाडी परेको क्रोएशिया खेलको २८ औं मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा फर्किएको थियो ।

तर उसको सो सपनालाई खेलको ३९ औं मिनेटमा फ्रान्सका ग्रिजम्यानले निराश पारिदिए र खेललाई २-१ को नतिजामा पुर्याए।
पहिलो हाफ २-१ सकिएको खेलमा पोग्वाले फ्रान्सका लागि ५९ औं मिनेटमा गोल गर्दै विश्वकप सपनालाई ३-१ ले नजिक बनाए। उनको सो योगदानमा एमबाबेले ६५ औं मिनेटमा गोल गर्दै दोश्रो पटक विश्वविजेता बन्ने सपनालाई थप बलियो पारे।

यसरी ४-१ ले पछाडी परेको क्रोएशियाले खेलको ६९ औं मिनेटमा फ्रान्सविरूद्ध दोश्रो गोल गर्यो र खेल सकिन २५ मिनेट बाँकी रहेकाले आफूले अझैं हार नमानेको जनाउ दियो। ततस्पश्चात खेलमा फर्किन क्रोएशियाले पटक पटक प्रयास गरेपनि ऊ फ्रान्सलाई नतिजा सुम्पन बाध्य भयो।
आत्मघाती गोल नभएको भए क्रोएशियाको भाग्य चम्किन पनि सक्दथ्यो ।
अन्तत आगामी ४ बर्षसम्म फुटबलको विश्वविजेताको उपाधी यूरोपको शक्ति राष्ट फ्रान्ससंग रहने भएको छ ।


















