रोल्पा, २८ साउनः अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पहिरामा १० जना बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन् ।
कार्यालयले दिएको जानकारी अनुसार यही साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घर सहित गोठ पुरिएरका थिए । गए राति घटनास्थलमा प्रहरी टोली पुगेको थिए । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको र दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार पहिराबाट छ घर /गोठ क्षति पुगेको छ । पहिरामा परेका छ घरमा १० जना बेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिव २१ कोशको दुरीमा पर्दछ । घटनास्थलमा गए राति नै प्रहरी टोली परिचालित भएका थिए ।
आज बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरुको खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँले जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरुको टोली घटनास्थलमा पुगेर बेपत्ताहरुको खोजी जारी राखेको बताउनुभयो ।