काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल आइपुग्नुभएको छ। उहाँ केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो।
उहाँ आज थाइल्याण्डको राजधानी बैंककबाट थाई एअरवेजको जहाजमा दिउँसो साढे १२ बजे काठमाडौं आइपुग्नुभएको हो । गत भदौ २४ गते जेनजीको नाममा आएको अराजक भीडले उहाँलाई सांघातिक हमला गरेका थिए । उहाँसंगै उहाँकी धर्मपत्नी तथा तात्कालीन परराष्ट्रमन्त्री डा. आरजु देउवामाथि पनि अराजक जत्थाले आक्रमण गरेको थियो ।
देउवा दम्पत्ती प्रतिनिधि सभाको निर्वाचनको मुखमा उपचारका लागि दोस्रोपटक सिंगापुर जानुभएको थियो।
देउवाको स्वागतमा कांग्रेसको संस्थापन इतर समूहका नेता र कार्यकर्ताहरु विमानस्थलमै पुगेका थिएन । उहाँलाई एअरपोर्टबाट बाहिर निक्कनासाथ नेता र कार्यकर्ताहरुले फूलमाला र खादा लगाएर सम्मान व्यक्त गरेका थिए । त्यसपछि उहाँलाई गाडीमा राखेर उहाँको निवासतर्फ लगिएको थियो ।
राजनीतिक पूर्वाग्रह साँध्ने होइन, परिवर्तन व्यवस्थित गर्न सुझाब
त्रिभुवन विमानस्थलमा ओर्लेपछि नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक वक्तव्य जारी गर्नुभएको छ । उहाँले सो वक्तव्यमा वर्तमान सरकारलाई जनमतलाई कदर गर्न आग्रह गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले आफ्नो अपिलमा परिवर्तनको व्यवस्थापन सजिलो हुँदैन भन्ने स्मरण गराउनुभएको छ ।
उहाँले सरकारलाई जनताले सुम्पिएको आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह पूर्वाग्रह साँध्न लाग्ने हो भने त्यो मुलुकको हितमा नहुने कुरा संझाउनुभएको छ।
‘परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु। परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन । यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ। जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ। त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो,’ उहाँले भन्नुभएको छ, ‘आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह पूर्वाग्रह साँध्ने हो भने त्यो सत्तारुढ दल र मुलुककै लागि हितकर हुँदैन । त्यसैले जनताको आकांक्षा पुरा गर्ने बाटोमा सरकार अघि बढ्नु पर्छ । ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा जनतानै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन ।’
उहाँले परिवर्तन व्यवस्थापन प्रक्रियामा सहयोग गर्न आफू तयार रहेको पनि बताउनुभएको छ। ‘हामी अन्धाधुन्ध दौडिने छैनौं, विवेक, पारदर्शिता र न्यायका आधारमा प्रत्येक रूपान्तरणलाई अघि बढाउनेछौं,’ उहाँले भन्नुभएको छ।
।
पूर्वप्रधानमन्त्री देउवाले आफ्नो विगतको अनुभव मुलुक र पार्टीले लिनुपर्ने र सो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको पनि बताउनुभएको छ।
देउवाले पार्टीका नेता तथा कार्यकर्ताहरूको निराशा हटाउन र उनीहरूको मनोबल बढाउन सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल गर्नुभएको छ ।
युवा र पाका पुस्ताबीच सन्तुलन कायम गर्दै पार्टीभित्रको आन्तरिक विवादलाई मिलाप गराई निरन्तर सुधारको बाटोमा लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
‘मैले राजनैतिक रुपमा लिनु पर्ने केही छैन तर मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नु पर्छ र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु मेरो दायित्व पनि हो। नेपाली कांग्रेसप्रतिको मेरो अटुट विश्वास र माया कहिल्यै कम हुने छैन,’ उहाँले भन्नुभएको छ ।
देउवाले युवा र पाका पुस्ताबीच सन्तुलन कायम गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ। युवाहरू अघि बढ्नुपर्ने भए पनि यसको अर्थ पुराना र अनुभवीहरू खराब हुन् भन्ने गलत भाष्य निर्माण गर्न नहुने उहाँको भनाइ छ ।
कांग्रेसका निवर्तमान सभापति देउवाले पार्टीका नेता कार्यकर्ता निराश भएको अवस्था रहेको पनि बताएका छन्। ‘पार्टीका साथीहरू अहिले निराश भएको अवस्था छ। उनीहरुको मनोबल बढ्ने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एक पटक जोड्नु पर्ने समय आएको छ । त्यस कार्यमा लाग्न म सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई अपिल पनि गर्न चाहान्छु,’ उहाँले भन्नुभएको छ, ‘विगतमा माओवादीको सशस्त्र द्वन्द्वदेखि मुलुकका जटिल राजनीतिक घटनाक्रमहरूका साथै नेपाली कांग्रेसभित्रका विवादहरूमा मिलाप गराएको मेरो अनुभव छ । मलाई विश्वास छ त्यो अनुभव आगामी दिनहरूमा म नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै छु।’
नेता देउवाले आफू आत्मसमीक्षा र मार्ग सुधारका लागि तयार रहेको पनि बताउनुभयो। ‘यदि हामी कतै विचलित भएका छौं भने सुधार गर्नेछौं यदि कतै चुक्यौं भने पुनः उठ्नेछौं,’ उहाँले भन्नुभएको छ, ‘हाम्रो यात्रा निरन्तर सुधारको यात्रा हुनेछ, जसलाई तराईदेखि हिमालसम्मका प्रत्येक नागरिकको सुझाव, अपेक्षा र आकांक्षाले मार्गदर्शन गर्नेछ।’








