Prakash Adhikari August 12, 2018

जावलाखेल(ललितपुर), २५ साउन । नेपाल धितोपत्र बोर्डले शेयर बजारमा लगानीको निमित्त आउने नयाँ लगानीकर्तालाई लक्षित गरि नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न थालेको छ । बोर्डले सञ्चालन गरेको पहिलो प्रशिक्षण कार्यक्रम धितोपत्र बोर्डकै सभाकक्षमा शुक्रबार सम्पन्न भएको छ ।

बोर्डले आर्थिक बर्ष २०७५ । ७६ को बार्षिक नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकामा धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी निरन्तर प्रशिक्षण दिने कार्यक्रम राखेको छ । सो अनुरुप राजधानीबाट धितोपत्र तथा बस्तु विनिमय बजारमा लगानी गर्न इच्छुक लगानीकर्तालाई आवश्यक ज्ञान र प्राप्त सूचनाहरुको विश्लेषण गर्ने क्षमता अभिबृछि गराउन बोर्डले पाक्षिक रुपमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गरेको हो । यो कार्यक्रम हरेक महिनाको दोस्रो र अन्तिम शुक्रबार सञ्चालन हुने बोर्डले जनाएको छ ।

प्रशिक्षण कार्यक्रम उद्घाटनमा नेपाल धितोपत्र बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र र बस्तु विनिमय बजारको विकास,विस्तार र नियमनको जिम्मेवारी प्राप्त सर्वोच्च निकाय भएकोले बजारका सहभागीहरुलाई अद्यावधिक ज्ञान दिनको लागि बोर्डले यस्तो कार्यक्रम ल्याएको बताउनुभयो ।

कार्यक्रममा विज्ञहरुले धितोपत्र र बस्तु विनिमय बजारका विविध पक्षहरुमा लगानीकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नेपाल स्टक एक्स्चेञ्ज, सिडिएस, नेपाल मर्चेन्ट बैंकर्स एशोसिएसन, नेपाल ब्रोकर एशोसिएसन,नेपाल इन्भेष्टर्स फोरम, लगानीकर्ता संघ लगायतका संस्थाहरुको पनि प्रतिनिधित्व रहेको थियो ।

Share Now

Leave a comment.