Prakash Adhikari August 12, 2018

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीसँगका भएका सहमति कार्यान्वयनको निम्ति तत्काल पहल गर्ने आश्वासन दिएका छन्।

अनशन लम्बिदै गएका बेला एक-अर्काको कटु आलोचनामा उत्रिएका प्रधानमन्त्री ओली र डा. केसीबीच अनशनपछि शनिबार पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो।

१५औँ पटक आमरण अनसनबाट तंग्रिएपछि डा. केसी आफूसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई स्मरण गराउन पुगेका थिए।

प्रधानमन्त्री ओलीलाई भेट्न आफ्ना समर्थकहरूका साथ पुगेका डा. केसीले सरकार र आफूबीच सम्झौता भएको दुई हप्ता बित्दा पनि कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेका थिए।

आशा
सम्झौता भएको दुई हप्ताभित्र गठन गर्ने भनिएको विश्वविद्यालय र प्रतिष्ठानको पदाधिकारी नियुक्त गर्ने कार्यदल गठन नभएको र मन्त्रिपरिषद्बाट सम्झौता अनुमोदन नगरिएकोप्रति उनको असन्तुष्टि थियो।

तर, प्रधानमन्त्रीले सम्झौताहरू कार्यान्वयन गर्ने आश्वासन दिएको बताउँदै भेटपछि के.सीले भने, “म अहिले पनि आशा गर्छु र अलिकति विश्वास पनि गर्छु उहाँहरूले कार्यान्वयन गर्नुहुन्छ भनेर। र, मैले उहाँहरूलाई भनिसकेको छु यदि छलछाम भयो भने १६औँ सत्याग्रह गर्छु

भनेर।”

डाक्टर गोविन्द केसीसँग

के.सीको मुख्य मागअनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता गरिएको छ।

अन्य विषयमा सरकारले खासै चासो नदिएको उनको आरोप छ।

सकारात्मक

 

तर, भेटमा छलफल सकारात्मक भएको जनाउँदै दुवै पक्षबीच समन्वय गरेकी प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले भनिन्, “डा. केसीले उहाँ किन अनसन बस्नुभएको हो मुख्य मुद्दा के हुन् भन्ने जानकारी गराउनुभयो। प्रधानमन्त्रीले पनि सहमत हुँदै कार्यान्वयन छिटो कसरी गर्न सकिन्छ भन्ने कुरा गर्नु भयो।”

डा. के.सीले सरकारले सम्झौता कार्यान्वयन नगरे फेरि अर्को अनसन बस्ने चेतावनी दिँदै आएका छन्।

तर, प्रधानमन्त्रीले त्यो अवस्था आउन नदिने आश्वासन दिएको बताइएको छ।

ओली र केसी
उनले सम्झौता कार्यान्वयन गर्न डा. केसीलाई नै नेतृत्व गर्न समेत प्रस्ताव गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए।

प्रस्ताव
“माथेमा आयोगको प्रतिवेदन, गौरीबहादुर कार्कीको प्रतिवेदन र तपाईंसँगको अन्तिम सम्झौता कार्यान्वयनका लागि पनि तपाईं नै नेतृत्व लिनुस् म सहयोग गर्छु भनेर प्रधानमन्त्रीले भन्नुभयो”, अर्यालले भने, “डा. केसीले पनि म कुनै कुरामा नेतृत्व लिएर बस्दिनँ तर म सधैँभरि सहयोग गर्छु यसलाई अघि बढाउन भन्नुभयो।”

डा. केसीसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधेयक बाहेकका सबै सम्झौता कार्यान्वनयनका लागि शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई शनिवार नै निर्देशन दिने आश्वासन समेत दिएको भेटवार्तामा सहभागीहरूले बताएका छन्।

बीबीसीबाट

Share Now

Leave a comment.