
सानेपा(ललितपुर), २७ साउन । नेपाली कांग्रसले े पार्टीका पुराना नेता भरतसमशेर राणाको निधनमा गहिरो दुःख प्रकट गर्दै तीन दिन आधा झण्डा झुकाउने, एक दिन कार्यालय बन्द गर्ने र भाद्र ६ मा शोकसभा गर्ने निर्णय गरेको छ ।
पार्टीका कार्यवाहक सभापति विमलेन्द्र निधिको अध्यक्षतामा आइतबार बिहान बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्व केन्द्रीय सदस्य राणाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरि सो निर्णय गरेको हो ।
नेपाली कांग्रेसले शोक प्रस्तावमा भनेको छ, ‘पुराना तथा अग्रज नेता भरत शमशेर राणाको श्रावण २५ गते कोलकातामा भएको निधनबाट नेपाली कांग्रेस मर्माहत भएको छ । वीपी कोइराला प्रधानमन्त्री रहनु भएको नेपालको प्रथम संसदमा गोर्खा परिषद्को नेताको हैसियतले उहाँ प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुन्थ्यो । ०१७ सालको प्रतिगामी कदमसँगै वीपी लगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरिएपछि सो घटनाको विरुद्धमा उभिदै स्वर्गीय राणाले आफ्नो सिङ्गो पार्टीलाई विनाशर्त नेपाली कांग्रेसमा विलय गराउनु भयो र बाँकी सम्पूर्ण जीवन वीपी विचारधाराप्रति अर्पित गर्दै लोकतन्त्र र गणतन्त्रको संघर्षमा समर्पित गर्नु भयो । यी अथक योद्धाको भौतिक विदाईको यो क्षणमा नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।’
कांग्रेसले स्वर्गीय राणाको लोकतन्त्र र गणतन्त्र मार्फत समाज परिवर्तन गर्न सकिन्छ भन्ने विचार दूरगामी भएको बताएको छ । काग्रेसले भनेको छ, ‘राजनीतिसँगसँगै साँस्कृतिक र व्यवसायिक जीवनमा चलचित्र निर्माता र निर्देशकका रुपमा पनि उहाँको भूमिका स्मरणीय रहनेछ ।’
कांग्रेसको आकस्मिक बैठकले स्वर्गीय राणाको आत्माको चीर शान्तिको कामना साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
नेपाली कांग्रेसले साउन२७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने, साउन २८ गते सोमबारका दिन केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने र १३ औँ पुण्य तिथिको दिन भदौ ६ गते शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।